काठमाडौंको नयाँ बानेश्वर-बबरमहल-माइतीघर क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको बैठकबाटै निर्णय गरेर आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ।
त्यसलाई पनि मध्यनजर गरेर प्रहरीले बबरमहल क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको हो।
आइतबार ९ बजेभन्दा अगाडिदेखि नै सो क्षेत्रमा सवारीसाधन गुड्न दिइएको छैन।
चैत २० गतेदेखि शिक्षकहरू सोही क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। शिक्षकहरूले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्।
शिक्षकहरूको प्रदर्शनका लागि पनि बिहान १० बजे पछि प्रहरीले माइतीघर-बानेश्वर सडकमा सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ।
आइतबार भने केही अगाडिदेखि नै उक्त क्षेत्रमा सवारी आवागमन रोकिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले अन्य दिनको तुलनामा आइतबार केही समय अगाडि देखि नै त्यस क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको बताए।
'शिक्षकहरुको आन्दोलन जारी नै छ। राप्रपाले पनि प्रदर्शन गर्ने भनेका कारण केहीसमय अगाडिबाट त्यो रूटमा सवारी सञ्चालनमा रोक लगाइएको हो,' उनले भने।
काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले निषेधित क्षेत्र तोड्ने भनेर घोषणै गरेको अवस्थामा त्यस क्षेत्रमा आइतबार पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको बताए।
'शिक्षकहरु पनि सोही क्षेत्रमा आन्दोलनरत हुनुहुन्छ। पर्याप्त संख्यामा प्रहरीहरू परिचालन हुनेछन्। सम्भावित भिड र अराजक गतिविधि नियन्त्रणका लागि सबै प्रबन्ध मिलाइएको छ,' उनले भने।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।
‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले भनेका छन्।
राप्रपाले निषेधित क्षेत्र तोड्ने भनेपछि शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी कानुन विपरीत गतिविधि गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो।


तस्बिरहरूः भागवत भट्टराई/सेतोपाटी।