कमजोर आर्थिक अवस्थाका कारण खानलाउन नपुग्नेभएपछि सूर्योदय नगरपालिका–४ गोरखकी सञ्चमाया राईका लागि विदेश जानु पारिवारिक बाध्यता थियो। घरमा श्रीमान् र पाँच बालबच्चा थिए। ‘एजेन्ट’ ले बिनालगानी, बिनापासपोर्ट विदेश लगिदिन्छु भनेपछि उनलाई पैसाको लोभ भयो। विसं २०६८ मा इलामबाट झापा पुर्याएर भारत हुँदै साउदीमा बेपत्ता बनाइएकी सञ्चमाया १४ वर्षदेखि बेखबर छिन्।
‘आमाको नागरिकता हरायो, सोधीखोजी गर्ने केही माध्यम छैन,’ सञ्चमायाकी छोरी सृजनाले भनिन्, ‘एजेन्टले दिल्ली पुर्याएपछि १४ दिन बिरामी पर्नुभएछ। त्यसपछि साउदी पुर्याएको खबर सुनियो। तर आमासँग कुरा हुन पाएन।’
गाउँका अन्य महिलालाई पनि अवैध बाटोबाट खाडी मुलुक पठाएको एजेन्ट अहिले नेपालमा नहुँदा खोजी गर्न समस्या छ। ‘एजेन्ट पनि आजकाल विदेशतिरै भासिएर सम्पर्क टुटेको छ,’ सृजनाले भनिन्, ‘म सानो हुँदा आमा जानुभएको अलिअलि सम्झना छ । यतिका समय बित्यो। सम्पर्क छैन। न सास, न लास केही पत्तो भएन।’
सृजनाले स्थानीय सरकारसँग आमा खोजीदिन गुहार गरेकी छन्। ‘नागरिकता भए सजिलो हुन्थो रे! मामली गाउँको वडामा गएर आमाको नागरिकता नम्बर खोज्यौं। तर, आगलागी हुँदा ढड्डा डढ्यो भनिन्। खै केही उपाय होला कि।’
सूर्योदय–५ का वडाध्यक्ष उर्गेन बम्जनले सूर्योदय नगरपालिकासँग जोडिएको रेमी परियोजनाले पहल गरिरहेको बताए।
‘सुरक्षित आप्रवासन सञ्चालन परियोजना (रेमी)मार्फत हामी नागरिकता नम्बर खोजीमा छौं। कसले फसायो। उहाँ कहाँ हुनुहुन्छ पत्तो लगाउनु हाम्रो पनि कर्तव्य हो । परिवारको गुनासोले मलाई पनि पिरोलेको छ,’ वडाध्यक्ष बम्जनले भने, ‘सञ्चमायाका श्रीमान् नरबहादुर सोझो हुनुहुन्छ। खेती किसानी गरेर बच्चा हुर्काए। अब सन्तान बढेपछि आमाको खोजी गरिरहेका छन्। वडा साथमा छ।’
श्रीमती बेपत्ता भएको पीर मनभरि भए पनि नरबहादुरलाई व्यक्त गर्न आउँदैन। सम्झनामा गहभरि आँसु पार्दै भक्कानिनुबाहेक कानुनी तरिकाले खोजीमा पुग्ने क्षमता छैन।‘धेरै पढ्नु भएन। बोल्न, भन्न आँट गर्नुहुन्न। हामी छोराछोरीले खोजी गर्न सुरु गरेका छौं। भाग्य रहेछ भने आमा भन्न पाइएला,’ कान्छा छोरा बिराजले भनिन्।
सञ्चमाया र नरबहादुरका छोरा रबिन, देउराज, विक्रम र बिराज छन्। बिराज माध्यमिक तह पढिरहेकी छन्। छोरी सृजना झापा बसेर ब्याचलर गरिरहेका छन् भने तीन छोरा भारतमा श्रम गरिरहेका छन्।