थामेको शिरमा रहेको दुई वटा ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर तुल्याउनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औंल्याएको छ। हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तनको (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागको निचोड छ।
गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमताल विस्फोट भएको थियो। ताल फुटेर बाढी आउँदा तटीय क्षेत्रमा रहेको थामेमा व्यापक क्षति पुर्याएको थियो।
थामेखोलाको भेलबाढीले २० भन्दा बढी घर, विद्यालय र स्वास्थ्यचौकी क्षतिग्रस्त तुल्याएको थियो।
मौसम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेल, जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले यस घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन्।
शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा ताल विस्फोट हुनुमा मूलतः दुईवटा कारण औंल्याइएको छ।
थामेको शिरमा पाँचवटा ताल अस्तित्वमा देखिन्छन्।
तर विस्फोटअघि ती पाँचैवटा तालबारे खासै अभिलेख भेटिँदैनन्।
सन् २०१५ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमतालहरूको विवरण प्रकाशित गरेको थियो।
त्यसमा थामे जलाधार क्षेत्रमा रहेका १, २, ३, ४, ५ मध्ये, २, ३ र ४ मात्रै देखिएको विभागले औंल्याएको छ।
यद्यपि १ र ५ दुईवटा ताल अभिलेखमा नदेखिए पनि त्यतिबेलाका स्याटेलाइट तस्बिरहरूमा भने देख्न सकिने विभागले जनाएको छ।
थामे जलाधार क्षेत्रमा हिमताल आउनुको कारणबारे जान्न विभागको अनुरोधमा अर्थ अब्जरभेटर सिंगापुरले पनि स्याटेलाइट तस्बिरको विश्लेषण गरेको छ। अर्थ अब्जरभेटर सिंगापुरले त्यस क्षेत्रमा आएको भूबनोट र अवस्थितिमा आएको परिवर्तन (ल्यान्ड डिफरमेसन) को अध्ययन गर्दा माथिल्लो हिमताल १ को प्राकृतिक बाँध (इन्ड मोरिन) भन्दा तलबाट हिमताल २ सम्मको क्षेत्रमा उल्लेख्य भूहलचल (विचलन) आएको देखिएको विभागले बताएको छ।
‘हिमताल १ को प्राकृतिक बाँध (इन्ड मोरिन) भन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भू—परिवर्तन (डिफरमेसन) नै हिमताल २ विस्फोटको मुख्य कारण देखिन्छ,’ विभागको अध्ययनको सारको रूपमा भनिएको छ।
उक्त विश्लेषणमा हिमताल १ भन्दा माथिल्लो (टासी लाप्चा हिमालको आधार शिविर भन्दामुनि) को क्षेत्रको पूर्ण जानकारी प्राप्त हुन नसकेको विभागले औंल्याएको छ।
विभागको अनुरोधमा सेन्टिनियल एसिया र जापानको यामागुची विश्वविद्यालयबाट ती पाँच हिमतालहरूको पानीको क्षेत्रफल बढे/नबढेकोबारे अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ।
पाँच तालहरूको पानीको क्षेत्रफलको विश्लेषण गर्दा चार वटामा कुनै परिवर्तन नदेखिएको, हिमताल २ विस्फोट भई पानीको क्षेत्रफल घटेको देखिएको विभागले जनाएको छ।
थामे हिमताल विस्फोटबारे संयुक्त राज्य अमेरिकाको एक अनुसन्धान केन्द्र (द स्टिमसन सेन्टर) ले पनि अध्ययन—विश्लेषण गरेको छ। जसले हिमताल १ को माथिल्लो क्षेत्र, टासी लाप्चा पास नजिकै हिउँको परिमाणमा केही परिवर्तन भएको हुन सक्ने संकेत गरेको विभागले उल्लेख गरेको छ।
त्यसका साथै हिमताल १ भन्दा माथि केही भूक्षयको संकेत देखिए पनि ठूलो पहिरोको स्पष्ट संकेत नदेखिएको उक्त अनुसन्धान केन्द्रले जनाएको छ।
हालसम्म प्राप्त अप्टिकल इमेजहरूको स्पष्ट तस्बिर प्राप्त नभएको तथा राडार इमेज (सेन्टिनियल १) को विश्लेषणअनुसार हिमताल १ को क्षेत्रफलमा उल्लेख्य परिवर्तन आएको नदेखिएको विभागले बताएको छ।
विभागले हिमताल विस्फोट आसपास वर्षा र तापक्रममा उल्लेख्य वृद्धि भएको संकेत गरेको छ।
विभागले साउन २५ (अगष्ट ९) देखि साउन ३१ (अगष्ट १५) सम्म सोलुखुम्बुको स्याङबोचे र फोत्र्से केन्द्रमा मापन भएको वर्षा क्रमशः ८१ मिलिमिटर र ६५ मिलिमिटर रहेको तथा साउन २९ (१३ अगष्ट)मा स्याङबोचेमा ३१ मिलिमिटर र फोत्र्से केन्द्रमा करिब १८ मिलिमिटर वर्षा मापन भएको उल्लेख गरेको छ।
‘त्यही अवधिमा तापक्रममा पनि उल्लेख्य वृद्धि भएको देखिएको छ। स्याङबोचेमा साउन ३० मा अधिकतम १६ डिग्री सेन्टिग्रेड र फोर्त्सेमा साउन ३१ मा अधिकतम १५.९ डिग्री सेन्टिग्रेड पुगेको देखिन्छ,’ विभागले भनेको छ, ‘यसबाट सो क्षेत्रमा ग्लेसियर आइस मेल्ट वा हिमपहिरोले गर्दा माथिल्लो हिमताल १ ओभरफ्लो भएको हुनसक्ने र यसको कारण हिमताल १ र हिमताल २ को बीचको जमिनमा भूक्षय भई तल्लो हिमताल (हिमताल २) विस्फोट भएको हुनसक्ने देखिन्छ।’
स्याटेलाइट तस्बिर विश्लेषण गर्दा उक्त हिमताल विस्फोट हुनुअगाडिको क्षेत्रफल करिब ०.०४५ वर्ग किलोमिटर रहेको र सो तालमा करिब ०.३८ अर्ब घनमिटर (एमसिएम) पानी सञ्चित भएको आकलन विभागले गरेको छ। विस्फोटपछि (२०८१ भदौ ३, १९ अगष्ट २०२४) मा उक्त तालको क्षेत्रफल घटेर करिब ०.०११ वर्ग किलोमिटरमा खुम्चिएको र करिब ८८ प्रतिशत (करिब ०.३४ मिलियन घनमिटर) पानी बगेर गएको देखिएको विभागले उल्लेख गरेको छ।
पढ्नुस्ः हेलिकप्टरबाट देखिएको हिमताल विस्फोटपछिको दृश्य, अनिल पोखरेलको विश्लेषण (भिडिओ)
ताल २ को क्षेत्रफल करिब ७५ प्रतिशत घटेको विभागले बताएको छ। विस्फोट अगाडि ०.०४५ वर्ग किलोमिटर देखिएकामा हाल ०.०११ वर्ग किलोमिटर मात्रै देखिएको विभागको अध्ययनले देखाएको छ।
ओभर फ्लो भएको माथिल्लो ताल (ताल १) क्षेत्रफल उल्लेख्यरूमा बढेको पाइएको र घटनापश्चातका स्याटेलाइट तस्बिर विश्लेषण गर्दा तालको क्षेत्रफलमा उल्लेखनीय परिवर्तन नआएको विभागको निष्कर्ष छ।
ता तालको वृद्धिदर हेर्दा आगामी दिनमा थप सचेत रहनुपर्ने औंल्याएको छ।
हिमताल विस्फोटबाट थामेबाट ८२ किलोमिटर तलसम्म नदीको जलसतह बढेको विभागले उल्लेख गरेको छ।
यो पनिः तेन्जिङ नोर्गेको हो हिमतालले बगाएको गाउँ
दूधकोसी रबुवाबजार जलमापन केन्द्रमा साउन ३२ गते साँझ ५:१० बजे ४.२९ मिटरको गेज रिडिङ अनुसार करिब ५६१ क्युमेक्स को सामान्य बहाव रहेको, साँझ ५:२० बजे ४.९४ मिटरमा करिब ७६१ क्युमेक्स, साँझ ५:३० बजे ५.४० मिटरमा करिब ९१९ क्युमेक्स र ५:४० बजे अधिकतम ५.५३ मिटर पुगेको समयमा बहाव करिब ९६६ क्युमेक्स पुगेर विस्तारै घट्दै गएको देखिएको विभागले बताएको छ।
राति ८:२० बजेबाट बहाव पुन: सामान्य अवस्थामा आएको देखिएको छ। सो समयमा दूधकोसी नदी रबुवाबजारमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा तलै रहेको देखिएको विभागले बताएको छ।
रबुवा बजारमा साउन ३२ गते साँझ ५:१० देखि राति ८:२० बजेसम्म मापन भएको बहावको आकलन गर्दा करिब २३ लाख ८८ हजार घनमिटर (करिब २.४ एमसिएम) पानी र गेग्रान सहितको थप बहाव प्रवाह भएको देखिएको विभागले बताएको छ।
‘अतः माथिका विभिन्न स्रोतहरूबाट प्राप्त स्याटेलाइट तस्बिर, वर्षा र तापक्रमको विश्लेषण गर्दा उक्त हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तनको (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई जलाधारको तल्लो क्षेत्रसम्मै उल्लेख्य असर गरेको देखिन्छ,’ विभागले निचोडमा भनेको छ।