मितेरी बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरी फरार रहेका मुख्य आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले बुधबार राति काठमाडौं ल्याएको छ।
नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत खटिएको टोलीले उनलाई कम्बोडियाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।
काठमाडौं आएसँगै ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।
सिआइबी प्रवक्ता एवं एसपी युवराज खडकाका अनुसार हालसम्म सहकारीको १४ करोडभन्दा बढी रकम ठगी गरेको अभियोग उनीमाथि छ।
१४४ जना पीडितहरू प्रहरीको सम्पर्कमा छन्।
सहकारी ठगी गरेर फरार भएका बर्दिया बाँसगढीका ४२ वर्षीय भण्डारीले सहकारीको मात्रै ११ करोड बढी ठगेको एसपी खड्काले बताए।
प्रहरीले उनी संलग्न मितेरी सहकारी ठगी प्रकरण लामो समयदेखि अनुसन्धान गरिरहेको छ।
मितेरी सहकारी ठगीमा ज्योतिबहादुर भण्डारीको भूमिका प्रमुख देखेपछि प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो।
इन्टरपोलबाट २०८१ कात्तिक १३ गते उनीविरूद्ध नोटिस जारी भएको थियो।
रेड कर्नर नोटिस जारी भएपछि उनी कम्बोडियामा रहेको ठाउँ पत्ता लागेको थियो।
उनी कम्बोडियामा रहेको विषयमा प्रहरी अगाडि नै जानकार थियो। उनीलाई कम्बोडियाकै प्रहरीले नियन्त्रणमा लिएको थियो।
कम्बोडियामा भण्डारीलाई के विषयमा कारबाही गरेको भन्ने खुलेको छैन।
त्यहाँको प्रहरीले कारबाही सकेको सूचनापछि नेपालबाट एसपीको नेतृत्वमा प्रहरीको टोली कम्बोडिया पुगेर भण्डारीलाई नेपाल ल्याएको थियो।
एसपी खड्काका अनुसार त्यतिबेला ज्योति गुरूङ सहकारीको महाप्रबन्धक थिइन्। गुरूङ कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। सिआइबीले यही विषयमा धनराजसँग पनि पटकपटक बोलाएर काग गरेको छ।
हाल ज्योति गुरूङविरूद्ध पनि रेड कर्नर नोटिस छ। तर उनी अझै फरार छिन्।
सहकारीको पैसा अपचलन गरी उनी थाइल्याण्ड गएका थिए।
भण्डारी थाइल्याण्ड गइसकेपछि मात्रै ज्योति गुरूङले सहकारीको रकम लिएकोबारे पदाधिकारीहरूलाई जानकारी गराइएको थियो।
‘भण्डारी थाइल्याण्ड गइसकेका थिए। त्यसपछि उनले एउटा ह्वाट्सएप ग्रुप बनाएर भण्डारी र पदाधिकारीहरूसँग कुराकानी गराएको देखिन्छ,’ एसपी खड्काले भने, ‘त्यहाँ भण्डारीले पैसा फिर्ता गर्ने भनेर आश्वासन समेत दिएको देखिन्छ।’
भण्डारीले उक्त रकम क्रिप्टोमा लगानी गरेको हुनसक्ने प्रहरीको भनाइ छ। यद्यपि यसबारे विस्तृत अनुसन्धानबाट खुल्ने एसपी खड्काले बताए।
धनराज गुरूङले पनि यसअघि क्रिप्टोमा लगानी गरेको हुनसक्नेबारे बताएका थिए।
सहकारीको ११ करोड भन्दा बढी रकम लगेपछि पदाधिकारीहरूले ग्रुपमार्फत नै रकम माग गरेका थिए।
भण्डारीले भने त्यसमा थप छलकपट गरेको सिआइबीको भनाइ छ।
भण्डारीले सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आइएमई बैंक इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको भनेर मेसेज गरेका थिए।
मेसेजसँगै उनले एउटा टोकनको फोटो पनि पठाए।
‘उनले तिर्नुपर्ने ११ करोड थियो। तर ३३ करोडको टोकन देखाए। अरू काममा पनि मिलाउनुपर्ने भनेर त्यस्तो देखाए,’ एसपी खड्काले भने, ‘तर उनले त्यही बहानामा थप रकम ठगेको देखिन्छ।’
थाइल्याण्डबाट पार्सल पठाएकाले त्यसलाई लिन कमिसन दिनुपर्ने भन्दै उनले सहकारीकै पदाधिकारीलाई बताएका थिए।
विभिन्न नम्बरबाट सहकारीका पदाधिकारीलाई सम्पर्क गरेर आश्वासन दिएर थप रकम ठगेको खुलेको हो।
भण्डारीले थप तीन करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ व्यक्तिगत रूपमै ठगेको सिआइबीको भनाइ छ।
सिआइबीले भण्डारीको नाममा दुई वटा राहदानी र दुई वटा नागरिकता पनि रहेको फेला पारेको छ।
उनले अन्य व्यक्तिहरूको राहदानी र नागरिकताको विवरण नै परिवर्तन गरेर काल्पनिक व्यक्तिहरूको विवरण राखेर किर्ते तथा ठगी गरेको आरोप छ।
भण्डारीले यसरी धेरैलाई ठगी गरेको हुनसक्ने सिआइबीले जनाएको छ।
‘उनीबाट ठगिएको भएमा ब्युरोमा सम्पर्क गर्न सक्नुहुन्छ,’ सिआइबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विभिन्न मितिमा दर्ता भएको ३ वटा मुद्दामा समेत फरार रहेको खुलेको छ।