इरानले देशभरि इन्टरनेट सेवा बन्द गरेको छ।
साइबर हमला गरेर करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इरानमा पछिल्लो १२ घन्टायता इन्टरनेट ब्ल्याकआउट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'नोबिटेक्स'माथि बुधबार साइबर हमला भएको थियो।
प्रो-इसराइली ह्याकरहरूको एउटा समूहले नोबिटेक्समाथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी गरेको बताइएको छ।
उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह 'प्रेडेटरी स्प्यारो (गोन्जेश्के दारान्दे)'ले जिम्मेवारी लिएको छ।
उनीहरूले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)लाई लक्ष्य गरेर साइबर हमला गरिएको बताएका छन्। सो समूहलाई इसराइली गुप्तचरहरूले परिचालन गरिएको भनिए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको न्युयोर्क टाइम्सले जनाएको छ।
ब्लकचेन विश्लेषण कम्पनी एलिप्टिकका अनुसार ह्याकरहरूले नोबिटेक्सको हट वालेटबाट ९ करोड डलर बढी मूल्यका क्रिप्टोकरेन्सीहरू, जस्तै बिटक्वाइन, इथेरियम, डोजक्वाइन लगायतका डिजिटल मुद्रा चोरी गरेर 'भ्यानिटी वालेट' मा स्थानान्तरण गरी नष्ट गरेको बताएका छन्।
नोबिटेक्सले घटनापछि सबै सर्भर बन्द गरिएको र अहिले परिस्थिती नियन्त्रणा रहेको बताएको छ। एक्सचेन्जले आफ्ना अधिकांश सम्पत्तिहरू सुरक्षित कोल्ड वालेटमा रहेको र प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिने प्रतिबद्धता पनि जनाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
प्रेडेटरी स्प्यारोले इरानको शासनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न र आतंकवादलाई वित्तपोषण गर्न प्रयोग गरेको आरोप लगाउँदैख नोबिटेक्सको स्रोत कोड र आन्तरिक जानकारी २४ घन्टाभित्र सार्वजनिक गर्ने धम्की दिएको छ। यसले बाँकी सम्पत्तिहरूलाई थप जोखिममा पार्न सक्छ भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
क्रिप्टो विश्लेषण कम्पनी चेनालिसिस ले यो आक्रमणलाई भूराजनीतिक उद्देश्यका लागि गरिएको यो स्तरको पहिलो ह्याक भनेको छ।
यो आक्रमण प्रेडेटरी स्प्यारोको दोस्रो ठूलो कारबाही हो। मंगलबार, यो समूहले इरानको सरकारी स्वामित्वको बैंक सेपाह माथि साइबर आक्रमण गरेको दाबी गरेको थियो, जसले देशभरका एटिएमहरूमा व्यापक अवरोध निम्त्याएको थियो।
इरानमा बुधबार इन्टरनेट पहुँचमा व्यापक अवरोध भएको थियो। यसले नोबिटेक्सको समस्या थप जटिल बनाएको थियो।
इरान सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले यो इन्टरनेट अवरोध साइबर आक्रमण रोक्न अस्थायी रूपमा गरिएको बताएकी छन्।