दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमल पोखरीमा फेरि पानी सुकेको छ।
विपदको समयमा पानीको आवश्यक जोहो गर्न र सौन्दर्यकरणका लागि भनेर यो तालमा झन्डै दुई करोड बढी खर्चेर पक्की संरचना निर्माण गरिएको थियो।
यही असारमा मात्रै सुधारका नाममा (तालभित्र पानी अड्याउनका लागि भनेर) झन्डै ६० लाख रुपैयाँ थप खर्च गरिएको थियो।
कमलपोखरी सुधार कार्यअन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख, ७८ हजार ५९२ रुपैयाँ खर्चिएरपछि मध्य असारमा झन्डै दुई हप्ता तालभित्र पानी अडिएको थियो।
पढ्नुस्ः पाँच वर्षपछि कमलपोखरीमा पानी भरिभराउ
तर, हप्ता दिन अगाडि फेरि ताल भित्रको पानी सुकेको छ।
यसअघि पानीविनाको पोखरी बनाएको भन्दै आलोचना भएको थियो।
त्यो आलोचनापछि पछिल्लो समय तयार नेपालले कमलपोखरी सुधार कार्यका झन्डै ६० लाख खर्चेर फागुन २३ गतेदेखि सुधारको काम सुरु गरेको थियो। काम असार ३ गतेसम्म चलेको थियो।
कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीका अनुसार पोखरीभित्रको सतहमा रातो माटोले १८ इञ्च अर्थात ४५० एमएम फिलिङ गरिएको थियो। त्यो माटोसंगै मिसाएर पानी अड्याउनका लागि ‘बेन्टोनाइट पाउडर’ राखिएको थियो।
कमलपोखरीको सतहभित्र १ हजार २६० घनमिटर माटो फिलिङ गर्दा प्रत्येक लेयरमा ५ प्रतिशतका दरले तीन तहमा माटोसहित मिलाएर ‘बेन्टो नाइट पाउडर’ फिलिङ गरिएको थियो। त्यसपछि त्यो माटोसहितको ‘बेन्टो नाइट पाउडर’को तालको भित्री सतहमा कम्प्रेसरले पेलेर फिलिङको काम गरिएको थियो।
इञ्जिनियर शर्माका अनुसार एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ प्रयोग भएको थियो। तालभित्र २६ टिप्पर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ गरिएको थियो। ‘बेन्टो नाइट पाउडर’ पानी रोक्नका लागि प्रयोग हुने गर्छ।
यो पनिः बन्द गरियो डेढ करोड खर्चेर बनाएको पोखरीको प्रवेशद्वार
यति गरेपछि ताल भित्र पानी भरिभराउ भएको थियो। तालमा पानी भरिएपछि स्थानीय खुसी थिए। ताल सुन्दर देखिन थालेको थियो। तर, हप्ता दिन अघि फेरि ताल भित्र प्रवेशका लागि निर्माण गरिएको भर्याङ (सिडी)को दक्षिण कुनोमा चिरा परेपछि ताल भित्रका सबै पानी त्यसैबाट बगेर सुक्दै गएको हो। तालको दक्षिण कुनोमा परेको ठूला प्वाल टाल्न सरोकारवालाहरुले पनि चासो दिएका छैनन्।
पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो।
पाँच वर्ष पहिलेदेखि कमलपोखरी क्रंकिट बनाउने क्रम सुरु भएको थियो। जसमा यसअघि विभिन्न निकायले डेढ करोड जति रकम खर्च गरेका थिए।
यो पनिः कमल पोखरीमा पानी अड्याउन झन्डै ६० लाख खर्चिंदै
तुलसीपुर उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रुपैयाँ यस भन्दा पहिले नै लगानी गरेका थिए।
यी सबै निकायको झन्डै डेढ करोड रकमबाट प्राकृतिक अवस्थाको ताललाई सुन्दर बनाउने नाममा वरिपरि पर्खाल लगाउनुका साथै बीचमा क्रंकिट कमलको आकृती निर्माण गरिएको थियो।
तस्बिरहरूः