रूकुम पश्चिमको आठबिसकोटस्थित प्रभु बैंकका अपरेसन इन्चार्ज निराजन भनिने निरजविक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी परेको छ।
प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले मंगलबार जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको उजुरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले सेतोपाटीलाई बताए।
‘अब हामी मुद्दाका आधारमा बैंकको प्रतिवेदन हेर्नेछौं र त्यसपछि प्रक्रियामा गई अरू स्टेटमेन्टहरू पनि मागेर रकम हिनामिनाको घटना अध्ययन गर्नेछौं,’ डिएसपी भट्टराईले भने ‘सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने देखिन्छ कम्तीमा छ महिनासम्म त्यस्तो अध्ययन गर्न सकिने छ।’
त्यो अध्ययनपछि रकम हिनामिनामा अरूको संलग्नता भए/नभएको खुल्ने र त्यस्तो पाइएमा अरूलाई पनि कारबाहीको दायरामा ल्याउन सहज हुने उनले बताए।
बैंकका कर्णाली प्रदेश इञ्चार्ज तिमिल्सिनाले तीन वटा चेक बराबरको एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा आफूले प्रहरीमा गई शाहविरूद्ध मंगलबार उजुरी दिएको सेतोपाटीलाई बताए।
बैंकका प्रदेश इन्चार्ज तिमिल्सिनाले अन्य कुराहरू मिहीन ढंगले अनुसन्धान गर्न भने बाँकी नै रहेको र त्यसका लागि थप केही समय लाग्ने हुँदा कसरी शाहले बदामासी गरेका रहेछन्? भन्ने आधार फेला पर्ने बताए।
जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराईका अनुसार आर्थिक हिनामिनाको आरोपी शाहको मोबाइलको अन्तिम लोकेसन नेपाल-भारत सीमा क्षेत्र बाँकेको नेपालगञ्जको रुपैडिहा क्षेत्र देखाएको र त्यसपछि मोबाइल स्वीच अफ रहेको हुँदा खोजी कार्य जारी रहेको बताए।
बैंकका कर्णाली प्रदेश इन्चार्ज तिमिल्सिनाले बैंकका शाखा प्रबन्धक डम्बर गौतम घर बिदामा बसेको समयमा शाखाको जिम्मेवारी पाएको समयमा शाहले आर्थिक हिनामिना गरेको देखिएता पनि घटनाको स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गर्न आठबिसकोटस्थित शाखा कार्यालयमा सबै नयाँ कर्मचारीबाट काम भइरहेको जानकारी दिए।
आठबिसकोट शाखामा कुल नौ जना कर्मचारी रहेको र हाल सबै नयाँ कर्मचारीबाट काम भइरहेको पनि उनले बताए।
अपरेसन इन्चार्ज शाहले पदको दुरूपयोग गरी बैंकका बचतकर्ताको खातामा अनधिकृत रूपमा रकम जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने र अनधिकृत रूपमा रकम निकाल्ने जस्ता अक्षम्य आर्थिक अपराध गरेको अर्का एक कर्मचारीले बताए।
बैंकका प्रदेश इन्चार्ज तिमिल्सिना नेतृत्वको टोलीले घटनाबारे आन्तरिक रूपमा अनुसन्धान गर्दै आएको छ।
यो पनि: