शिरमा सुन्तले र रातो छिर्केमिर्के ढाकाटोपी। निलो र सेतो रङको ज्याकेट पहिरिएका छन्।
उमेरले ९४ हिउँद निलिसकेकाले आफ्नै सहारामा उभिन मुस्किल छ। दायाँ हातले कसिलो गरी लौरी समातेका छन्।
अचेल उनको सहारा भन्नु यही लौरो भएको छ। यही भएको छ, भित्र–बाहिर गराउने माध्यम।
बायाँ हातमा कसिलोसँग हजारको नोट मुठ्याएका रहेछन्।
‘पसल जाने कोही भेटिए, खिर्चीमिर्ची किन्न पठाउँथें भनेर समातेको नि नानी!,’ उनको ओठमा हाँसोको लहर उठ्यो।
उमेरमा उनी खुबै क्रान्तिकारी थिए। रोमरोममा जोस दगुर्थ्यो। हनुमानले द्रोणाचल उचालेझैं एक्लै पर्वत बोक्छुझैं लाग्थ्यो।
अहिले त्यो जोस पालुङ्गोझैं गलेर लल्याकलुलुक भएको छ।
‘उमेर डाँडामाथि पुग्दा मनमात्रै जिउँदो हुँदो रहेछ नानी! हातगोडाले काम दिँदैनन्,’ उनले आफ्नै शरीरसँग गुनासो गरे।
उनी हुन् पूर्णबहादुर गुरूङ।
तर उनलाई यो नामसँग दिलचस्पी छैन। पूर्णबहादुर नामले उनलाई कुनै रोमाञ्चकता दिँदैन। मुटुको चालमा कुनै परिवर्तन ल्याउँदैन। मनभित्र अनुभूतिका कुनै ज्वार उठ्दैनन्।
‘म त उहिल्यै राजा मास्न हिँडेको क्रान्तिकारी मान्छे! पूर्णबहादुर गुरूङ भनेर कहाँ हुन्छ? क्रान्तिकारीको आफ्नै नाम हुन्छ! क्रान्तिकारीको आफ्नै बाटो हुन्छ!’
फिस्सँ हाँसे गुरूङ।
उनले हामीलाई एकाएक २०१४ सालमा पुर्याए।
१४ सालमा उनी बाबुसँगै लम्जुङ, इलम पोखरीबाट चितवनको दिव्यनगर झरेका थिए।
बाबु भारतीय सेनामा थिए। बाबुले भारतीय सैनिक सेवाबाट अवकास लिँदा सुवेदार थिए।
भारतीय सेना भएकाले गाउँमा बाबुको छुट्टै सान सौकत थियो। छुट्टै रवाफ थियो। के सुर चल्यो कुन्नि! उनलाई चितवन झर्न मन लाग्यो।
२०१४ ताका चितवनका अधिकांश भूभाग वनले ढाकेको थियो। पाखापहाडमा रूखोपीठो पुर्याउन नसक्नेहरू बसाइँ सर्न थालेका थिए। पहाडबाट भात खान तराई झरेकाहरू झोडा फाँडेर आवादी तुल्याउँथे। त्यहीँ काँचो इट्टाको ओत उभ्याउँथे। मुन्टो लुकाउँथे।
तर चितवनको दुर्दान्त बेग्लै थियो।
तिनताका औलोले आक्रान्त थियो तराई–मधेस। भित्री मधेससम्म यसको प्रकोप फैलिएको थियो। मीठो मसिनो खान तराई–मधेस र भित्री मधेस झरेकाहरूलाई उल्टै औलोले निल्थ्यो।
मधेस झरेकाहरू पनि पहाड फर्किइरहेका बेला उनीहरू चितवन ओर्लंदै थिए।
‘औलोको व्याधि छ भन्छन्! काल खोज्न किन जानू हो चितुन्?,’ उनीहरूलाई गाउँलेहरू यसो भन्थे।
‘सुवेदार पो हो। यस्ता नाथे औलो त तर्सेरै भाग्छ!,’ पूर्णबहादुरका बाबु आफ्नो जिद्दीपना यसरी व्यक्त गर्थे।
चितवन झर्दा भरिया मात्र सात जना थिए। ढाकरको पिँधमा हजार–हजार बराबरका मोहर र सिक्का थिए।
‘त्यतिबेला अहिलेको जस्तो नोट होइन, मोहर सिक्का पैसाको बढेमानको थैली थियो,’ उनले सुनाउँदै गए।
यसरी चितवन झरेका उनीहरूले दिव्यनगरमा झन्डै १४ बिघा जग्गा जोडेका थिए।
‘मनग्गे पैसा थियो। कति जंगल फाँडियो, कुनै किनियो पनि। जग्गा प्रशस्तै थियो,’ फेरि हाँसे उनी।
२०१५ सालबाट औलो उन्मूलन अभियान सुरू भयो। सरकारले इलाजको प्रबन्ध गर्यो। त्यसपूर्व ज्यान जोगाउन तराई झरेकाहरू धेरै आफ्नै पुर्ख्यौली थातथलो उक्लिएका थिए। खालीखाली थियो चितवन।
२०२४ सालमा उनको ग्रामथानमा रहेको दिव्यनगर हाई स्कुलमा प्रधानाध्यापकको खाँचो थियो। गाउँलेहरूले ३०–३२ का युवकलाई प्रधानाध्यापकको रूपमा दिव्यनगर भित्र्याएको उनले सुनेका थिए।
एक दिन उनी घरको मझेरीमा बसेर घरपाला जाँड खाँदै थिए। आँगनमा अचानक २५ वर्ष आसपासका युवक देखा परे।
‘के खाँदै हुनुहुन्छ एकाबिहानै!,’ ती युवकले सोधे।
‘जाँड पो खाइरहेका छौं त। तिमी पनि खान्छौ?,’ पूर्णबहादुरले जवाफ फर्काए।
‘एकाबिहानै यस्तो खान्छन् त!,’ ती युवकले हप्काउँदै भने।
ती नवयुवकको चालढाल देखेर पूर्णबहादुरलाई आश्चर्य लाग्यो। बुझ्दै जाँदा ती युवक गाउँलेले ल्याएका दिव्यनगरका प्रधानाध्यापक नै रहेछन्।
गाउँमा अन्यत्र बस्ने ठाउँ नभएकाले उनी डेरा खोज्दै थिए।
ठूलो दारका थिए पूर्णबहादुर। सुवेदारको छोरा भएकाले उनको ठाट पनि बेग्लै थियो।
युवकले के सोचे कुन्नि, उनी भोलिपल्ट पनि आए। पूर्णबहादुरकै घरमा डेरा मागे।
‘मेरो भाइ पनि बिएस्सी पढ्दै थियो। काठमाडौंमा। आफूलाई सावाँ अक्षर खुट्याउन पनि मुस्किल हुन्थ्यो। पढेलेखेको मानिस भेट्दा खुसी लाग्थ्यो,’ पूर्णबहादुरले सुनाए।
ती हेडमास्टरले उनकै घरमा डेरा जमाए।
युवक दिनभरि स्कुलमा पढाउँथे। रातिराति राजनीतिक कुरा गर्थे।
‘पञ्चायत रहुञ्जेल देश विकास हुँदैन। पञ्चायत राजसंस्थाद्वारा प्रवर्द्धित हुनाले राजा मास्नु अनिवार्य छ। त्यसका लागि क्रान्ति गर्नुपर्छ!,’ ती युवक जोस्सिँदै भन्थे।
‘राजा मास्ने’ सुनेपछि पूर्णबहादुरको कान चनाखा भए।
‘ओ है! म पनि बन्छु क्रान्तिकारी !,’ उनले ती युवकलाई प्वाक्कै भने।
‘अहँ तपाईं क्रान्तिकारी बन्न सक्नुहुन्न!,’ पहिलै वचनमा युवकले उनलाई निराश पारे।
आश्चर्य मान्दै उनले सोधे, ‘तिमीले भनेको क्रान्तिकारी बन्न नपढेको मान्छे सक्दैन हो?’
‘नपढेको होइन तपाईं जाँड खानुहुन्छ!,’ ती युवकले पूर्णबहादुरलाई क्रान्तिकारी बन्न नसक्ने कारण बताइदिए।
‘हाम्रो त मर्दा, पर्दा मात्र होइन, पूजाआजामा पनि रक्सी नभई हुन्न! हाम्रो त मान्छेले मात्र होइन देवताले पनि रक्सी खान्छ!,’ उनले अट्टहास गर्दै युवकलाई भने।
‘जाँडरक्सीले मानिसको क्रान्तिकारी शक्तिलाई मार्दिन्छ। क्रान्तिकारी बन्ने हो भने तपाईंले आजैबाट जाँडरक्सी छाड्नुपर्छ,’ युवकले शर्त तेर्स्याए।
पूर्णबहादुरलाई शर्त मञ्जुर भयो।
तिनताका चितवनमा उनले चिनेका चार जना कम्युनिस्ट थिए। एउटा उनी नै भइहाले। अरू तीन जनामा यमुना न्यौपाने, लिलाधर न्यौपाने, अमिक शेरचन थिए।
‘हामीले अरूलाई पनि कम्युनिस्ट क्रान्तिकारी बन्न नभनेको होइन। घरजग्गा नि हुँदैन, जाँडरक्सी पनि खान पाइँदैन र राजा मास्न हिँड्नुपर्छ भनेपछि आत्तिइहाल्थे,’ उनले पुलकित हुँदै सुनाए।
उनमा हेडमास्टरले हालिदिएको क्रान्तिकारी पाइन थियो। त्यसलाई पुँजी ठाने। कम्युनिस्ट विचार ठाने।
पार्टीका तहगत संरचनामा भने उनी बसेनन्। राजनीतिक अगुवा भन्दै उनले मानमनितो पाइरहे।
चितवन झरे पनि इलम पोखरीको पुस्तैनी थातथलो छाडेका थिएनन्। त्यसैले लम्जुङ, चितवन आउजाउ गरिरहन्थे।
समयक्रममा उनलाई कम्युनिस्ट बनाउने र उनले कम्युनिस्ट बनाएकाहरू लाखापाखा लागिसकेका थिए।
अमिक शेरचन निर्मल लामाले नेतृत्व गरेको नेकपा चौमको चितवन जिल्ला सचिव भए। २०४८ सालमा चितवन क्षेत्र नम्बर ३ बाट चुनाव जिते। पछि जनमोर्चा नेपालका अध्यक्ष हुँदै माओवादीमा समाहित भएका थिए।
पूर्णबहादुर हिँडेको बाटो पनि रोचक छ।
बाबु भारतीय सेनामा भएकाले हतियारको मोह बालखैदेखि हुर्कियो। बाबुले घरमा दुइनाले बन्दुक राखेक थिए। त्यसको गोलीगट्ठा पनि थियो।
बाबुको प्रभाव उनमा पनि पर्यो।
२००६ सालमा उनी नेपाली सेनामा भर्ना भएका थिए। कालीबहादुर गणअन्तर्गत उनी सेनामा भर्ती भएका थिए।
‘त्यतिबेला टुँडिखेलमा परेड खेलेको हुँ। पछि नारायणहिटीमा खटाइएको थिएँ। तर धेरै वर्ष शाही सेनामा रहिनँ,’ उनले भने।
नारायणहिटीमा उनी तैनाथ रहेका बेला २००७ साल कात्तिकमा तत्कालीन राजा त्रिभुवन भारतीय दूतावासको शरणमा पुगे। पछि क्रान्ति सफल हुनेताका उनी फर्किए।
यी सबैलाई नजिकबाट देखेका पूर्णबहादूरलाई राजसंस्थाप्रति मोहभंग हुनाको कारण भने दरबारभित्र सिपाहीलाई गरिने हेयव्यवहार नै हो।
‘सिधा आँखाले दरबारतिर हेर्न पनि पाइँदैनथ्यो। राजालाई असाध्यै ताबेदारी गर्नुपर्ने! राजालाई त त्यस्तरी पाल्नुपर्ने रहेछ! यसलाई राखेर हुँदैन फाल्नुपर्छ भनेर नै म क्रान्तिकारी भएँ,’ उनले भने।
२०५२ फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ‘जनयुद्ध’ सुरू भयो।
उनी माओवादीको सम्पर्कमा पुगे।
‘पहिलापहिलाका क्रान्तिकारीले पनि राजा माँस्ने त भने तर हतियार बोकेनन्। माओवादीले हतियार बोकेपछि यिनीहरूले त पक्कै केही गर्लान् भनेर त्यतै लागेँ,’ उनले भने।
माओवादीले हतियार उठाउँदा उनी ६० वर्ष नाघिसकेका थिए। जीवनले वृद्धावस्थाको संकेत गरे पनि उनी घरमा भएको त्यही दुइनाले बन्दुक बोकेर सशस्त्र संघर्षमा होमिए।
‘भर्खरका ठिटा माओवादी हुँ भन्दै आउँथे। मैले मलाई पनि लान्छौ भनेर सोध्थेँ। यस्तो बूढो मान्छे पनि युद्धमा जानुहुन्छ त! भन्दै अनौठो मान्थे। तिमीहरूलाई बन्दुक चलाउन आउँछ भनेर सोध्थेँ। उनीहरूले के बन्दुक चलाउनु। कतिले त देखेकै थिएनन्!,’ पूर्णबहादुर विगततिर फर्किए।
२०२४ सालमा क्रान्तिकारीहरूको सम्पर्कमा पुगेकै बेला उनले डाँफे उपनाम राखेका थिए। त्यही नामबाटै उनी ‘जनयुद्ध’मा प्रविष्ट भए।
२०५७ पुसबाट तत्कालीन माओवादीले समानान्तर सरकारको अभ्यास गरेको थियो। जिल्ला-जिल्लामा जनसरकार घोषणा गरेका थिए। २०५७ पुस ५ गते रूकुममा जिल्ला जनसरकार घोषणा गर्दै पूर्णबहादुर घर्ती प्रमुख बनाइएका थिए।
२०५८ मंसिर ११ बाट संकटकाल लाग्यो। माओवादीविरूद्ध सेना परिचालन भयो। त्यसको केही समयपछि लम्जुङ जिल्ला जनसरकार घोषणा गरिएको थियो। पूर्णबहादुर गुरूङ जिल्ला जनसरकार प्रमुख बनाइए।
त्यसबेलाको रोचक घटना पनि उनले सुनाए।
गाउँ–गाउँमा संगठन विस्तार गर्न एक जना जाज्वल्यमान युवती लम्जुङ पुगेकी थिइन्। पूर्णबहादुरको भेट तिनै युवतीसँग भयो।
उनी रहिछन्– गोरखा जराङकी कौशिला गुरूङ। पार्टीमा उनलाई शिल्पा भनिँदो रहेछ।
त्यतिबेलै स्नातक (शिक्ष संकायतर्फ) पढिरहेकी उनी जराङ, पन्द्रुङकै ब्रह्मचारिणी निम्न माध्यमिक विद्यालयमा पढाउँथिन् पनि। त्यही स्कुलमा अध्ययनरत १० वर्षीय दिलबहादुर रम्तेल प्रहरीको गोली लागेर मारिएका थिए।
२०५२ फागुन १४ गते मारिएका रम्तेललाई माओवादीले पहिलो शहीद मान्ने गरेको छ। कौशिलाले उनलाईसमेत पढाएकी थिइन्।
सशस्त्र संघर्षको आगोको लप्का फैलँदै जाँदा उनी भूमिगत भएकी थिइन्। उनको कार्यक्षेत्र लम्जुङ थियो।
‘पढेलेखेकी युवती थिइन् शिल्पा। उनैले मलाई जनसरकार प्रमुख बन्नूस् भनिन्। तपाईंहरू पढेलेखेका मानिस प्रमुख आफैं बन्नूस्। बरू म हतियार चलाउन सिकाइदिउँला भनेँ। उनीहरूले मानेनन्,’ पूर्णबहादुरले भने।
सय वर्ष पुग्न ६ वर्ष बाँकी रहँदा पूर्णबहादुरलाई धेरै कुरा सम्झना छैन। धमिलो स्मृतिको पर्दामा विगत घुम्न त खोज्छ। तर उनी त्यति ठम्याउन सक्दैनन्।
जनसरकार प्रमुख बनेपछि उनको बास बदलियो। जंगल क्षेत्र उनको बासस्थान बन्यो।
महिना ठ्याक्कै याद छैन उनलाई। जाडोयाम थियो। राति एउटा गाउँमा बास बसेर बिहानीपख अर्को गाउँमा पुगेका थिए।
सेनाले फौजी कारबाही तीव्र बनाएको थियो। मृत्यु छल्दै एउटा गाउँबाट अर्को गाउँ पुगिराखेका हुन्थे। जनसरकार प्रमुख भएकाले व्यापक खोजीमा पूर्णबहादुर थिए। त्यसैले समूहबाट छुट्टिएर उनी एक्लै, दुक्लै हिँडिरहेका हुन्थे।
‘बूढो मान्छे भएकाले समूहमा हिँड्न सक्दिनथेँ। जनसरकार प्रमुख नै भएपछि जनसेनाको पोशाक पनि लगाएको थिइनँ,’ उनले सुनाए।
त्यसदिन पनि उपप्रमुख शिल्पासहितको समूह एउटा घरमा सेल्टर लिइरहेको थियो। उनी आश्रय लिन अर्कै घरमा पुगेका थिए।
त्यही बेला सेनाले चारैतिरबाट घेरा हाल्यो। निशानामा शिल्पासहित तीन जना परे। दुई जना पुरूष थिए, उनीहरू उम्किएछन्। लुँगी बेरेर पल्टिएकी शिल्पा जुरूक्क आँगनको पर्खाल लाघ्न खोज्दा अल्झन पुगिछन्। सेनाले त्यहीँ मोहोरी सोझ्यायो। उनी ठाउँको ठाउँ ढलिन्।
त्यसपछि पूर्णबहादुरको बास लिपेतिरै भयो।
झन्डै तीन हजार मिटर उचाइमा रहेको लिपे र त्यसमुनिको जंगल क्षेत्रमा चिसो स्याँठ चल्थ्यो। त्योभन्दा चर्को थियो–सेनाको आक्रमण।
‘जनसरकार प्रमुख डाँफे ५० जनाको डफ्फा लिएर लिपे लेकमा आधार जमाइरहेको छ भनेर सुराक लगाइदिँदा रहेछन्, खोज्न सेना आइपुग्थ्यो। एक दिन त रातैभरि नाइटभिजनले बमबारी गर्यो,’ उनले भने।
त्यस दिन ओढारमा लुकेका उनी सेनाको हवाइ आक्रमणबाट बालबाल बँचेको सुनाउँछन्।
‘ओढारको भित्रभित्र कुनामा पुगेर लुकेको छु। माथिबाट तोराबोरा फ्याँकिरहेछ। कहिले रूखको हाँगा लाछिन्छ। कहिले ढुंगामा लागेर मैतिर उछिट्टिन आइपुग्छ। त्यसदिन रातभरि र भोलिपल्ट बिहानसमेत बमबारी गर्यो,’ उनले भने।
भोलिपल्ट रेडियोले पूर्णबहादुर तामाङ मारिएको समाचार फुक्यो। पूर्णबहादुर पनि उनैले चिनेका मानिस थिए। माओवादी थिएनन्। तर, माओवादी लडाकुलाई रासनपानी भने जुटाइदिन्थे। बासको प्रबन्ध गरिदिन्थे।
त्यसैको आधारमा सेनाले उनलाई मारिदिएछन्।
बुढेसकालमा हतियार बोकेर लिपे उक्लिएपछि परिवारले माया मारेका थिए। तर आमाको मनबाट सन्तान कहाँ सजिलै ओझेल पर्न सक्छन् र!
मारिएका पूर्णबहादुर तामाङ थिए। घरमा पुग्दा पूर्णबहादुर गुरूङ भएर पुग्यो। समाचार सुन्नेले पूर्णबहादुरू गुरूङ नै भन्दै खबर पुर्याइदिएछन्।
घरमा रूवाबासी मच्चियो।
आमाले ‘बन्दुक चलाउन जान्ने मानिस यति सजिलै कहाँ मारिन्छ’ भनेर विश्वास गरिनछन्। भाइलाई सम्पर्क गराउन लगाइछन्।
‘म लिपे लेकमा छु भन्ने थाहा पाएपछि भाइले कसोकसो गरेर सम्पर्क गरायो,’ उनले धुमिल बन्दै गरेको सम्झना उधिने, ‘त्यस दिन आमा बेस्सरी रूनुभयो। बुढेसकालमा आमा रूवाएँ भन्ने पनि लाग्यो।’
भीषण युद्धअवधिभर उनी जंगलमै बसे। कन्दमुल र ठोट्ने प्राण रक्षाको सहारा बन्थ्यो।
‘छन त भेडी गोठहरू पनि थियो तर सेना आउँछ भनेर उनीहरू पनि डराउँथे। हामी पनि त्यहाँ बास बस्दैनथ्यौं। उनीहरूसँग नुनका ढिका मागेर जंगलतिरै लाग्थ्यौं,’ उनले त्यतिबेलाको कष्ट सुनाए।
त्यसपछि पनि उनका दुःखका दिन सकिएनन्।
उनी १५ दिन हिँडेर रोल्पा र प्युठानको सीमा लिस्ने पनि पुगे। त्यहाँ तत्कालीन माओवादीका ठूलादेखि मझौला पदका नेतासँग भेट भयो।
‘मसँग मनाङका एकजना मजस्तै बूढा मानिस हुनुहुन्थ्यो! माओवादीका ठुल्ठूला नेताहरू पनि बुढेसकालमा जनयुद्धमा किन हिँड्नभयो भन्थे,’ उनले ती दिन सुनाए, ‘राजा मास्न भन्दा उनीहरू दङ्ग पर्थे।’
यसरी उनी ‘जनयुद्ध’ को आगोमय बाटो हिँडे।
२०६३ वैशाखबाट ‘जनयुद्ध’ को आगो साम्य भयो। २०६३ मंसिर ५ गते त विस्तृत शान्ति सम्झौता नै भयो।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट जित्यो। समानुपातिक र मनोनीत गरेर २२९ सिटसहित पहिलो दल बन्यो।
२०६५ साउन ३१ गते ‘जनयुद्ध’का सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने।
‘राजा मास्ने’ पूर्णबहादुरको चाहना पूरा भइसकेको थियो। उनी काठमाडौं आए।
ट्याक्सी चढेर सिधै बालुवाटार पुगे।
गेटमा तैनाथ सुरक्षाकर्मीले सोधपुछ गरे।
‘म लम्जुङ जिल्लाको जनसरकार प्रमुख!,’ गेटमा तैनाथ सुरक्षाकर्मीलाई उनले बताए।
गेटमा बस्ने सुरक्षाधिकारीले पनि कुरा बुझेनन्, सायद। उनलाई भित्र पस्न रोकटोक भएन।
बालुवाटारभित्र यथेष्ट माओवादी कार्यकर्ता थिए। तीमध्ये केहीलाई उनले चिन्थे। त्यहाँ रहेका केहीले पनि उनलाई चिन्थे।
‘लम्जुङको जनसरकार प्रमुख’ भनेपछि भित्र रहेका माओवादीका कार्यकर्ताले उनलाई प्रचण्डसँग भेट गराइदिए।
‘प्रचण्डले त मलाई ग्वाम्लाङ्गै अँगालो हालेर 'तपाईं त क्रान्तिकारी मानिस' भन्नुभयो,’ उनले भने।
युद्धकालमा लम्जुङका दुई वटा घर सेनाले उडाइदिएको थियो। सेनाले हानेको बमले छोरीहरूको आश्रय उखेलिएको मात्र थिएन, पैतृक सम्पत्ति पनि स्वाहा भएको थियो।
भेटमा उनले सेनाले उडाइदिएको घरको क्षतिपूर्ति दिलाइदिन माग राखे। प्रधानमन्त्रीले ‘म तुरून्तै पहल गर्छु’ भनेपछि उनी पुलकित हुँदै फर्किएका थिए।
९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट बहिर्गमित भए। देशमा प्रधानमन्त्रीको ‘म्युजिकल चेयर’ चलिरह्यो। पहिलो संविधान सभा संविधान नै जारी नगरी विघटन भयो। दोस्रोले पनि कष्टपूर्वक भारी उठायो। र, फत्ते गर्यो।
उता पूर्णबहादुरलाई बुढेसकालले गाँज्न थाल्यो। शरीरका रोग पन्छाउन कहिले काठमाडौं, त्यसपछि चितवन आउजाउ गरिरहनुपर्यो।
त्यहीबीच २०७३ साउनमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री भए।
पूर्णबहादुरमा हर्षको सीमा रहेन।
लम्जुङ, बिचौरमा मोटरबाटो चाहिएको थियो। अस्पताल पनि बन्दै गरेकाले बाटो अनिर्वाय थियो। प्रचण्डलाई भेटेरै भन्नुपर्यो भन्ठानेर उनी सिधै बालुवाटार पुगे।
तर उनले सिधै प्रवेश पाएनन्।
गेटमा तैनाथी सुरक्षाकर्मीले ‘भित्र सोध्नुपर्छ’ भन्दै पर्खाए। झन्डै एक घन्टा कुरेपछि उनले भित्र पस्ने अनुमति पाए।
‘भित्र पुगेपछि पो थाहा पाएँ। जनयुद्धका सुप्रिमो बदलिइसकेछन्। उनले त अँ.. उहाँ मेरो छिमेकी हुनुहुन्छ पो भने,’ पूर्णबहादुरले भने।
उनलाई ‘म तपाईंको छिमेकी मात्र होइन, जनसरकार प्रमुख हुँ’ भन्न मन थियो। तर मुख बाँधेर फर्किए।
उमेरको डाँडामाथि पुगिसकेकाले उनलाई देश बनोस्, छोराछोरी, नातिनातिनाले सुख पाउँछन् भन्ने लाग्छ।
तर ‘जनयुद्ध’का कर्ताधर्ता नै बदलिइसकेकाले जीवनको शेषकालसम्ममा यो सपना पूरा हुनेमा विश्वस्त छैनन् उनी।