मोरङको चारघरे भन्ने ठाउँको बाँसघारीमा भेटिएको ‘हिउँचितुवा’लाई ललितपुरस्थित सदर चिडियाखाना पुर्याइएको छ।
सामान्यतया समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा रहने हिउँचितुवा मंगलबार दिउँसो करिब १५० मिटर उचाइको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको थियो। यो घटनाले सबैलाई आश्चर्यमा पारेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले उक्त हिउँ चितुवालाई बेहोस बनाएर राति नै चिडियाखाना ल्याइएको जानकारी दिए।
‘उपयुक्त बासस्थानको व्यवस्था गर्न राति नै चिडियाखानामा ल्याइयो। यहाँ क्वारेन्टिनको व्यवस्था हुन्छ। आवश्यकताअनुसार उपचार पनि हुन्छ,’ उनले भने, ‘अहिले पशु स्वास्थ्यकर्मीहरूले उसको स्वास्थ्य अवस्था हेरिरहनुभएको छ।’
खुट्टामा चोट लागेको हिउँचितुवालाई केही दिन ‘अब्जर्ब’ मा राखेर स्वास्थ्य अवस्था बुझिने अधिकारीले बताए।
‘सँगै हामी यो जनावर त्यहाँ कसरी आइपुग्यो भन्ने विषयमा पनि अध्ययन गर्छौं। सबै कुरा अध्ययन गरेपछि विज्ञ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरेर आवश्यक निर्णय गर्नेछौं,’ उनले भने।
हिउँचितुवा कञ्चनजंघा संरक्षण क्षेत्रतिरबाट खानाको खोजी गर्दै तराई झरेको, बाटो बिराएको, जलवायु परिवर्तनका कारणले, कसैले हुर्काएर छाडेको वा तस्कारी गरेर कतै लैजान लाग्दा छुटेको हुनसक्ने अनुमान उनको छ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख रहेका हिउँचितुवासम्बन्धी विज्ञ मधु क्षेत्रीको अनुमान भने आमाबाट छुटेको बच्चा अल्मलिएर तल्लो क्षेत्रमा आइपुगेको हुनसक्ने छ।
‘अहिले नै ठ्याक्कै यही कारण हो भन्न त गाह्रो छ। फोटोमात्रै हेर्दा उसको बनावट, टाउको आकार हेर्दा आमासँग हिँडेको बच्चा छुटेर तल आइपुगेको अनुमान मेरो छ,’ उनी भन्छन्, ‘चकचके बच्चा छुटेर अल्मलिएको हुनसक्छ।’
क्षेत्रीकाअनुसार हिउँचितुवाहरू कहिलेकाहीँ निकै लामो दूरीको यात्रा गर्छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा तयार पारेको नेपालमा हिउँचितुवा संरक्षण कार्ययोजना (२०१७–२०२१) मा कञ्चनजंघा संरक्षण क्षेत्रबाट हिँडेको हिउँचितुवा एक हजार वर्गकिलोमिटरभन्दा लामो दूरी पार गरेको उल्लेख छ।
रेडियो कलर जोडिएका यहाँका हिउँचितुवा भारतको सिक्किम, भुटान, चीनसम्म पुगेको पाइन्छ।
क्षेत्रीले लामो दूरी पार गर्नेक्रममा कहिलेकाहीँ बच्चाहरू आमाबाट छुटेर अल्मलिन सक्ने बताए।
‘कसैले सानैदेखि पालेको रहेछ भने त उसको व्यवहारबाट पनि थाहा भइहाल्छ,’ उनले भने।
नेपालमा ३ हजारदेखि ६ हजार मिटर उचाइसम्म भेटिने हिउँचितुवालाई आइयुसिएनले संकटग्रस्त वन्यजन्तुको सूची ‘रेड लिस्ट’ मा राखेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत यो संरक्षित वन्यजन्तुको सूचीमा छ।
मंगलबार दिउँसो चितुवा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नियन्त्रणमा लिन नसकेपछि डिभिजन वन कार्यालय मोरङको र उसले पनि नसकेपछि कोशीस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोग लिइएको थियो। कोषका भेटेरिनरी प्राविधिक सहितको टोलीले साँझ हिउँचितुवालाई 'डार्ट' गरेको थियो।
तत्कालका लागि चिडियाखानामा तापक्रम र वातावरण अनुकूल बनाएर राख्न सकिने हिउँचितुवा विज्ञ क्षेत्रीले बताए।
‘केही दिन उसको अवस्था हेरेर के गर्ने भन्ने निर्णय गर्नुपर्ने हुन्छ। जाडोको समयमा काठमाडौं उपत्यकाको तापक्रममा ऊ रहनसक्छ। गर्मीमा तापक्रम मिलाएर राख्नुपर्छ,’ उनले भने।
उनकाअनुसार दार्जलिङको चिडियाखानामा हिउँचितुवाले प्रजनन् नै गरेको थियो।
विज्ञहरूका अनुसार असाध्यै लजालु स्वभावको जनावर भएकाले हिउँचितुवा मानव बस्तीमा आउने सम्भावना निकै कम हुन्छ। दुई वर्षअघि सगरमाथा जाने बाटोमा एक जना विदेशीले २ हजार २५० मिटर उचाइमा हिउँचितुवाको भिडिओ रेकर्ड गरेका थिए।
‘धेरै मान्छेले यो घटनालाई नौलो माने। मलाई पनि यो नौलो लागेको थियो,’ उनले भने, ‘असाध्यै लजालु स्वभावको हुने हुनाले यसलाई सितिमिति देख्नै सकिँदैन। बस्ती बजारमै देखा पर्नु त अचम्मकै कुरा भइहाल्यो।’
मंगोलिया र रूसमा भने हिउँचितुवाको बासस्थान ५०० मिटर उचाइमै हुने गरेको क्षेत्रीले बताए।
सन् २०१७ को तथ्यांकअनुसार नेपालमा ३ सयदेखि ४ सयको संख्यामा हिउँचितुवा छन्।
से-फोक्सुण्डो र मनाङको नार्फु भ्याली हिउँचितुवाको मुख्य बासस्थान हो। यसबाहेक अन्नपूर्ण, मनास्लु, कञ्चनजंगा, गौरीशंकर हिमाल तथा मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा हिउँचितुवा पाइन्छन्।
कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, ढारपाटन सिकार आरक्ष, से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र अपी–नप्पा संरक्षण क्षेत्र हिउँचितुवाको बासस्थान रहेको हिउँचितुवा संरक्षण कार्ययोजनामा उल्लेख छ।
‘बाघको गणना गरेजसरी हिउँचितुवाको विस्तृत गणना त भएको छैन तर सानो–सानो क्षेत्रमा गरिएको अध्ययनको तथ्यांकले ४ सय वटासम्म हिउँचितुवा नेपालमा छन् भन्ने अनुमान गर्न सकिन्छ,’ विज्ञ क्षेत्रीले सेतोपाटीसँग भने।
उनले गौरीशंकर संरक्षण क्षेत्रको तथ्यांक केही समयमा आउने बताए।
‘यकिन तथ्यांक भयो भने यसको संरक्षणमा कसरी लाग्ने भन्ने योजना बनाउन सजिलो हुन्छ। यसले संरक्षणमा सहयोग गर्छ,’ उनी भन्छन्, ‘हिमाली क्षेत्र सबैतिर पाइन्छ भन्ने गरिन्छ तर कता कतिवटा छन् भन्ने यकिन भन्न सकिँदैन। राज्यको चासो यसतिर पुग्नुपर्छ।’
नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, काजकिस्तान, क्यारगिस्तान, मंगोलिया, रुस, ताजकिस्तान, उज्वेकिस्तानमा हिउँचितुवा पाइन्छन्। यी सबै देशमा गरेर ६ हजार २ सय बढी हिउँचितुवा रहेको अनुमान छ।