दाक गाल्बी कोरियन हाउस — नामै सुन्दा कोरियाको झल्को आउने यो रेस्टुरेन्टका पछाडि दाजुभाइको सपना, संघर्ष र सफलताको कथा जोडिएको छ।
म आज तपाईंहरूलाई त्यही कथा सुनाउँदैछु।
अहिले काठमाडौंका धेरै ठाउँमा कोरियन रेस्टुरेन्टहरू खुलेका छन्। दाक गाल्बी त्यसैमध्ये एक हो।
वसन्तपुरको 'मोमायो' नामक बोबा पसल छेउबाट अलिकति भित्र, तीन–चारवटा घर पार गरेपछि यो रेस्टुरेन्ट आउँछ। मूल सडकबाट भित्र भएकाले धेरैलाई यसबारे थाहा नहुन सक्छ। तर पछिल्लो समय फुड भ्लगरहरूका कारण सामाजिक सञ्जालमा चर्चित छ।
यो रेस्टुरेन्ट दुई दाजुभाइ मिलेर खोलेका हुन् — प्रकाश र प्रवीण जोशी।
प्रकाश हायात होटलमा सेफ थिए। उनका भाइ प्रवीण वैदेशिक रोजगारका लागि कोरिया गएका थिए। कोरियामा पाँच वर्ष बस्दा उनलाई त्यहाँका खानाबारे ज्ञान भयो। केही परिकार बनाउन पनि सिके।
कोरियाबाट फर्केपछि प्रवीणले नेपालमै काम गर्ने सोच बनाए र दाइसँग सल्लाह गरे।
आफूसँग होटल/रेस्टुरेन्टको अनुभव र ज्ञान भएकाले त्यसैमा हात हाल्ने हो कि भन्ने सुझाव प्रकाशले दिए।
दाजुभाइको कुरा मिल्यो। यसमा प्रवीण रेग्मी नामका साथी पनि जोडिए। केही साथीसँग ऋण पनि लिए। अनि सुरू भयो, कोरियन रेस्टुरेन्ट खोल्ने नयाँ यात्रा। यो आजभन्दा तीन वर्षअघिको कुरा हो।
प्रकाश जोशी।'त्यति बेला नयाँ पुस्तामा कोरियन खानाको ट्रेन्ड सुरू भएको थियो। त्यही देखेर हामीले कोरियन रेस्टुरेन्ट खोल्ने निधो गर्यौं,' जागिर छाडेर रेस्टुरेन्ट व्यवसायमा लागेका प्रकाशले भने, 'भाइले कोरिया बस्दा त्यहाँका मुख्य मुख्य परिकार बनाउन सिकेको रहेछ। म आफू पनि सेफ भएकाले कोरियन रेसिपीबारे अध्ययन गरेँ।'
प्रवीणले कोरियामै चिनेकी एक महिलाले पनि मद्दत गरिन्। उनी कोरियाका घर-घरमा पाक्ने खानेकुराको रेसिपी पठाइदिन्थिन्। प्रकाश त्यही रेसिपी हेरेर खानेकुरा बनाउन सिक्थे।
यसरी सिक्दै, जान्दै, बुझ्दै अगाडि बढेकाले सुरूमा रेस्टुरेन्टको मेनु जम्मा चार पानाको थियो। उनीहरूले पकाउन आउने थोरै परिकार मात्र मेनुमा राखेका थिए। अहिले मेनु नै फोटो एल्बम जत्रो छ।
'अधिकांश परिकार हामीले रेस्टुरेन्ट खोलेपछि बिस्तारै पकाउन सिकेका हौं,' प्रकाशले भने, 'भाइलाई कोरियन खानाको वास्तविक स्वाद थाहा थियो। म आफू पकाएर उसलाई चाख्न दिन्थेँ। उसले ठिक छ भनेपछि पास हुन्थ्यो र हाम्रो मेनुमा थपिन्थ्यो।'
उनीहरूले सुरूका पाँच–छ महिना साथीभाइलाई खुवाएर पनि स्वाद परीक्षण गरे। काठमाडौंमा कस्तो खालको कोरियन खाना रूचाइन्छ भनेर उनीहरूलाई जाँच्नु पनि थियो।
'खासमा हामी काठमाडौंको जिब्रोमा भिज्न सक्ने कोरियन स्वाद पस्किन चाहन्थ्यौं। आज पनि हाम्रो रेस्टुरेन्टको विशेषता भनेकै काठमाडौंसँग मिल्दोजुल्दो कोरियन परिकार हो,' प्रकाशले भने।
रेस्टुरेन्टको नाम चाहिँ किन कोरियन राख्नुभयो त?
हाम्रो यो प्रश्नमा प्रकाशले उक्त नामको अर्थ खुलाए, 'दाक गाल्बी नामले कोरियन संस्कृति बोकेको छ। कोरियामा सबै जना एकै ठाउँमा बस्ने, पकाउने र सँगै खाने परम्परा छ। यसका लागि गोलो टेबलमा बसेर खाइन्छ। सबभन्दा मुख्य परिकार नै दाक गाल्बी हो।'
'हामीले सुरूमा अहिलेजस्तो रेस्टुरेन्ट होइन, एउटा सानो स्टलमा दाक गाल्बी मात्र बेच्ने योजना बनाएका थियौं,' उनले अगाडि भने, 'पछि रेस्टुरेन्ट नै खोल्ने निर्णय गरेपछि नाम पनि त्यही राख्यौं।'
यहाँ प्रायः नयाँ पुस्ताका युवा आफ्नो परिवार वा साथीहरूसँग आउँछन्। युवाहरूकै कारण तिनका आमाबुबा वा अरू उमेर समूहका मानिसले पनि कोरियन खाना रूचाउन थालेका छन्। नयाँ वर्ष, जन्मदिन, एनिभर्सरी वा कुनै उत्सवमा कतिपय परिवारले कोरियन खाना खाने बानी पनि बसालेका छन्।
दाक गाल्बीमा नेपाली ग्राहक मात्र आउँदैनन्। विदेशीहरू पनि थुप्रै आउँछन्। खासगरी काठमाडौं घुम्न आएका कोरियन पर्यटक त यो रेस्टुरेन्ट खोजी खोजी आउँछन्। उनीहरूले यहाँको स्वाद कोरियासँग मिल्दोजुल्दो छ भन्ने प्रतिक्रिया दिएको प्रकाशले सुनाए।
'मेरो भाइले कोरियन भाषा बोल्ने प्रतियोगितामा दोस्रो पुरस्कार पाएको थियो। त्यही कार्यक्रममा सहभागी भएका कोरियन राजदूतले पनि हाम्रो खाना चाख्नुभयो। प्रशंसा पनि गर्नुभयो,' उनले भने।

यो रेस्टुरेन्ट दिउँसो १२ देखि राति ९ बजेसम्म खुल्छ। प्राय: दिनभरि नै मान्छे खाली हुँदैन। मुख्य भिड भने साँझपख हुन्छ।
प्रकाशले रेस्टुरेन्टको मेनु पनि वर्गीकरण गरेका छन् — पहिलो वर्गमा 'स्न्याक्स' का परिकार पर्छन्। त्यसपछि 'बार्बिक्यू' परिकारका लागि हरेक टेबलमा चुह्लो जडान गरिएको छ। उनीहरूले 'कम्बो' पनि राखेका छन्, जसमा एकै ठाउँमा विभिन्न परिकार आउँछन्।
मेनु हेर्दा एक–दुई जनालाई अघाउने गरी खान हजारदेखि पन्ध्र सय रूपैयाँ लाग्छ।
'कोरियन खाना भन्नासाथ धेरैलाई महँगो होला भन्ने लाग्छ। त्यसैले चाख्न मन लागे पनि नखाई बसेकाहरू थुप्रै छन्,' प्रकाशले भने, 'मूल्य धेरै हुनुको मुख्य कारण यसमा प्रयोग गरिने सामग्रीहरू हुन्। हामीले भने अरू कोरियन रेस्टुरेन्टको तुलनामा अलि सस्तोमै दिने गरेका छौं। ताकि, धेरैभन्दा धेरैले कोरियन स्वाद चाख्न सकून्।'
सबै किसिमका ग्राहकलाई सहज होस् भनेर नै 'कम्बो' मेनु तयार पारेको उनले बताए। यसमा एकै ठाउँमा विभिन्न परिकार आउनुका साथै केही पेय पदार्थ नि:शुल्क पनि पाइन्छ। एउटा कम्बो सेट दुईदेखि तीन जनालाई पुग्छ।
'हामी समय–समयमा मेनु अपडेट गर्छौं। यसका लागि ग्राहकहरूसँग उनीहरूलाई थाहा भएका नयाँ कोरियन परिकारबारे सोधखोज गर्छौं,' उनले भने, 'ग्राहकलाई बिल दिने बेला एउटा फारम भराउँछौं; जसमा रेस्टुरेन्ट कस्तो लाग्यो, मूल्य कस्तो लाग्यो, स्वादमा के प्रतिक्रिया छ भनेर लेख्न अनुरोध गर्छौं। ग्राहकका प्रतिक्रियाले हामीलाई आफ्ना कमी–कमजोरी सुधार्न मद्दत गरेको छ।'
यति मात्र होइन, उनीहरूले रेस्टुरेन्टको एउटा भित्तामा ग्राहकलाई प्रतिक्रिया लेख्ने ठाउँ पनि बनाएका छन्। त्यसमा प्रतिक्रिया मात्र होइन, रेस्टुरेन्टसँग जोडिएका सम्झना पनि लेख्न पाइन्छ। त्यही भएर त्यो भित्ताको नाम नै 'मेमोरी वाल' राखिएको छ।
'सबैका याद रंगीन कागजमा देख्दा मलाई त्यो भित्ता नै मुस्कुराइरहेजस्तो लाग्छ,' उनले भने।
दाक गाल्बी रेस्टुरेन्टमा अहिले पाँच जना कर्मचारी छन्। ती कर्मचारीलाई कोरियन परिकार सिकाउने काम प्रकाश आफै गर्छन्। यहाँ सबैले सबै किसिमका काम गर्ने चलन छ। भान्छामा काम गर्नेले सफाइ पनि गर्छन् र सफाइ गर्नेले पकाउन पनि जानेका हुन्छन्। यसरी काम गर्दा समय बचत हुन्छ भन्ने प्रकाशको भनाइ छ।
अहिले प्रकाश र प्रवीणले आफ्नो धेरैजसो समय रेस्टुरेन्टलाई नै दिएका छन्। केही समययता प्रकाश शिक्षणमा पनि संलग्न छन् भने प्रवीण कोरियन दूतावासमा पार्टटाइम काम गर्छन्।
रेस्टुरेन्ट व्यवसाय राम्रो हुँदै गयो भने भविष्यमा अर्को ठाउँमा पनि शाखा खोल्ने उनीहरूको योजना छ।
'हामी बिस्तारै यो रेस्टुरेन्टलाई एउटा ब्रान्डका रूपमा स्थापित गराउन चाहन्छौं,' प्रकाशले भने।
***
