उनी अमेरिकाबाट सहरी योजनामा स्नातकोत्तर सकेर फर्केपछि पहिलो दिन कार्यालय प्रवेश गर्दै थिए।
कोठाभित्र पस्न पाएको छैन, सहरी विभागका चिफ इन्जिनियर गौरीनाथ रिमालले भने, 'तपाईं सुर्खेत जानुपर्यो।'
काठमाडौंमा जन्मे–हुर्केका, विदेशमा उच्चशिक्षा पढेर आएका २८ वर्षीय माधवभक्त माथेमा सुर्खेत सुनेर चकित परे।
उनी अमेरिकामा आर्जन गरेको सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई आफ्नो देशको राजधानी सहर काठमाडौंको विकासमा प्रयोग गर्न चाहन्थे।
'साँच्चै भन्नुपर्दा मलाई सुर्खेतबारे केही थाहा थिएन। नाम पनि सुनेको थिइनँ,' माथेमाले ५४ वर्षअघिको त्यो दिन सम्झिँदै भने, 'तर मैले जान्छु भनिदिएँ।'
यो २०२८ असारको कुरा हो, जुन दिन माथेमाले वीरेन्द्रनगर सहर निर्माण गर्ने निर्णय लिएका थिए। सुर्खेत जान सहमत भएसँगै सरकारले उनलाई प्रस्तावित सहरको 'चिफ प्लानर' (मुख्य योजनाकार) नियुक्त गर्यो।
उनै माथेमाले हामीलाई वीरेन्द्रनगर सहर निर्माणको कथा सुनाएका छन्।
'युवा उमेर। जोस हुने नै भयो। तर होस अलि कम हुँदो रहेछ,' कठिन यात्राका निम्ति तयार हुनुको कारण खोतल्दै उनले भने।
खासमा सुर्खेत उपत्यकामा सुन्दर सहर बसाल्ने तत्कालीन राजा वीरेन्द्रको सपना थियो। वीरेन्द्र त्यसै वर्ष (२०२८ सालमा) राजा बनेका थिए। विकासको मूल फुटाउने युवा जोस वीरेन्द्रमा पनि थियो। त्यही परिवेशमा सरकारको निर्णय सहर्ष स्वीकार गरेर माथेमा वीरेन्द्रको सपनाको भरपर्दो सारथि बने।
२०७९ फागुनमा कर्णाली उत्सवमा वीरेन्द्रनगर सहरको कथा सुनाउँदै सहरी योजनाविद माधवभक्त माथेमानामै नसुनेको ठाउँमा गएर सहर बसाल्ने काम सजिलो थिएन। करिब दुई महिना त सुर्खेत कहाँ पर्छ भन्ने पत्ता लगाउनमै बित्यो। धेरै मान्छेलाई सोध्दा पनि सुर्खेतबारे स्पष्ट जानकारी पाउन नसकेका माथेमा एक दिन राष्ट्रिय योजना आयोग गए, जहाँ डा. हर्क गुरूङ थिए।
'उहाँले सुर्खेत पश्चिममा छ, यस्तो ठाउँमा छ भनेर मोटामोटी बताइदिनुभयो,' माथेमाले भने, 'त्यसपछि म सुर्खेत जाने तयारीमा लागेँ।'
जाने कसरी? पैदल सम्भव छैन।
सुर्खेतमा २०२२ सालमै विमानस्थल बनिसकेको थियो। उनले यसबारे थाहा पाए। तर उडान खासै हुँदैन थियो।
माथेमाको राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग राम्रै सम्बन्ध थियो। उनका केही साथी त्यहाँ काम गर्थे। युएनडिपीले 'पेलाटस पोर्टर' नामको सानो जहाज राखेको थियो। १५ हजार रूपैयाँमा जहाज चार्टर गरेर माथेमा २०२९ कात्तिकमा सुर्खेत पुगे।
टोलीमा अन्य तीन जना पनि थिए – काहोल पोर्सा, शंकरमान प्रधान र प्रद्युम्न भट्टराई।
तीमध्ये जियोग्राफर (भूगोलविद) भट्टराई वीरेन्द्रनगर सहरको योजना निर्माणमा लामो समय माथेमासँगै रहेर काम गरे।
'मलाई उहाँहरूले साथ नदिएको भए सुर्खेत आएर काम गर्न कठिन हुन्थ्यो,' माथेमाले भने, 'तीमध्ये भट्टराईजीको साथ र सहयोग निकै धेरै रह्यो।'
५३ वर्षअघि पहिलोपटक चार्टर विमानबाट सुर्खेत उपत्यकामा झर्दा कस्तो अनुभूति भयो? त्यति बेलाको सुर्खेत कस्तो थियो? अनि सहरको खाका कसरी कोर्नुभयो? — हामीले ८१ वर्षीय माथेमालाई सोधेका यी जिज्ञासाले उनको स्मरण ताजा बनाइदियो।
उनी सुर्खेत आउँदा औलो उन्मूलन घोषणा भइसकेको थियो। सुर्खेत जिल्लाको सदरमुकाम गोठीकाँडाबाट वीरेन्द्रनगर सरिसकेको थियो। औलोको डरले उत्तरी क्षेत्रमा बसोबास गर्ने बासिन्दा पनि उपत्यका झर्ने क्रम बढेको थियो। विकासका पूर्वाधार भने शून्यप्रायः थिए। यातायातको नाममा एउटा बयलगाडा पनि थिएन।
'उपत्यकामा खासै रूख थिएनन्, एउटा ठाडो बाटो थियो,' उनले सुर्खेत पुग्दाको पहिलो दृश्य सम्झिँदै भने, 'निर्माणका लागि चाहिने सिमेन्ट, सरिया, इँटा मात्र होइन, चिया जस्ता दैनिक उपभोग्य सामान पनि पाइँदैन थियो।'
सहर बसाल्न आएका उनले उपत्यकामा एउटै पसल नदेखेपछि जुक्ति निकाले— स्थानीय बासिन्दालाई पसल खोल्न लगाएर व्यापार सुरू गर्ने।
यसका लागि नगर विकास योजना कार्यालयले नेपालगन्जबाट ५ हजार रूपैयाँका किला–काँटा, सिमेन्ट लगायत सामान ल्याएर एक जना स्थानीयलाई पसल राख्न सहयोग गर्यो। यसको उद्देश्य वीरेन्द्रनगरमा नयाँ घरहरू निर्माण होऊन् भन्ने थियो।
'ती व्यक्तिले पसल राम्रैसँग चलाए, बिस्तारै अरूले पनि पसल थाप्न थालेपछि चहलपहल बढ्न थाल्यो,' माथेमाले भने, 'त्यस बेलासम्म तरकारी लगाउने चलन पनि थिएन। काउली र मूलाको बिउ म आफैले काठमाडौंबाट ल्याएर स्थानीयलाई दिएको थिएँ।'
यस्तो अवस्था भए पनि उनलाई सुर्खेत निकै सुन्दर र आनन्ददायक लाग्यो। उनको नजरमा कोही पनि धनी–गरिब थिएनन्, सबै समान। यद्यपि यहाँको गरिबी, भोकमरी र अविकासले निकै पिरोल्यो।
'जब म सुर्खेत पुगेँ, त्यहाँको अवस्था देखेर ठूलो बेलायती सहरको परिकल्पना छोडिदिएँ,' उनले भने, 'एक महिनामै प्रारम्भिक सर्भे गरेर नेपाली मौलिकतामा आधारित सहरको रेखाचित्र बनाएँ।'
२०२८ साल असारतिर खिचिएको सुर्खेत उपत्यकाको दृश्य। पश्चिमतर्फ खोर्केखोला, उत्तरपूर्वतर्फ सरकारी क्षेत्र। तस्बिरः जोन ग्रीरअमेरिका र युरोपका विभिन्न सहर घुम्दा नेपालमा पनि त्यस्तै मोडलका सहर स्थापना गर्ने सपना देखेका भए पनि सुर्खेत पुग्दा सहरी विकासको अवधारणा नै बदलिएको उनले बताए।
माथेमा आएको तीन महिनामै, २०२९ माघमा राजा वीरेन्द्र पनि सुर्खेत आए। उनले राजालाई दुइटा कुरा बिन्ती गरे।
पहिलो— सहर निर्माणलाई आर्थिक औचित्यसँग जोड्नुपर्छ।
दोस्रो— नेपालको विकासको सबभन्दा ठूलो चुनौतीका रूपमा रहेको ग्रामीण क्षेत्रको अविकसित स्थिति न्यूनीकरणका लागि त्यहाँको जनसंख्याको चाप घटाउन सहरीकरणमा जोड दिनुपर्छ।
माथेमाले सुर्खेत आएको छोटो समयमै यहाँको गरिबी देखेका थिए। भोकमरीलाई त नजिकबाट महसुस गरेका थिए। उनी पैदल हिँडेर दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुगेका थिए। त्यस क्षेत्रको गरिबी, अविकास, भूबनोट, जनघनत्व र उत्पादनको अवस्था देखेर सुर्खेतमा सहर बसाल्न सकिन्छ भन्नेमा उनी विश्वस्त थिए।
त्यसै आधारमा उनले सहरी योजनाविदको दृष्टिबाट समृद्धिको मार्गचित्र कोर्न थालेका थिए।
राजा वीरेन्द्रले चासो र महत्त्व दिएको सहरको निर्माणमा जुटेका माथेमालाई सुर्खेत सवारी बेला दर्शनभेटका लागि बोलाइयो।
उनले राजालाई भने, 'सरकार, नेपालमा वीरेन्द्रनगरजस्ता सयौं सहर बन्छन्। तर यसको आर्थिक औचित्य प्रस्ट हुनुपर्छ। आर्थिक औचित्य स्रोत–साधनसँग जोडिन्छ। अर्को कुरा – नेपालको विकासको सबभन्दा ठूलो चुनौती भनेको ग्रामीण क्षेत्रको अविकसित स्थिति हो। ग्रामीण क्षेत्रको उत्पादनले त्यहाँको परिवार धान्न सक्दैन। उत्पादनको तुलनामा जनघनत्व अधिक छ। जबसम्म ग्रामीण क्षेत्रमा जनसंख्याको चाप घटाउन सकिँदैन, तबसम्म नेपालको विकास हुन सक्दैन। यसको उपयुक्त विकल्प भनेको सहरीकरण नै हो।'
सहरले मात्र सबै कुरा धान्न सक्छ? गाउँ रित्याएर सहर बसाल्ने? — यस्ता प्रश्नका औंला उठाउँदै कतिपय मान्छे उनीसँग रिसाए पनि। कसैले त गाउँ विकास विरोधीसम्म भन्न भ्याए। तर देशको समृद्धिको आधार सहरीकरण हो भन्नेमा उनी अहिले पनि दृढ छन्। त्यसैको एक नमूना बनेको छ वीरेन्द्रनगर सहर।
माथेमाको गुरूयोजनामा ठडिएको वीरेन्द्रनगर सहर अहिले सुर्खेत मात्र होइन, कर्णाली प्रदेशकै ग्रामीण क्षेत्रको गरिबी धान्ने धरोहर बनेको छ।
माथेमाका अनुसार २०२९ सालमा गरिएको सर्भेमा वीरेन्द्रनगरको जनसंख्या साढे १६ हजार थियो। पछिल्लो पटक २०७८ को जनगणना अनुसार वीरेन्द्रनगर नगरपालिकाको जनसंख्या एक लाख ५३ हजार ८६३ छ। अस्थायी बसोबासीको संख्या झन्डै एक लाख रहेको नगरपालिकाको अनुमान छ।
'सहरले सुविधासँगै अवसर प्रदान गर्छ, मान्छेको क्षमता र ज्ञान बढाउँछ,' उनको भनाइ छ, 'यस अर्थमा वीरेन्द्रनगर सहर हामीले परिकल्पना गरेजसरी सफल पनि भएको छ।'
वीरेन्द्रनगर सहर स्थापनामा तत्कालीन राजा वीरेन्द्रको देन महत्त्वपूर्ण रहेको उनी सम्झिन्छन्।
युवराज हुँदाखेरि नै उनी सुर्खेतप्रति मोहित थिए। त्यसैले राजा बनेको एक वर्षमै अध्यादेशबाट कानुन ल्याएर सहर निर्माणलाई गति दिए। गुरूयोजना निर्माणको चरणमा पनि निकै चाख र चासो राख्थे।
'मैले पनि राजालाई वीरेन्द्रनगर सहरलाई नमूना बनाएर उदाहरण दिनुपर्छ भन्ने महसुस गराएको थिएँ,' माथेमाले राजासँग हुने गरेका वार्तालाप सम्झिँदै भने, 'यो सहर यहाँका जनताको आकांक्षा पूरा गर्ने खालको होस्, घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने मान्यता अनुसार बनाउनुपर्छ भन्थेँ। राजाको यसमा समर्थन हुन्थ्यो।'
माथेमाका अनुसार सुर्खेत आएका बेला वीरेन्द्रले उपत्यकाका आदिवासी थारू समुदायप्रति बडो माया दर्साउँथे। सहरीकरणसँगै उनीहरूको भविष्यबारे सोच्नुपर्ने भन्थे।
तत्कालीन सरकारले देशका विभिन्न ठाउँमा वीरेन्द्रनगरजस्तै सहर स्थापनाको उद्देश्य राखेर २०२९ सालमा अध्यादेशमार्फत नगर विकास ऐन ल्याएको थियो। सोही ऐनका आधारमा माथेमा चिफ प्लानर नियुक्त भएर सुर्खेत आएका थिए।
उनले यहाँ आएपछि उपत्यकाको २३२ बिघा जग्गा अधिग्रहण गरे। सहर निर्माणका लागि पूर्वाधार निर्माण गर्ने र केही बिक्री गर्ने उद्देश्यले प्रतिबिघा ६ हजार रूपैयाँ मुआब्जा दिएर अधिग्रहण गरिएको थियो। नगर विकासले गति लिएसँगै जग्गाको भाउ बढ्न थाल्यो। नगर विकास योजना कार्यालयले सोही जग्गा प्रतिबिघा १० हजार रूपैयाँमा बेच्यो।
'सुरूआती चरणमा एउटा घडेरीको मूल्य ३ सय रूपैयाँ तोकिएको थियो। तैपनि मान्छेहरू किन्दैनथे। बिस्तारै चहलपहल बढेपछि त हामीले किन्न खोज्दा पनि पाएनौं,' उनले भने, 'मान्छेहरूलाई अलिकति पर्खियो भने भाउ बढ्छ भन्ने भयो, नगर विकासको प्रभाव तुरून्तै देखिन थाल्यो।'
माथेमाले सुर्खेत उपत्यकालाई तीन भागमा विभाजन गरेर नगर योजना सुरू गरेका थिए।
२०२५ सालतिर सुर्खेत उपत्यकाको सडक रेखांकनका क्रममा प्रयोग भएको थेएडोलाइटबाट हेर्दै एक स्थानीय। तस्बिरः जोन ग्रीरपहिलो— इत्राम खोलादेखि खोर्के खोलासम्म। यसलाई विशेष सरकारी लगानीबाट विकास हुने क्षेत्रमा राखिएको थियो।
दोस्रो— भैरवस्थानदेखि ढोडेखालीसम्मको क्षेत्र। यसलाई नगर विस्तार भनेर छुट्ट्याइएको थियो। जनताको लगानीमा क्रमिक रूपमा सहर विस्तार गर्ने लक्ष्य राखिएको थियो।
तेस्रो— राजमार्गको दक्षिणतर्फको क्षेत्र। यसलाई कृषियोग्य क्षेत्रको रूपमा छुट्ट्याइएको थियो।
वीरेन्द्रनगरको रेखांकन त भयो, तर सुन्दर र समृद्ध सहरका लागि थुप्रै तत्त्वको खाँचो थियो। यसका लागि उनले हरियाली सहरको योजना पनि अघि बढाए। उति बेला रोपिएका रूख–बिरूवाले वीरेन्द्रनगरमा सुन्दरता थपेको छ। अहिले पनि वीरेन्द्रनगर सहर गुलमोहर, ज्याकरान्डा लगायत फूल प्रजातिका रूख/बिरूवाले ढकमक्क हुन्छ। वातावरण मनोरम बनाउँछ।
वीरेन्द्रनगरलाई सुन्दर बनाउने यहाँका रूख/बिरूवामा माथेमाको कथा गाँसिएको छ। उनले फूल प्रजातिका बिरूवा भारतको लखनउबाट ल्याएका थिए। बिरूवाको मूल्यभन्दा यसलाई हुर्काउन बढी महँगो थियो। एउटा बिरूवा हुर्काउन एक सय रूपैयाँ खर्च भएको थियो। उति बेला यति रूपैयाँ कार्यालय सहयोगीले मासिक तलब पाउँथे।
यो कुरा थाहा पाएपछि तत्कालीन अर्थमन्त्री भेषबहादुर थापाबाट माथेमाले हप्की नै खाएका थिए।
'तपाईंहरूले के गर्न आँट्नुभयो माथेमाजी, सत्यानाश गर्न थाल्नुभयो त! एउटा रूखलाई सय रूपैयाँ तिर्ने भन्नुहुन्छ,' थापा रिसाएको सम्झना माथेमालाई अहिले पनि ताजै छ।
जब रूख हुर्किँदै गए, सबैले आहा भन्न थाले। अनि सन्तुष्टि मिल्ने गरेको माथेमाले सुनाए।
अहिले ती रूख वीरेन्द्रनगरका पहिचान बनेका छन्। अन्यत्र रूख–जंगल फँडानी भएर उजाड बन्दै जाँदा उति बेलाको उजाड वीरेन्द्रनगर अहिले हरियाली हुनुमा वीरेन्द्रनगरका मुख्य योजनाकार माथेमाको देन छ।
माथेमाले २५ वर्ष अवधि तोकेर नगर योजना निर्माण गरेका थिए। उनका अनुसार यो खासगरी प्रशासनिक केन्द्रको परिकल्पना गरेर बनाइएको सहर हो। तत्कालीन अवस्थामा वीरेन्द्रनगर सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम थियो। विकास क्षेत्र विभाजनपछि मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम र संघीयतापछि कर्णाली प्रदेशको राजधानी बन्यो।
'एउटा सहरले मल्टिपल रोल (बहुभूमिका) गर्न सक्दैन। सुर्खेतलाई हामीले प्रशासनिक केन्द्रको भूमिकामा निर्माण गरेका थियौं। त्यसैले स्थापनादेखि अहिलेसम्मै सुर्खेत सधैं प्रशासनिक केन्द्र बनिरह्यो,' उनले भने।
सुर्खेतलाई प्रशासनिक केन्द्र बनाउने तत्कालीन योजना अनुरूपै अहिले सुर्खेत उपत्यकामा पर्याप्त सरकारी जग्गा छ। 'विशेष सरकारी लगानीबाट निर्माण हुने क्षेत्र' मा सरकारी संरचनाहरू बनेका छन्। संघीयतापछि कतिपय ठूला भौतिक संरचना निर्माण प्रक्रियामा छन्।
कतिपयलाई अहिले पनि जिज्ञासा हुन्छ— माथेमाले सुर्खेत उपत्यकालाई खेतीपातीका लागि छुट्ट्याएर उत्तरी डाँडामा सहर किन नबसालेका होलान्?
आखिर 'पहाडकी रानी' भनेर चिनिने दार्जिलिङ सहर पहाडको काखैमा टाँसिएको छ। माथेमालाई पनि त्यस्तो सोच नआएको होइन। तर विकासको दृष्टिले निकै खर्चिलो र जमिनको अपर्याप्तताका कारण सम्भव नभएको उनको भनाइ छ।
२०२५ सालतिर हालको रेडियो नेपाल नजिकको राजमार्ग क्षेत्रमा काम गर्दै स्थानीयबासी। तस्बिरः जोन ग्रीरधनकुटाको विकास हुन नसकेको उदाहरण दिँदै उनले भने, 'सायद उपत्यकामा विकास गर्न जति सहज र सुलभ भयो, डाँडातिर गरेको भए त्यो सम्भव हुन्थेन।'
सुर्खेत विमानस्थलबारे गुरूयोजना अनिर्णित छ। सुर्खेतमा विमानस्थल निर्माणको विवाद सुन्दा वीरेन्द्रनगर सहरका योजनाकार माथेमालाई ५ दशकअघिको सम्झना आउँछ। उति बेला विमानस्थलको विषयमा दुइटा विकल्प राखेर योजना निर्माण अघि बढेको थियो — हाल भएको विमानस्थल विस्तार गर्ने र देउतीबज्यैतिर पूर्वपश्चिम बनाउने।
उनका अनुसार दोस्रो सम्भावनाबारे मन्त्रिपरिषदमा दुई–तीन पटक छलफल भएको थियो। त्यहाँ पनि दुइटा कुराको दबाब पर्यो।
पहिलो— पूर्वपश्चिम बनाउँदा जग्गा अधिग्रहण गर्नुपर्ने भयो। कुल दस हजार बिघा जग्गा भएको उपत्यकामा एयरपोर्टका लागि जग्गा अधिग्रहण गर्नु सहज थिएन। कमाइ खाने जग्गा लिएपछि धेरै मान्छे विस्थापित हुने अवस्था आउने भयो।
दोस्रो— उति बेला सुर्खेतलाई 'एयर हब' बनाउने कि नेपालगन्जलाई बनाउने भन्नेमा अलमल थियो। नेपालगन्जमा समथर भूभाग भएकाले सुर्खेतमा ठूलो विमानस्थल आवश्यक पर्दैन भन्ने भयो।
'यी सबै कारणले विमानस्थलबारे हामीले निर्णय लिन सकेनौं,' उनले भने।
वीरेन्द्रनगर छोटो समयमा तीव्रत्तोर विकास भएको आधुनिक सहर हो। चौडा सडक, खुला चौर तथा पार्क, कृषि क्षेत्र, आवास क्षेत्र, पर्याप्त सरकारी क्षेत्र आदिको उपयुक्त व्यवस्थापनले यहाँको विकासमा सहजता भएको छ। यसको श्रेय सुर्खेत उपत्यकाका मुख्य योजनाकार माथेमालाई नै जान्छ।
हुन त सुर्खेत उपत्यकामा १९५० को दशकतिर आवादी सुरू भएको पाइन्छ। १९७० दशकमा जग्गा दर्ताको प्रक्रिया सुरू भएको थियो। २०२२ सालतिर सुर्खेत उपत्यकाबाट औलो उन्मूलनको घोषणा भएपछि २०२४–२५ तिर अमेरिकाबाट आएका पिस्कर भोलेन्टियर बिल ग्रीस्च र जोन ग्रीरले थेएडोलाइटबाट बाटोको रेखांकन गरेका थिए। यद्यपि अहिलेको समृद्ध सुर्खेत उपत्यका र व्यवस्थित वीरेन्द्रनगर सहरको मार्गचित्र भने माथेमाको कलमले कोरेको हो।
२०२९ सालमा गुरूयोजना निर्माण सुरू गरेका माथेमा २०४४ सालमा त्यसलाई पूर्णता दिएर सुर्खेतबाट बिदा भए। यस अवधिमा उनी चार वर्ष त पूरै समय सुर्खेतमा बसेर काम गरे। बाँकी समय सुर्खेत–काठमाडौं आउजाउ गर्दै सहर निर्माणमा जोडिए।
फागुन ५ गते उनको जन्मदिन हो। दुई वर्षअघि ७९औं जन्मोत्सवका दिन उनी जहाजबाट सुर्खेत ओर्लिएका थिए। कर्णाली उत्सवको 'यो सहर, त्यो रहर' सत्रमा उनी वक्ताका रूपमा आमन्त्रित थिए। सुर्खेतबाट बिदाइ भएको ३५ वर्षपछि उनी आएका थिए।
प्रस्तोता गोविन्द कोइरालाले पहिलो प्रश्न गरे, 'जहाजबाट सुर्खेत हेर्दा, उत्रिँदै गर्दा कस्तो देखियो?
'धेरै परिवर्तन भएछ। प्लेनबाट हेर्दाखेरि त धेरै विकास भएको देखेँ। खुसी पनि लाग्यो,' रोमाञ्चित मुडमा देखिएका उनले भने, 'यहाँ आएपछि एकताक त मलाई कहाँ छु, वीरेन्द्रनगरमा छु कि बुटवल वा नारायणगढ आएँ कि भन्ने अनुभूति भयो।'
उनले थपे, 'वीरेन्द्रनगरमा हरियाली देख्दा आनन्द लाग्यो। यी हरेक रूख–बिरूवामा हाम्रो कथा गाँसिएको छ।'
हालको वीरेन्द्रनगर सहर र गुलमोहरको सुन्दरता। तस्बिरः सुरेश आचार्य