कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरको परिसरमा चैत २७ गते बिहान हत्या गरिएको अवस्थामा फेला परेका डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदिश कैनीको हत्या आरोपीलाई पक्राउपछि बिहीबार प्रहरीले सार्वजनिक गरेको छ।
हत्या आरोपमा बैतडीको डिलासैनी गाउँपालिकाका–३ सिमारका ३४ वर्षीय हेमन्तबहादुर बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।
इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले बिहीबार कैनीको हत्यामा बोहराको संलग्नता पुष्टि भएको भन्दै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
इप्रका मालाखेतीका प्रमुख डिएसपी गंगाबहादुर थापाले अपरिचित कैनीमाथि चोरीको आरोप लगाउँदै बोहराले ढुंगा प्रहार गरी हत्या गरेको कुरा अनुसन्धानबाट खुल्न आएको सेतोपाटीलाई बताए।
‘चैत पहिलो हप्तामा सोही मन्दिर परिसरबाट बोहराको एउटा ब्याग पनि हराएको रहेछ,’ डिएसपी थापाले भने, ‘त्यो राति पनि मन्दिर परिसरमै रहेका बोहराले अस्ति ब्याग चोर्ने र आज आफ्नो करिब चार सय रुपैयाँ चोर्ने यो रहेछ भन्दै आवेगमा आई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्छ।’
डिएसपी थापाका अनुसार त्यो दिन हत्या आरोपी बोहरा मदिराले मातेर मन्दिर परिसरमा सुत्न गएका थिए। कैनीले पनि त्यो दिन मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
चैत पहिलो हप्ता सोही मन्दिर क्षेत्रमा सुत्न गएको समयमा ब्याग चोरी हुनु र चैत २६ गते सुत्न जाँदा पनि करिब चार सय आफ्नो पकेटको पैसा चोरी भएको भन्दै उनीहरूबीच विवाद भएको थियो। त्यही क्रममा बोहराले कैनीमाथि नजिकैको ढुंगा टिपेर पटक पटक अनुहार र टाउकोमा प्रहार गरी हत्यापछि शव घिसारेर केहीपर मन्दिर परिसरमै फालेको खुल्न आएको थापाले बताए।
कैनीको हत्या आरोपमा पक्राउ परेका बोहराले ८ वर्ष सशस्त्र प्रहरीमा जागिर गरी छोडेर विदेश गएका थिए।
विदेशबाट फर्केपछि उनी होटलहरूमा काम गर्दै आएका थिए।
‘बोहरा कहिले कुन र कहिले कुन होटलमा काम गर्दै हिँड्ने व्यक्ति भएको खुल्छ,’ डिएसपी थापाले भने, ‘कहिले होटलमा र कहिले मन्दिर परि;रमा सुत्ने क्रममा अपरिचत कैनीमाथि चोरीको आरोपमा उनैले हत्या गरेको खुल्छ।’
प्रहरीका अनुसार हत्या गरिएका कैनी पनि बसपार्क क्षेत्रमा डुल्दै हिँड्ने व्यक्ति हुन्। उनी मोबाइल फोनसमेत प्रयोग गर्दैन थिए। बोहरा र कैनीबीचमा आपसी चिनजानसम्म थिएन।
कैनी हत्याको घटना अनुसन्धानका लागि डिएसपी थापाको नेतृत्वमा जिल्ला, प्रदेशसहित सात सदस्यीय टोली गठन गरिएको थियो। त्यो टोलीले घटनाको विभिन्न ढंगले विश्लेषण गर्दै गर्दा केही दिन कुनै पनि क्लू फेला पार्न सकेको थिएन। त्यसपछि चैत २६ गते रातिको त्यो हत्या घटना अनुसन्धान गर्न प्रहरीले आसपासका सिसिटिभी फुटेजहरू संकलन गरी अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले बोहरा सिसिटिभीमा त्यो रात कैद भएको तथ्य फेला पार्यो।
इप्रका माताखेतीको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिसिटिभी फुटेजहरूमा बोहरा चैत २६ गते साँझ ७ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेका थिए। हत्या गरिएका कैनी ८ बजेर ५५ मिनेटमा मन्दिरभित्र प्रवेश गरेका थिए। राति ९ बजेर ८ मिनेटमा बोहरा मन्दिर बाहिर आएका थिए।
भट्टका अनुसार बोहरा मदिरा लिएर पुनः ९ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेका थिए। मदिराले मातेका उनी राति सुतेर उठेपछि आफ्नो पैसा चोरी भएको आशंकामा सडक पेटीमा सुत्ने कैनीलाई चोरी गरेको ठानेर ढुंगाले आक्रमण गरी वीभत्स हत्या गरेको बयान प्रहरी समक्ष गरेका छन्। तर, बोहरोको पहिचान गर्न प्रहरीलाई केही समय लाग्यो।
कारण, बोहरा कैनीको हत्यापछि त्यहाँबाट धनगढी गएका थिए। धनगढीको एक होटलमा एक हप्तासम्म काम गरेपछि उनी बुधबार अत्तरिया फर्किएका थिए। घटनास्थलको नजिकै केही दक्षिणतर्फ मदिरा सेवन गरिरहेको समयमा प्रहरीले बुधबार बेलुका बोहरालाई नियन्त्रणमा लिएको थियो।
प्रहरी हिरासतमा रहेका बोहरोले कैनीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको डिएसपी थापाले बताए।