हुम्लामा बिहीबार बिहान भारी वर्षा भएको छ। वर्षाले अदानचुली गाउँपालिका २ र ३ मा बाढी पहिरोले क्षति पुगेको छ।
ठूलो वर्षापछि अदानचुली गाउँपालिकाको कार्यालयमा पनि पानी पसेको छ। झन्डै एक दर्जन जति पसलहरूमा पानीको भेल पसेको प्रहरीले जानकारी दिएको छ।
धनबहादुर रोकाया, पूर्णबहादुर रोकाया, धने दमाइको होटल तथा पसलमा बाढी पसेको छ। सूर्यदय माविमा पनि बाढी पसेको छ। खाद्य संस्थानको डिपोमा चार वटा कोठामा भण्डारण गरी राखिएकोमध्ये २५ केजीको १०० बोरी चालम बाढी पसेर भिजेको छ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले निर्माण गर्न थालेको पुष्पलाल भवनको निर्माण सामग्रीमा बाढीले क्षति गरेको छ। ६ ट्रली बालुवा, एक सय ६० बोरी गिट्टी र तीन बोरी सिमेन्ट बाढीले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलले बताए।
अदानचुली गाउँपालिका–३ मा गोरपानी छहरे खेतमा पहिरोले गोठ पुर्दा एक जना किसानका २७ वटा खसी बाख्रा मरेका छन्। पहिरोका कारण २५ वटा बाख्रा हराइरहेका छन्। थप २९ वटा खसी बाख्राको भने घाइते अवस्थामा उद्धार गरिएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी पोखरेलका अनुसार बिहान ८ बजेतिर स्थानीय धर्म बुढाको दुई कोठे गोठ माथिबाट झरेको ढुंगा माटोसहितको पहिरोले पुरेको थियो।
बुढाको परिवारले कुल ८१ वटा खसी बाख्रा पालेको र तीमध्ये २७ वटा खसी बाख्रा पहिरोमा पुरिएर मरेको र २५ वटा खसी बाख्रा बेपत्ता रहेको हुँदा खोजी भइरहेको डिएसपी पोखरेलले सेतोपाटीलाई बताए।
पहिरोले गोठ पुरेको खबरपछि प्रहरी चौकी गल्फगाडबाट प्रहरी निरीक्षक सुरेश सुनाको कमाण्डमा प्रहरी खटाएर स्थानीयसँग मिलेर उद्धारको कार्य गरिरहेको डिएसपी पोखरेलले बताए।