दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो।
छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी प्रवक्तासमेत रहेका डिएसपी जनकबहादुर मल्लले बताए। ‘छातीमा गोली लागेको घाउ छ,’ उनले भने। पोस्टमर्टम रिपोर्ट भने आउन बाँकी रहेको छ।
शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।
उनीहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको एक प्रहरीले बताए।
‘शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिन्छ, त्यसैलाई बाहना बनाएर सुरूङमा लगेर हत्या गरेकोजस्तो देखिन्छ,’ ती प्रहरी अधिकारीले भने, ‘प्रारम्भिक बयानमा पनि उनीहरूले यस्तै कुरा गरेका छन्। थप अनुसन्धान हुँदैछ।’
शिवराजको हत्यामा प्रयोग भएको बन्दुक भने प्रहरीले फेला पारेको छैन।
शेरबहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएको प्रहरीले दाबी गरेको छ। यो घटनामा क-कसको संलग्नता छ भन्ने अनुसन्धान भइरहेको ती प्रहरीले बताए।
शेरबहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएकोजस्तो देखिएको भन्दै प्रहरीले त्यो कोणबाट अनुसन्धान अघि बढाएको छ।
एसपी रामबहादुर केसीले शिवराजको हत्या गरेर शव सुरूङभित्र लुकाएको हुनुपर्ने बताए। घटनाबारे गहिरोसँग अनुसन्धान भइरहेको उनको भनाइ छ।
घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए। उनी सम्पर्कबिहीन भएपछि खोजी सुरु गरिएको थियो।
उनको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो। स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरुङभित्र फेला परेको थियो।