दाङको तुलसीपुर उपमहानगरपालिका–७ का बासिन्दा कृष्ण पोखरेलले स्थानीय गणेशपुर शान्ति उद्यानमा घुम्न आउनेहरूको फोटो खिच्न थालेको ६ महिना भयो।
विदेशबाट फर्किएपछि उनले आफ्नै गाउँठाउँको उद्यानमा स्वरोजगारीको राम्रो सम्भावना देखे। उद्यानमा आउनेहरूको फोटो खिच्दा राम्रो कमाइ हुन थाल्यो।
आफ्नो घर नजिकैको उद्यानमा आउनेहरूले फेसबुक र इन्स्टा लगायतका सामाजिक सञ्जालमा राख्न फोटो र भिडिओ खिचिदिने मान्छे खोज्ने गरेको थाहा पाएपछि उनले त्यही काम थालेका हुन्। यसबाट राम्रै आम्दानी हुने देखेर उनले एउटा डिएसएलआर (डिजिटल सिंगल–लेन्स रिफ्लेक्स) क्यामेरा किने। अहिले उनी व्यावसायिक ‘क्यामेरा पर्सन’ भएका छन्।
अर्का युवा विशाल कालाथोकी गणेशपुर शान्ति पार्क नजिकैको एउटा रेस्टुरेन्टमा लेखाको काम गर्थे। पार्कमा आउने मान्छेका फोटो खिच्नेहरूले राम्रो आम्दानी गरेको देखेपछि उनी पनि डिएसएलआर क्यामरा किनेर फोटोतिरै लागे। रेस्टुरेन्टको काम छाडे।
चाडपर्व र कुनै खास अवसरमा गणेशपुर शान्ति उद्यान आगन्तुकहरूले भरिभराउ हुन्छ। फोटो खिच्नेको कमाइ पनि ह्वात्तै बढ्छ, एक दिनमै तीन हजार रुपैयाँसम्म कमाइ हुन्छ। कुनै दिन त आठ हजार रुपैयाँसम्म कमाएको कृष्णले बताए।
विशाल पनि भिडभाडका दिन पाँच हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताउँछन्।
‘एकै जनाले सय वटासम्म फोटो खिचाउँछन्। भिडियो बनाउन आउने पनि धेरै हुन्छन्,’ उनले भने।
उनीहरू एउटा फोटोको १५ रुपैयाँ र एउटा भिडिओको कम्तीमा सय रुपैयाँ पारिश्रमिक लिन्छन्। यस्तो फोटो र भिडिओ इमेल, फेसबुक मेसेन्जर, ह्वाट्स एप वा यस्तै कुनै माध्यममा पठाइदिन्छन्।
उद्यानमा विभिन्न जातीय समुदायका पोशाक लगाएर फोटो खिच्ने सुविधा पनि छ। शुल्क लिएर त्यस्तो पोसाक उपलब्ध गराउने व्यवसायीहरू पनि छन्।
गणेशपुर शान्ति उद्यान आगन्तुकहरूका लागि फोटो र भिडियो खिच्ने–खिचाउने आकर्षकस्थल भएपछि कृष्ण र विशालजस्ता धेरैका लागि स्वरोजगारी सिर्जना भएको छ।
यस उद्यानमा हाल ५१ जना क्यामेरा पर्सनको नाम दर्ता भएको छ। ती सबैले डिएसएलआर क्यामेरा किनेका छन्।
श्रीगणेश सामुदायिक वनका सचिव कृष्णप्रसाद पोखरेलका अनुसार वन उपभोक्ता समिति अन्तर्गतका क्यामेरा पर्सनहरूले फोटो र भिडिओ खिच्ने कामको अनुमति पाउँछन्।
अनुमति पाएकाले कामका लागि उद्यानमा प्रवेश गरेका दिन उद्यान कार्यालयलाई तीन सय रुपैयाँ बुझाउनुपर्छ।
आफ्नै क्यामेरा लिएर जाने आगन्तुकले पनि दिनभरका लागि एउटा क्यामेरा बापत सय रुपैयाँ शुल्क तिर्नुपर्छ।
क्यामेरा पर्सनहरूबाट मात्र उद्यानले मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ। जातीय पोसाक उपलब्ध गराउनेले पनि उद्यान कार्यालयलाई शुल्क बुझाउनुपर्छ।
गणेशपुर शान्ति उद्यान कार्यालयमा हाल आठ जना कर्मचारी छन्। तिनको पारिश्रमिकमा मासिक एक लाख ३५ हजार रुपैयाँ खर्च छ। पर्व, उत्सव र समारोहमा नियमितभन्दा बढी काम गरेबापत अतिरिक्त पारिश्रमिक पनि पाउँछन्। यसरी पारिश्रमिकमा मासिक कम्तीमा साढे एक लाख रुपैयाँ खर्च हुन्छ।
उद्यानका एक व्यवस्थापक खेमराज विश्वकर्माका अनुसार कर्मचारीको पारिश्रमिकसहित उद्यानमा हुने विकासको कामबाहेक सबै खर्च क्यामेराबाट उठेको शुल्कले धानेको छ।
उनी भन्छन्, ‘कर्मचारीलाई दिने तलब र उद्यानका जनावरको खाना खर्च क्यामेरा चलाउने व्यक्तिहरूले तिरेको पैसाले पुग्न थालेको छ।’
शान्ति पार्कभित्रै तुलसीपुर उपमहानगरपालिकाले भाडा लिएर ‘द पार्क क्याफे’ चलाउन दिएको छ। उपमहानगरले करिब १६ कट्ठा जमिनमा फैलिएको बगैंचा वार्षिक १९ लाख ६५ हजार रुपैयाँमा भाडामा दिएको छ।
क्याफेका सञ्चालक राजेन्द्र महतराका अनुसार क्याफेमा दैनिक फोटो–भिडिओ खिच्न ६ जना क्यामेरा पर्सन आउँछन्। क्याफेमा नेवार समुदायको पोसाक लगाएर फोटो खिच्न पाइने सुविधा छ। पोसाक क्याफेले समय तोकेर भाडामा उपलब्ध गराउँछ।
क्याफेमा आउने क्यामेरा पर्सनहरूले बगैंचा हेरचाहका लागि आफ्नै तर्फबाट एक जना श्रमिक राखेका छन्।
गणेशपुर शान्ति उद्यानले प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क लिने गरेकोमा यही मंसिर १ मा बढाएर ५० रुपैयाँ पुर्याएको छ।
सचिव पोखरेलका अनुसार गत वर्ष प्रवेश शुल्कबाट ७० लाख ९० हजार रुपैयाँ आर्जन भएको थियो। उद्यानमा दैनिक कम्तीमा चार सयदेखि बढीमा एक हजार पाँच सय जनासम्म आगन्तुक प्रवेश गर्ने गरेका छन्।
उद्यानभित्र दुई वटा चमेना गृह छन्। तिनले पनि मासिक भाडा तिर्छन्।
यस उद्यानलाई ग्रीन फाउन्डेसनले एउटा टाङन घोडा उपहार दिएको छ। घोडा चढ्नेले निर्धारित दूरीका लागि एक पटकमा सय रुपैयाँ तिर्नुपर्छ। त्यसबाट उठेको पैसा घोडा पाल्ने व्यक्तिको हुन्छ। उनले उद्यानलाई मासिक पाँच हजार बुझाउनुपर्छ।
करिब एक बिघा क्षेत्रफलमा फैलिएको चिल्ड्रेन पार्क स्थानीय युवा मञ्जित बाँठाले दश वर्षका लागि ठेक्कामा लिएका छन्। उनी मासिक २७ हजार रुपैयाँ बुझाउँछन्।
उद्यानको पर्खालबाहिर आठ वटा जस्ताको छानो हालिएका पिकनिक स्थलहरू छन्। उद्यान कार्यालयले ती पिकनिक स्थलबाट पनि शुल्क उठाउँछ। निर्धारित खुला ठाउँमा पनि शुल्क तिरेर पिकनिक गर्ने सुविधा छ।
सचिव पोखरेलका अनुसार गत वर्ष उद्यानमा कुल साढे एक करोड रुपैयाँ आम्दानी भयो। सोही आम्दानीबाट उद्यानमा निर्माणको काम भइरहेको छ।
श्रीगणेश सामुदायिक वन उपभोक्ता समिति २०५२ सालमा गठन भएको थियो। यो सामुदायिक वन १०५ हेक्टर जमिनमा फैलिएको छ। त्यसमध्ये १५ हेक्टरमा उद्यान छ। यो उद्यानले आर्थिक वर्ष २०७७/७८ मा दुई करोड रुपैयाँ सरकारी बजेट पाएको पोखरेलले बताए।
उनका अनुसार लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा २५–२५ लाख रुपैयाँ दियो। त्यो बजेटले रकमले उद्यानभित्र बोटिङ पुल निर्माण र साजसज्जाको काम भएको छ।
उद्यान निर्माण हालसम्म दश करोड रुपैयाँ खर्च भएको छ।
हाल यो सामुदायिक वनमा ४७६ घरपरिवार उपभोक्ता रहेका छन्।
उद्यानमा लघु चिडियाखाना पनि छ। यहाँ हरिण, दुम्सी, हुचिल, बाज, अस्ट्रिच लगायतका जनावर र पन्छी छन्। चितुवा पनि छन्।
उद्यानमा दाङ, कैलाली, बर्दिया, बाँके, सल्यान, रोल्पा, रुकुम, गुल्मी अर्घाखाँचीसम्मका मानिस घुम्न आउने गरेका छन्।
दाङको लमही नगरपालिका–५, स्थित जबमरी सामुदायिक वनमा पनि ‘जैविक विविधता पार्क’ रहेको छ। यहाँ पनि आगन्तुकहरूको भीड लाग्ने गरेको छ। आगन्तुकहरूको फोटो क्यामेरा पर्सनहरूले खिचिदिन्छन्, भिडिओ बनाइदिन्छन्।
जबमरी सामुदायिक वन कार्यालयले मासिक ५० हजार रुपैयाँ बुझाउने गरी पार्कमा फोटो खिच्ने क्यामेरा पर्सनका लागि गत असोज २४ गते टेन्डर आह्वान गरेको थियो।
सामुदायिक वन उपभोक्ता समितिका पवन रिजालका अनुसार पहिलोपटक सूचनामा आवेदन परेन। दोस्रो पटकमा वन उपभोक्ता समितिकै किसान भट्टराईले मासिक साढे ५५ हजार रुपैयाँ तिर्ने गरी चार वर्षका लागि ठेक्का पाए।
भट्टराईले यही मंसिर १ गते ‘जैविक विविधता पार्क’ भित्र फोटो खिच्ने काम सुरू गराएका छन्। हाल उनीअन्तर्गत दैनिक नौ जना क्यामेरा पर्सनले फोटो खिच्दै छन्।
जबमरी सामुदायिक वन करिब १६० हेक्टरमा फैलिएको छ। यसमध्ये २० हेक्टरमा जैविक विविधता पार्क छ। पार्कमा वाटर फाउन्टेन, चिल्ड्रेन पार्क र भ्यु टावर छन्। बोटानिकल रिसर्च सेन्टर पनि छ।
यसरी दाङका सामुदायिक वन रोजगारी र आम्दानीमा बलिया स्रोत हुँदै गएका छन्।