उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प पीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।
भूकम्प पीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्।
उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नं ३ मा पुगेर हस्तान्तरण गरेका थिए। सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरूङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिइन्।
भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरूको उद्धार र राहतमा खटिएका छन्।
राहत वितरणपछि पुनःस्थापनाको काम सुरू नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।