शुक्रबार रातिको भूकम्पमा परी रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिकामा ४२ जना र सानी भेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले सेतोपाटीलाई बताए।
आठबिसकोटमा २३ महिला र पुरूष १९ जना र सानी भेरीमा ४ महिला र ६ पुरूषको मृत्यु भएको छ ।
तर, आठबिसकोटका मेयर रवि केसीले भने आठबिसकोट नगरपालिकाबासी ४४ जनाको मृत्यु भएको दाबी गरेका छन्। ४२ जनाको नगरभित्रै र थप दुई जनाको जाजरकोटमा मृत्यु भएको उनको भनाइ छ।
आठबिसकोटका मेयर केसीले एउटै घरका चार जनासम्मको मृत्यु भएको बताए। त्यस्तै डिएसपी भट्टराईले सानी भेरीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको जानकारी दिए।
आठबिसकोट– १४ मा मात्रै भूकम्पबाट २६ जनाको मृत्यु भएको छ। आठबिसकोटका २४ जना र बाहिरी जिल्लाबाट त्यहाँ आएका दुई जना गरी २६ जनाको एउटै वडामा मृत्यु भएको उनले जानकारी दिए।
वडाको छेपारेमा ११ जना, ज्यामिरकोटमा ९ जना, हल्देटोलमा २ जना, बाँकेटोलका र पिपल चौरमा १/१ जना गरी एउटै वडाभित्र २६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
एउटै वडामा २६ जनाको मृत्यु भएपछि वडा नै शोकमा डुबेको मेयर केसीले बताए।
‘यहाँको स्थिति शब्दमा वर्णन गर्न सक्ने खाले छैन,’ उनले भने, ‘दुई वडामा ४२ जनाको मृत्यु हुँदा को भावविह्वल हुँदैन?’
जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराइले भने आठबिसकोटमा ४२ जनाको शव मुचुल्का बनाई आफन्तलाई बुझाएको बताए।
भूकम्पका घाइतेमध्ये २६ जनाको मात्रै जिल्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल, राडी र आठबिसकोटमा उपचार भइरहेको हो।
घाइतेमध्ये २७ जनालाई जिल्ला बाहिर उपचारका लागि पठाइएको छ। काठमाडौंमा ७ जना, सुर्खेतमा ८ जना र नेपालगञ्जमा १० जनालाई उपचारका लागि पठाइएको डिएसपी भट्टराईले जानकारी दिए।
शनिबार दिउँसोसम्म घाइते सबैको उद्धार भएको डिएसपी भट्टराईले बताए।
‘कतैबाट पनि मेरो घर परिवारका सदस्य बेपत्ता रहेको वा च्यापिएको भन्ने सूचना आएको छैन,’ डिएसपी भट्टराईले भने।
जिल्लामा अन्दाजी दुई हजार पाँच सय घरमा क्षति पुगेको भन्ने प्रारम्भिक सूचना आएको भए पनि त्यसको यकिन हुन बाँकी छ।
‘दुई हजार पाँच सय घरमा क्षति पुगेको भन्ने प्रारम्भिक सूचना आएको छ,’ डिएसपी भट्टराईले भने, ‘तर, भूकम्प लगत्तैदेखि प्रहरी खटिएको र अझै पनि हामी मानिसहरूको उद्धारमै लागेको हुँदा भोलिदेखि मात्रै घर तथा भौतिक क्षतिबारे अध्ययनमा लाग्नेछौं।’
भूकम्पपछि आठबिसकोटमा फोन सम्पर्क नहुँदा उद्धार तथा सूचना संकलनमा निकै समस्या भोग्नु परेको डिएसपी भट्टराईले जानकारी दिए ।
‘आठबिसकोटको वडा नम्बर १३ र १४ नम्बरमा उद्धार तथा सूचना संकलनको काममा बढी समस्या भएको हो,’ उनले भने, ‘भूकम्पपछि प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्का नेतृत्वको आठबिसकोटमा खटाइएको टोली अझै कार्यालय फर्किसकेको छैन।’
विपतको समयमा प्रहरी चौकीहरूमा दुई जना मात्रै प्रहरी राखेर तीन सय बढी प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। त्यसमध्ये आठबिसकोटको क्षेत्रमा एक सय ५० र सानीभेरी गाउँपालिकामा ७५ जना प्रहरी खटाएर उद्धारको काम गरिएको डिएसपी भट्टराईले बताए।
प्रहरीको पछिल्लो विवरण अनुसार जाजरकोटमा मात्रै १०५ जनाको भूकम्पका कारण मृत्यु भएको छ भने रूकुम पश्चिममा भने ५२ जनाको मृत्यु भएको हो।
जाजरकोट केन्द्र बिन्दु भएर मध्यरातिमा गएको भूकम्पका कारण दुई जिल्लामा गरि कुल १५७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मध्यराति आएको भूकम्पका कारण मानवीय क्षति बढी भएको जानकारहरू बताउँछन्।
‘दिउँसोको समय हुन्थ्यो भने अधिकांश मानिस कामका लागि घर बाहिर हुने थिए,’ डिएसपी भट्टराईले भने, ‘करिब मध्यरातमा भूकम्प जाँदा सुतिरहेका मानिसहरु घर भत्किएर च्यापिएर मृत्युको मुखमा पुगेको मान्न सकिन्छ।’
दिउँसोको समय भए भूकम्प आउँदा घर बाहिर निस्किएर पनि मानिसले ज्यान जोगाउन सक्ने सम्भावना रहने उनले बताए।