रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– ३ की १० वर्षीया रिना बुढा र ८ वर्षीया कालीमाया बुढाको हत्या उनीहरूले लगाएको सुनका गरगहना लुट्नका लागि भएको थियो।
सिस्नो र निउरो तथा खरायोका लागि घाँस काट्न गएका रिना र कालीमायाको हत्या गत चैत २२ मा भएको थियो।
यी दिदीबहिनीको हत्या उनीहरूले कान र नाकमा लगाएका झन्डै एक तोला भन्दा बढी सुन खोस्ने लालचमा भएको प्रहरी अधिकारीले बताएका थिए।
उनीहरूको हत्या १५ वर्षभन्दा कम उमेरका दुई किशोरीले मिलेर गरेको प्रहरीले सार्वजनिक गरेको थियो। हत्या स्वीकार गरिसकेका उनीहहरू हाल सुधार गृहमा छन्। हत्या आरोपित दुई किशोरी घर गाउँ छिमककै र नाताले आफन्त समेत हुन्।
दिउँसो हत्यापछि दुई किशोरीले शव खेतबारीकै खोल्सामा लुकाएका थिए। बेलुकी झिसमिसे अँध्यारो भएपछि बल्ल डोकोमा राखेर शव आफैं बोकेर एक किलोमिटर टाढाको भिरबाट फालिदिएको तथ्य प्रहरी अनुसन्धानले देखाएको थियो।
चैत २३ गते बिहान मात्रै दुई दिदीबहिनीको शव भिरमा केही मिटरको दूरीमा फेला परेको थियो। घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले त्यतिखेर सेतोपाटीलाई बताएअनुसार सिस्नो र निउरो टिपिरहेका दुई बहिनीलाई टाउको लगायत शरीरका विभिन्न भागमा दाउराले आक्रमण भएको थियो। उनीहरू पछि अचेत बनेपछि घाँटी थिचेर हत्या गरिएको बयान पक्राउ परेका दुई किशोरीले प्रहरीसमक्ष बयान गरेका थिए।
हत्यापछि नाक र कानमा सुनका गहना लुटिएका थिए। सुनका गरगहना लुट्नकै लागि दुई दिदी-बहिनीको दुई किशोरीले हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो। हत्या आरोपित दुवै जना किशोरी भएको हुँदा उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेन।
यो मात्रै हैन रूकुम पश्चिममा पनि हालसालै एक महिला हत्या आरोपमा पक्राउ परेपछि पाँच वर्ष पहिले पनि उनले त्यस्तै अर्को हत्या गरेको तथ्य सार्वजनिक भएको छ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या घरभित्रै भयो। साउन १८ गते राति साढे ९ बजेतिर उनको हत्या भएको थियो।
बुढाथोकीको हत्यापछि बाहिरबाट ढोकामा ताल्चा लगाइएको थियो। फोन नलागेपछि आफन्तले राति ढोका फोडेर हेर्दा उनको शव सुत्ने कोठामै फेला परेको थियो। हस्तकलीको हत्यापछि सुनका गरगहना लुटेर लगिएको थियो।
केही दिनको अनुसन्धानपछि साउन २२ गते हस्तकलीको हत्या गरेको अभियोगमा छिमेकी २३ वर्षीया सिर्जना बुढालाई प्रहरीले पक्राउपछि सार्वजनिक गर्यो।
सृजना पक्राउ परेपछि त्यस्तै प्रकृतिको पाँच वर्ष पहिले सोही गाउँमा भएको अर्को घटनाका फाइल प्रहरीले फेरि खोल्यो।
२०७५ असार १० गते ४६ वर्षीया आइती बुढाको पनि घरमै हत्यापछि बाहिरबाट ताल्चा लगाइएको थियो।
उनको कानको गहना पनि चक्कुले काटेर लगिएको अवस्था थियो। अहिलेसम्म पनि उक्त घटनामा कसको हात थियो भन्ने खुल्न सकेको थिएन।
एउटै गाउँमा एकै प्रकृतिका दुई घटना घटेको हुँदा आइतीको हत्या प्रकरणमा पनि कतै सृजनाकै हात त छैन भनेर प्रहरीले अनुसन्धान थाल्यो।
अनुसन्धानका क्रममा १८ वर्षको उमेरमै सृजनाले आइतीको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले सेतोपाटीलाई बताए।
‘अनुमानका आधारमा थालेको आइती हत्याकाण्डमा पनि अहिले आएर सृजनाको संलग्नता पुष्टि भएको छ,’ भट्टराईले भने, ‘त्यतिखेर सृजनाले पाँच हजार लिएको सापटी नतिर्नका लागि आइतीको हत्या गरेको तथ्य स्वीकार गरेकी छन्।’
सापट दिँदा आइतीले सृजनालाई छोराले एसएलसीको परीक्षा दिएको र परीक्षाफल प्रकाशित भएकै दिन लगेको सापटी रकम दिनुपर्ने सर्त राखेकी थिइन्। संयोग त्यस्तै पर्यो। आइतीबाट सृजनाले रकम सापटी लगेकै दिन परीक्षाफल प्रकाशित भयो।
सर्त पूरा गर्न सक्ने अवस्थामा सृजना थिइनन्। त्यसैले उनको मनमा गलत सोच पलायो। त्यतिखेर फुटबलको महाकुम्भ विश्वकप चलिरहेको थियो। सृजनाका श्रीमान र उनका दाजु माथिल्लो तलामा बसेर विश्वकप हेर्दै थिए।
सृजना त्यतिखेर आफ्नो घरदेखि सुटुक्क निस्किइन्। झन्डै आठ महिनाकी छोरी बोकेर चार पाँच मिनेको दूरीमा रहेको आइतीको घरमा पुगिन्। साँझको पाहुना देउता समान। त्यसमा पनि छिमेकी। उनले सहजै ढोका खोलेर बास दिइन्। जसै सृजना आइतीको घरमा पुगिन् पानीसहित हावाहुरी चल्न सुरू भयो। आइतीले हावापानी, हावाहुरी सुरू भएको हुँदा आफ्नै घरमा सुत्न सृजनालाई आग्रह गरिन्। आइती भुइँ तल्लामा बस्थिन्। एलएलसी दिएका छोरा माथिल्लो तलामा। आइतीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा थिए। भुइँ तलामै भान्सा थियो।
एउटै कोठामा आइती खाटमा र सृजनाका आमा-छोरी भुइँमा कपडा बिच्छाइ दिइन् र सुते। जोडले हावाहुरी चलिरहेको थियो। कसैले सुन्दैन भन्नेमा सृजना ढुक्क भइन्।
सृजनाले सुत्नुपूर्व नै खाटमुनि राखिएको बञ्चरो, कोदालो मात्रै हैन सोही कोठामा राखिएको काठको पिर्कासमेत राम्रोसँग नियालेकी थिइन्।
सुतेको केहीबेरमै आइती र सृजनाका छोरी गहिरो निन्द्रामा परे। छुट्टै योजना बुनेकी सृजना निदाउने कुरै भएन। आइती गहिरो निन्द्रामा परेको महसुस गरी सुतेको एक घन्टापछि सृजनाले काठको पिर्काले एकाएक आइतीको टाउकोमा प्रहार गरिन्। आइती धन्मनाउँदै उठेर सृजनासँग जाइलाग्न थालिन्। त्यतिबेला सृजनाले खाट मुनिबाट बञ्चरो निकालेर आइतीमाथि जथाभावी प्रहार गरिन्। कोदालोले पनि त्यसैगरी आक्रमण गरिन्।
त्यो आक्रमणपछि आइती केही चल्मलाउन छोडिन्। उनको प्राण पखेरु उडिसकेको थियो। हत्यापछि सृजनाले आइतीको कानमा लगाएका एक/एक तोलाका सुनका गहना चक्कुले काटिन्। निदाइरहेकी आफ्नी छोरीलाई बोकिन्। ताला खोजेर आइतीको घर बाहिरबाट लगाइदिइन्।
डिएसपी भट्टराईका अनुसार सृजनाले त्यसपूर्व आफ्नी जेठानी दिदीको सुन बन्धक राखेर १५ हजार रुपैयाँ सुन पसलबाट झिकेकी थिइन्। एक महिना फिर्ता सुन निखन्ने सर्तमा सुन पसलेले पैसा दिएका थिए।
तर डेढ महिना बितिसकेको थियो। त्यसमा पनि सृजनाले आइतीसँग थप पाँच हजार ऋण लिएपछि २० हजार पुग्यो। उनको मनमा अब त्यो ऋण कसरी तिर्ने? भन्ने प्रश्न थियो। त्यसैले सृजनाले मनमनै पाँच हजार तिर्नुभन्दा आइतीको हत्या गर्ने योजना बुनेको प्रहरी बताउँछ।
प्रहरीका अनुसार सृजना मुटुकी रोगी पनि थिइन्। चिकित्सकले पहिले नै सृजनालाई स्वास्थ्यको कारण देखाउँदै बच्चा नजन्माएकै राम्रो हुन्छ भन्ने सल्लाह दिएका थिए। तर, सृजनाले छोरीलाई जन्म दिइसकेकी थिइन्। आफू लामो समय बाँच्नका लागि जसरी पनि उपचार गर्नुपर्छ भन्ने सृजनाको मनमा थियो। जेठानी दिदीको सुन निखन्न र आफ्नो उपचार गर्नका लागि सृजनाले आइतीको हत्या गरेकी हुँ भनेर बयान गरेको डिएसपी भट्टराईले बताए।
हत्यापछि सृजनाले आइतीको सुन स्थानीय सुन पसलमा गालेर बेचिन्। जेठानी दिदीको सुन राखेर निकालेको १५ हजार पनि तिरिन्। त्यसको केही समयपछि सृजना बाँकेको नेपालगञ्ज गएर आफ्नो स्वास्थ्य चेकअप गराइन्। चिकित्सकले मुटुमा त्यस्तो कुनै समस्या छैन भनेपछि बल्ल ढुक्क भइन्।
आफूले गरेको अपराधको पाँच वर्ष पूरा हुँदा पनि कसैले सुइँको नपाएको हुँदा सृजना दंग थिइन्। उनको मनमा आफू एक्लैले गरेको आइतीको हत्या अब कसैले थाहा पाउँदैन भनेर ढुक्क जस्तै थिइन्। त्यही कारण उनी अर्को अपराध गर्न हौसिएको डिएसपी भट्टराई बताउँछन्।
१८ वर्षकै उमेरमा आइतीको हत्या गर्दा सृजनाको परिवारमा चरम गरिबी थियो। उनका श्रीमानको कुनै रोजगारी थिएन। तर, यतिखेर सृजनाका श्रीमान खाद्य उद्योगमा परिचरको काममा छन्।
सृजनाले खाद्य उद्योगमा श्रीमान परिचरको रूपमा रहेको लाभ उठाउँदै त्यहाँबाट केही सस्तोमा खाद्यान्न ल्याई स्थानीय व्यक्तिहरूलाई केही फाइदा खाएर बेच्ने गर्थिन्। त्यस्तो व्यापार गरेयता उनलाई फलिफाप भएन। बरू उल्टै दुई लाख ऋण लागि सकेको थियो। विभिन्न व्यक्तिहरूसँग कपडा किन्दा लागेको ऋण तिर्न नसकेपछि उनले कतिलाई त्यही खाद्यान्न दिएर ऋण चुक्ता गरेको तथ्य खुलेको प्रहरी बताउँछ।
पछिल्लो समय लागेको दुई लाख ऋण कसरी तिर्ने? सृजनाको मनमा चिन्ता थियो। परिचर श्रीमानको एक्लो कमाइले घर खर्च चलाउन मुस्किल थियो। उनले फुटकरमा गरेको व्यापार घाटमा जाँदा झनै तनाव हुने नै भयो।
आइतीको हत्याबाट हौसिएकी सृजना दुई लाख ऋण निखन्ने उत्तम विकल्प हस्तकली बुढाथोकीको हत्या नै हो भन्ने गलत धारणा बन्यो।
घटना गराउनु भन्दा पहिला सृजनाले पहिला योजनाबद्ध रूपमा टार्गेट पहिचान गर्ने गरेको प्रहरी बताउँछ।
हस्तकलीका श्रीमानको मृत्यु भइसकेको थियो। दुई छोरामध्ये एक जना जापानमा बस्थे भने अर्का अध्ययनका लागि बाँकेको नेपालगञ्जमा। सृजनाले हस्तकलीको कान, घाँटी र हातका औंलामा लगाएका सुनका गरगहना नियाल्दै आएकी पनि थिइन्।
ती देख्दा सृजनाको मनमा पाप जाग्थ्यो। हस्तकलीको हत्या गर्ने योजना त्यही भएर सृजनाले बुनेको प्रहरी बताउँछ। सुन लुट्ने सोचका साथ साउन १८ गते रातिमा छिमेकी समेत रहेकी हस्तकलीको घरमा सुटुक्क पुगिन्। हस्तकली घरमा एक्लै बस्थिन्। उनको घरमा पुगेर सृजनाले हस्तकलीलाई उठाइन्।
सँगै खाएर रमाइलो गरौं भन्ने मनसायले आफू मदिरा लिएर आएको सृजनाले हस्तकलीलाई बताइन्। त्यो कुरा हस्तकलीले सहज रूपमा लिइन्। सधैं एक्लैको नियास्रो मेट्ने साथी आउँदा हस्तकलीलाई खुसी लाग्ने नै भयो।
डिएसपी भट्टराईका अनुसार घटनास्थलमा एउटा मदिराको रित्तो गिलास र अर्को आधा गिलास फेला परेको थियो। सृजनाले आफूले खाएको नाटक गरे पनि रक्सी थोरै मात्रै खाइन्। हस्तकलीले बढी खाइन्। उनले आफ्नो भागको रक्सी सिध्याइन्। जब मदिरा लागेको सृजनाले अनुभूति गरिन् नजिकै रहेको ढुंगो (लोरो) उठाएर हस्तकलीको टाउकोमा एकाएक हिर्काइन्। हस्तकली पीडा खप्न नसकेर लडिन्। सृजनाले छोडिनन्। फेरि फेरि हिर्काइन्। जब हस्तकली स्थिर बनिन् अनि सृजनाले कान र हातका सुनका गरगहना निकालिन्। बाहिर निस्कँदा हस्तकलीको घरमा बाहिरबाट ताला लगाइन्।
हस्तकलीको हत्या भएको स्पष्ट देखेपछि प्रहरीले बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको प्राविधिक टोली झिकाएर अनुसन्धान थाल्यो। पत्ता लाग्न सकेन। यो घटना नजिककै र चिनजानकै मान्छेले गरेको हो भन्ने कुरामा प्रहरी विश्वस्त थियो। गाउँका एक/एक मानिसहरूलाई सोधपुछ गर्न थाल्यो।
त्यही क्रममा सृजनालाई पनि प्रहरीले सोधपुछका लागि बोलायो। केही प्रश्नमै सृजना हडबडाइन्। सृजनाले हस्तकलीको हत्या आफूले गरेको साबिती बयान प्रहरी समक्ष गरिन्।
हत्यापछि सृजनाले लुटेर लगेका हस्तकलीको मोबाइल र गालेर स्थानीय सुन पसलमा बेचेका गरगहना पनि बरामद गर्न सफल भएको डिएसपी नमराज भट्टराईले बताए।
हत्या गरिएका दुबै छिमेकी महिलाका गहना सृजनाले खलङ्गा बजारमा रहेका दुई वटा सुनचाँदी पसलमा बेचेको तथ्य प्रहरीले पत्ता लगाउन सफल भयो।
रूकुमका दुई जिल्लामा पछिल्लो केही समययता सुन लुट्नका लागि भएका हत्याका श्रृंखला अत्यासलाग्ने खाले छन्।
‘महिलाले महिलाको हत्या र किशोरीले दुई दिदी बहिनीको हत्या त्यो पनि सुनका गरगहना लुट्नका लागि गरे होलान् भन्ने सुरूमा पत्याउनै मुस्किल पर्ने खाले घटना भएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर आइतीको हत्या भएको पाँच वर्षसम्म पनि सृजनामाथि कसैले शंका गर्न नसकेको हो।’
यो पनि: सुन लुट्न छिमेकी महिलाले नै गरेकी थिइन् हस्तकलीको हत्या
यसरी पक्राउ परेका थिए रिना र कालीमायाको हत्याका आरोपित दुई किशोरी