६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार रोक्कालाई पक्राउ गरेको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो।
उनी सुन तस्करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।
रोक्काको माओवादीका नेताहरूसँग निकटता रहेको खुलेको थियो। उनको सम्बन्ध माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनसँग समेत भएको भन्दै समाचारहरू आएका थिए। वर्षमान पुनसँगको बसेर गरेको डिनरको फोटो चर्चित पनि छ।
अमलासँग पारिवारिक नाताबाहेक अरू सम्बन्ध नरहेको उनीहरूले बताउँदै आएका थिए।
रोक्काले ठमेलको भियना होटल पनि सञ्चालन गर्थिन्। प्रहरीले सुन तस्करीको छानबिन गर्दा उक्त होटलमा पटकपटक छापा मारेको थियो।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।
भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो।
उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो। पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो।
दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो।
विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो। सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भएपनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो।
दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर श्रीमती रोक्का भने फरार भइसकेकी थिइन्।