चमचम चम्किने ताराजस्ता मिसाइलको ओहोरदोहोरले आकाश जति बेलै भर्भराउँदो देखिन्थ्यो। त्यसैबीच नियमित अन्तरमा बजिरहने साइरनले घरि घरि बंकरतिर दौडाउँथ्यो।
वरिपरि सन्नाटाको साम्राज्य थियो। मान्छे घरघरै थुनिएका थिए। बजार, पसल सबै ठप्प।
केही अघिसम्म व्यस्त देखिने सडक मुर्दाशान्तिमा परिणत भइसकेको थियो।
र्याइँर्याइँ आवाज निकालेर बज्ने साइरनको एकोहोरो कर्कश ध्वनिले यस्तरी अत्याउँथ्यो, अब सबथोक सकिएजस्तो हुन्थ्यो।
यस्तोमा धर्ती र आकाश एकैपटक थर्किने गरी विष्फोटको आवाज आउँदा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई जीवनको अन्तिम दिन यही रहेछ भन्ने लाग्थ्यो।
'इसराइलले इरानमाथि हमला गरेको तत्कालै थाहा भइहाल्यो, अब के होला भन्ने डर त्यस बेलै सुरू भयो,' विराटनगरका केही पत्रकारसँग शुक्रबार दिउँसो महानगर कार्यालयमा कुरा गरिरहँदा मेयर कोइरालाको अनुहारमा नयाँ जीवनको खुसी प्रस्ट झल्किन्थ्यो।
अहिले उनको मोबाइलमा आइरहने फोनकलमा नयाँ जीवन पाएर सुरक्षित रूपले नेपाल आइपुगेको भन्दै बधाई सन्देशको बाढी छ।
जबाफमा उनी 'हस् धन्यवाद! यसपालि बाँचेर आइयो' भन्दै फोन राख्थे।
फोनकल सकिएपछि हामीसँगको कुराकानी फेरि अघि बढाउँथे।
उनको कार्यकक्षमा भेट्न आउनेहरुको ताँती उस्तै बाक्लो थियो। तीमध्ये केही नगरकै काम लिएर आएका हुन्थे। धेरैजसो चाहिँ उनी सकुशल नेपाल फर्केकोमा बधाई दिन आएका थिए। सर्वसाधारणदेखि उनको दल कांग्रेसका नेता–कार्यकर्ता, सबैबाट उनी शुक्रबार दिनभर कार्यकक्षमा घेरिए।
अघिल्लो बिहीबार इसराइलले इरानमाथि हमला गर्दा मेयर कोइराला इसराइलको सफाइमस्थित एउटा सहकारीले चलाएको होटलको तेस्रो तलामा थिए।
सहकारी, कृषि र सहरी व्यवस्थापनको इसराइली मोडलबारे अध्ययन भ्रमणका लागि जेठ २६ को राति उनी तेलअभिभ पुगेका थिए। त्यही रात उनी सफाइमतिर लागेका थिए। भोलिपल्टबाट त्यहाँ उनको कार्यक्रम सुरू हुँदै थियो।
तेलअभिभबाट ३० किलोमिटर दुरीमा रहेको सफाइमको एउटा होटलमा तीन दिन र रात आनन्दले बित्यो। बिहान कक्षामा बस्ने, दिनभरि सहकारी र त्यहाँको कृषि क्षेत्र घुम्ने व्यस्त तालिका थियो।
विराटनगरमा व्यावसायिक रूपले आँप तथा अन्नबालीहरूको खेतीपाती गर्दै आएका मेयर कोइराला मध्यपूर्वको त्यो रेगिस्तानमा फस्टाएको खेतीपाती देखेर चकित थिए। जता हेर्यो उतै बालुवा मात्र देखिने इसराइलमा फूल होस् या अन्न, फलफूल होस् या तरकारी; सबै लटरम्मै देखिन्थे।
'त्यो देख्दा हामीले कृषिमा किन उन्नति गरेनछौं जस्तो लाग्थ्यो,' उनले सम्झिए, 'म त हेरेरै लोभिएको थिएँ।'

उनी इसराइल पुगेको चौथो दिन हुँदै थियो। इरानले आणविक हतियार बनाइरहेको निहुँमा इसराइल जाइलाग्यो। इसराइलले इरानको आणविक हतियारको भट्टी र सैन्य अखडामा निशाना साँधेपछि इरानी सेनाका उच्च तहका कमान्डरहरूले नै ज्यान गुमाए। लगत्तै इसराइलले आपतकाल लागू गर्यो।
जसै इसरायली सरकारले यस्तो कदम चाल्यो, विराटनगरबाट त्यहाँ पुगेका मेयर कोइरालाको तनाव शृंखला सुरू भयो।
'बाँचेर घर फर्कन पाउँछु भन्ने त कुनै बेला पनि लाग्दै लागेन,' नौ दिनको इसराइल बसाइमध्ये पछिल्ला पाँच दिन अकल्पनीय तनावयुक्त रहेको सुनाउँदै उनले भने, 'भगवान् कसम, मलाई जति बेलै पनि अब मरिने भयो भन्ने लाग्थ्यो। आकाशमा मैले एकैचोटि त्यति धेरै तारा देखेको थिइनँ, जति मिसाइलहरू देखेँ। जति बेलै विष्फोट अनि मान्छेहरूको अफरातफरी देखेर हरेस खाइसकेको थिएँ।'
इसराइलमा आपतकाल सुरू भएपछि उनलाई त्यहीँका सरकारी अधिकारीहरूले सूचना दिए — अब भ्रमण कार्यक्रम रोकियो। कक्षाहरू भने भर्चुअल माध्यबाट हुनेछन्।
त्यसो भनेसँगै मेयर कोइराला र उनको साथमा रहेका फिलिपिन्सका जनप्रतिनिधिहरूलाई सुरक्षा प्रोटोकलबारे बताइयो।
'सबभन्दा पहिले मोबाइलमा 'होम फ्रन्ट कमान्ड' नामको सफ्टवेयर इन्स्टल गर्न लगाइयो,' मेयर कोइरालाले युद्धग्रस्त क्षेत्रमा बिताएका दिनको अनुभव सुनाए, 'त्यो सफ्टवेयर मोबाइलमा चल्न थालेपछि संकेत र सन्देशहरू आउन थाल्दा रहेछन्।'
इरानले इसराइलतिर लक्ष्य गरेर मिसाइल हमला गर्नासाथ मोबाइलमा संकेत र सन्देशहरू आउने गरेको उनले सुनाए।
'इरानबाट मिसाइल छुट्नासाथ मोबाइलमा अलर्ट आइहाल्दो रहेछ,' कोइरालाले भने, 'त्यसपछि सबै जना तयार भएर बस्नुपर्ने रहेछ। त्यो मिसाइल जमिनमा आइपुग्नुभन्दा ९० सेकेन्डअघि मोबाइलमा फेरि संकेत र सन्देश आउने रहेछ। त्यही बेला सहरै थर्काउने गरी साइरन बजिहाल्दो रहेछ। त्यसपछि चाहिँ बंकरतिर दौडिनुपर्दो रहेछ।'
उनी होटलको तेस्रो तलामा बसेका थिए। साइरन बज्नासाथ बंकरमा पस्न भुइँतलामा आउनुपर्थ्यो। केही वर्षयता बनेका घर र भवनहरूमा भने सकेसम्म कोठैपिच्छे, नभए पनि हरेक फ्ल्याटमा बंकर अनिवार्य गरिएको उनले बताए।
'म बसेको होटलमा भने भुइँतलामा मात्र बंकर रहेछ,' उनले भने।
उनका अनुसार पहिलोपटक खतराको साइरन राति बजेको थियो। उनी हाफपाइन्ट र गन्जी लगाएर सुत्ने तर्खर गर्दै थिए। साइरन बज्नासाथ भुइँतलामा रहेको बंकरतिर दौडिए।
'मोटो ज्यान दौडिन सक्दिनँ होला जस्तो लाग्थ्यो। तर धेरै फिलिपिनो साथीहरूभन्दा अगाडि नै दौडेर बंकरभित्र छिरिसकेको हुन्थेँ,' उनले भने, 'ज्यानको माया भएपछि शरीरको वजनले केही नगर्दो रहेछ!'
करिब १० देखि १५ मिनेट बंकरमा बसेपछि सबैको मोबाइलमा एकैपटक अब बाहिर निस्कन सक्ने सन्देश आउँथ्यो।
त्यसपछि उनीहरू बाहिर निस्कन्थे।
विराटनगरका मेयर नागेश कोइरालाले इसराइलको बंकरभित्र खिचेको तस्बिर।
'इसराइल बसुञ्जेल ८० देखि ९० पटक बंकरमा पसियो होला। सुरू सुरूमा त गनेको थिएँ, पछि गन्नै छाडिदिएँ,' उनले भने, 'एकपटक बंकरभित्रै बसेका बेला भुइँचालोले भन्दा बढ्ता हल्लाउने गरी विष्फोट भयो। त्यस बेला त बाँचिन्न होला जस्तो डर लागेको थियो।'
उनले इसराइलमा फसेकै बेला सेतोपाटीसँग कुरा गरेका थिए। त्यस बेला आफू निश्चिन्त रहेको बताएका थिए। इसराइली प्रतिरक्षा प्रणालीप्रति विश्वस्त रहेको भनेका थिए। यसबारे सोध्दा उनले 'घरपरिवार नआत्तिऊन् भनेर आफ्नो डर लुकाएको' बताए।
'घरमा पाको उमेरको आमा हुनुहुन्छ, परिवारका सबै सदस्य छन्,' नागेशले कारण खोले, 'परिवारका सबैको नजर टिभी र सञ्चारमाध्यममै थियो। अनि उहाँबाट डर लागेको छ भनेर कसरी भन्नु? जे भए पनि बाँचेर आइयो, त्यही ठूलो कुरा भयो।'
युद्ध सुरू भएपछि इसराइल ठप्प हुँदा आकाशमा मिसाइलको मात्र ओहोरदोहोर देखेको उनले सुनाए। यस्तो अवस्थामा सँगसँगै रहेका इसराइली नागरिकहरूसँग उनको कुरा हुन्थ्यो। उनीहरूको आत्मविश्वास देखेर भने आफूलाई छक्कै लागेको उनले बताए।
'हामीलाई संसारको कसैले पनि क्षति गर्न सक्दैन भन्दा रहेछन् उनीहरू,' मेयर कोइरालाले थपे, 'हामी संसारका जसलाई पनि भ्याइदिनसक्छौं भन्थे। घरि घरि बंकरमा छिर्दै, निस्कँदै गर्दा पनि उनीहरू त्यसलाई सामान्य रूपमा लिन्थे। कतिसम्म भने, बन्दुक बोकेर बसेका सुरक्षाकर्मीहरू पनि बंकरमै आएका हुन्थे। हामीसँगै बाहिर निस्कन्थे।'
कोइरालाका अनुभवमा त्यहाँको बंकर कुनै स्टार होटलको सुविधायुक्त कोठाभन्दा कम थिएन।
'एसी छ, बेडहरू छन्, खानेकुरा प्रशस्तै छन्,' उनले भने, 'यत्ति हो, बंकर भनिने ठाउँमा सबै जना लहरै सुत्ने र बस्ने गर्नुपर्दो रहेछ। बाँकी सुविधा चाहिँ धेरै हुँदो रहेछ।'
उनले अगाडि भने, 'इसराइलमा बन्ने घर, भवनहरू, सडक वा अन्य पूर्वाधार, सबैमा जतासुकै बंकर अनिवार्य गरिएको रहेछ। तपाईं जहाँ उभिएको वा बसेको भए पनि त्यहाँबाट डेढ मिनेटको दुरीमा कुनै न कुनै बंकर उपलब्ध हुने रहेछ। सधैंभरी कुनै न कुनै युद्धमा होमिइरहने भएर होला, इसराइलका लागि बंकर आधारभूत सर्त नै रहेछ। होइन भने कुनै संरचना बन्नै नपाउने रहेछ।'
युद्धले उनी इसराइलमा फसेका बेला नेपालबाट जाने भनिएको टोली जान पाएन। त्यस बेला उनलाई इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले एक्लोपन महसुस हुन दिएनन्।
'उहाँ आइरहनुभयो, भेटिरहनुभयो,' उनले भने, 'दूतावासको सक्रियताकै कारण जोर्डन हुँदै नेपाल आउन सम्भव भयो।'
विराटनगरका मेयर नागेश कोइराला र इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित। तस्बिर स्रोत: नागेश कोइराला
उनलाई सोमबार साँझ जोर्डनको भिसा प्राप्त भएको सूचना नेपालको दूतावासले दिएको थियो। मंगलबार बिहान ६ बजे नै राजदूत पण्डित उनलाई लिन होटल पुगेका थिए। त्यहाँबाट उनी राजदूतकै गाडी चढेर तेलअभिभ पुगे। त्यहाँ भारतीय नागरिकको एउटा ठूलै टिम थियो। उनीहरूसँगै स्थल मार्गबाट जोर्डन जानु थियो। राजदूत पण्डित कोइरालालाई बसमा चढाएर विदा भए। बस अघि बढ्यो।
'त्यही बेला एक जना भारतीय नागरिक छुटेको खबर आयो, अनि बस तेलअभिभ नै फर्कियो,' मंगलबार बिहानको घटना सम्झँदै उनले भने, 'हामी बसमै थियौं, फेरि साइरन बज्यो। बसबाट ओर्लेर सबै बंकरभित्र पस्यौं। बाटोमा पनि जतासुकै बंकरको सुविधा रहेछ। त्यसपछि निस्केर जोर्डनतिर अघि बढ्यौं।'
बस तेलअभिभबाट हिँडेको आधा घन्टा हुँदै थियो, बाटोमा फेरि साइरन बज्यो। त्यहाँ पनि उनीहरू बसबाट ओर्लेर बंकरमा छिरे। केही बेरमा निस्कने सूचना आएपछि बाहिर आए।
'दुई घन्टा जतिमा बसले जोर्डन सीमामा पुर्यायो, त्यहीँ दुईपटक बंकर पस्नुपर्यो,' उनले भने, 'इसराइल छाडेर जोर्डन भूमिमा पुगेपछि चाहिँ अब बाँचियो जस्तो भयो।'
कोइरालाका अनुसार इसराइल र जोर्डन सीमामा बसभित्र तीन घन्टा बिताउनुपरेको थियो। त्यहाँबाट जोर्डनको राजधानी अम्मन पुगेर जहाजमा कुवेत र कुवेतबाट भारत हुँदै बिहीबार काठमाडौं आइपुगे।
त्रिभुवन विमानस्थलमा ओर्लेपछि आफूलाई भक्कानो छुटेको मेयर कोइरालाले सुनाए।
'एयरपोर्टमा ओर्लेपछि सकुशल घर आइपुगेँ भन्ने भयो,' उनले भने।
कृषि र सहकारीबारे बुझ्न इसराइल गएका उनी लक्ष्य पूरा नगरी फर्कन बाध्य भए। अब फेरि अवसर पाए त्यता जाने कि नजाने? हाम्रो यो प्रश्नमा उनले हाँस्दै भने, 'त्यहाँ पनि सधैं सधैं त यस्तै अवस्था नरहला नि! राम्रो अवस्था हुँदा अवसर पाए जाने नि, किन नजाने!'
***