आइतबार बिहान घरनजिकै मकै बारीमा घाँस काट्न भनेर गएकी सल्यानको शारदा नगरपालिका-१४ की ४५ वर्षीया प्रमिला गिरीका हत्यारा तीन दिन बितिसक्दा पनि फेला परेका छैनन्।
प्रमिला घर नर्फिएपछि श्रीमान खड्गबहादुर गिरी बिहान दस बजेतिर खोज्न जाँदा मकैबारीमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला पारेका थिए। सूचना पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।
सल्यानका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) दामोदर केसीका अनुसार प्रमिलाको हत्या घर परिवारभित्रकै व्यक्तिबाट भएको हो ।
‘नाताले जेठाजु पर्ने ती व्यक्ति फरार छन् र चौतर्फी खोजी भइरहेको छ,’ डिएसपी केसीले भने ‘लगातारको वर्षा र वन जंगलका कारण केही समस्या भइरहेको छ।’
प्रर्मिला र उनका श्रीमान खड्गबहादुरबाट सन्तानको रूपमा तीन छोरी छन्। दुइ छोरीको बिहे भइसकेको छ भने कान्छी १५ वर्षीया छोरी साथमै छिन्।
नजिकका आफन्तबाट सम्पत्ति हत्याउने लालचका कारण प्रमिलाको हत्या भएको हुन सक्ने पूर्वानुमान गर्ने आधारहरू प्रसस्त देखिएको प्रहरी प्रमुख केसीले बताए ।
‘नजिकको आफन्तबाट सम्पत्तिको लालचका कारण प्रमिलाको हत्या भएको देखिन्छ,’ डिएसपी केसीले भने ‘यसका छोरी मात्रै छन्, छोरा छैनन् प्रमिलाको हत्या गरे सम्पत्ति सबै हात पर्छ भन्ने सोच पालेको हुन सक्छ।’
प्रमिलाको हत्यामा संलग्न व्यक्तिका बारेमा भने डिएसपी केसीले थप खुलाउन भने चाहेनन्। डिएसपी केसीका अनुसार हाल फरार रहेका व्यक्तिले यसअघि पनि प्रमिलाको हत्या प्रयास गरेको थिए।
यसअघि उनले प्रमिलामाथि खुर्पा प्रहार गरेका थिए। उनी ६ महिनाअगाडि मात्रै एक लाख बढी धरौटी बुझाइ तारेखमा छुटेका थिए। उनका विरूद्धमा अदालतमा मुद्दा विचाराधीन रहेको प्रहरीले बताएको छ।
यो पनि-
घाँस काट्न गएकी प्रमिलाको हत्या