तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले अस्थायी डम्पिङ साइटको विकल्प खोज्नुपर्ने बताएका छन्।
सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको अस्थायी डम्पिङ साइटमा फोहोर फाल्ने कामलाई निरन्तरता दिए दाङ एयरपोर्ट चलाउन नसकिने बताएका हुन्। निर्वाचित भएको एक वर्ष ४ महिनापछि उनले पहिलो पटक पत्रकार भेटघाट गरेका हुन्।
उनले भेटको क्रममा उक्त डम्पिङ साइटको विकल्प खोजिरहेको बताए।
केही वर्षदेखि तुलसीपुर उपमहानगरको फोहोर टारिगाउँ एयरपोर्टको पूर्वतर्फ र महेन्द्र माध्यामिक विद्यालयको पश्चिमतर्फको चिरोमा फाल्दै आएको थियो।
‘त्यो अस्थायी डम्पिङ साइट हो र स्थायी डम्पिङ साइटको खोजी भइरहेको छ,’ उनले भने, ‘अब पनि निरन्तर त्यहीँ फोहोर फालिरहने हो भने दाङ एयरपोर्ट चल्न सक्दैन।’
यसअघि उपमहानगरले फोहोर व्यवस्थापनका लागि तुलसीपुर-१३ को फूलबारी क्षेत्रको जंगलमा जग्गा किनेको थियो। तर स्थानीयले त्यहाँ फोहोर लैजान नदिएपछि अहिले छाडा चौपाय व्यवस्थापन गर्न गौशाला संचालन गरिएको छ।
स्थानीयले प्रतिकार गरेकाले कसैले फोहोर फाल्ने आँट गर्न नसेको मेयर खड्का बताउँछन्।
उनका अनुसार अहिले वडा नम्बर १९मा व्यक्तिको साढे ४ बिगाह जग्गा २० वर्षका लागि भाडामा लिने गरी छलफल भइरहेको छ।
तुलसीपुर-१६ का स्थानीयले साढे ३ बिगाह सार्वजनिक जग्गामा स्थायी रूपमा फोहोर व्यवस्थापनका लागि लिखित सहमति दिएको हुँदा त्यसबारेपनि अध्ययन भइरहेको उनले बताए।
उपमहानगरले अस्थायी डम्पिङ साइटमा फोहोर फाल्नुअघि पाखुतोला बगरमा खाल्डो खनेर पुरेको थियो। अहिले फोहोर व्यवस्थापन चुनौती बनेको भन्दै मेयर खड्काले दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने प्रयास भइरहेको बताए।
अस्थायी डम्पिङ साइटमा फोहोरबाट कम्पोष्ट मल उत्पादन थालिएको छ। तर मापदण्ड अनुसारको मल उत्पादन नभएकोबारे भने प्राविधिकलाई झिकाएर समाधानका लागि पहल भइरहेको बताए।
त्यसैगरी ‘स्मार्ट छोरी’ कार्यक्रम बन्द गर्न खोजेको भन्दै मेयर खड्काको आलोचना भएको थियो। उनले उक्त कार्यक्रमलाई रोक्न नखोजेको बताए।
‘त्यसबारे हामीले छलफल गर्दै थियौं, त्यो बहस सडकमा गएर छताछुल्ल भएपछि समस्या भएको हो,’ उनले भने, ‘हामी गरिबलाई परिचय पत्र बाँडेर त्यहीअनुसार मापदण्ड बनाएर अगाडि बढ्न खोजी रहेका थियौं।’
हालसम्म अन्तर्गत १०४० जना छोरीहरूका लागि ११ लाख ४० हजार भुक्तानी गरिसकेको भन्दै उक्त कार्यक्रमले निरन्तरता पाउने बताए।
हुनेखानेहरूले पनि उपचारका नाममा सहयोग माग्न आएको भन्दै उनले त्यसलाई व्यवस्थित गर्न खोजेको बताए।
तुलसीपुरमा शान्ति सुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्न प्रहरीले सिसिटिभी जडान गर्न माग गरेपनि त्यसलाई पूरा गर्न नसकेको उनले बताए।
तुलसीपुर बसपार्कमा तीन वटा र बजारका अन्य भागमा दुई वटा हाइमास्क लाइटहरू राख्नेबारे पनि छलफल भइरहेको उनले जानकारी दिए। बजारमा पार्किङको समस्या समाधान गर्न कार्यविधि बनाएर स्थानीय क्लबलाई जिम्मा दिनेबारे छलफल भइरहेको पनि उनले बताए।
त्यसैगरी तुलसीपुर उपमहानगरले लिएको ऋण पनि कम हुँदै गएको उनले बताए। अघिल्लो वर्ष उपमहानगरको ऋण ४२ करोड बढी थियो। अहिले २५ करोडमात्रै बाँकी रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।
मेयर खड्काले बजेट बाँडफाँटका विषयमा पनि प्रष्ट्याएका थिए। उनले ऋणका कारण धेरै बजेट दिन नसकिएको बताए।
‘घाटा बजेट दिएर लोकप्रियता कमाउन तिर म लागिनँ,’ उनले भने, ‘त्यही भएर गत वर्ष भन्दा कम बजेट दिइएको हो।’
आगामी वर्षसम्म सबै ऋण चुक्ता गर्न सके फेरि वडाहरूलाई बजेट पहिलैकै जति दिन सकिने उनले बताए।
उपमहानगरले १७ लाख पुँजीगत र १८ लाख भइपरी आउने शीर्षकमा वडालाई बजेट दिएको छ। थोरै बजेट दिएको भन्दै वडाध्यक्षहरू असन्तुष्ट छन्।
तर राजश्व संकलनमा वृद्धि भए हिउँदै अधिवेशनमा वडालाई थप बजेट दिन सकिने मेयर खड्काले बताए। उनले गत वर्षको तुलनामा चार प्रतिशत बढी राजश्व संकलन भएको पनि बताए।
एक वर्षमा २८ करोड राजश्व संकलन भएको उनले बताए। त्यस अवधिमा १७ किलोमिटर बाटो कालोपत्रे समेत गरिएको उनले बताए।
उनका अनुसार नगरपालिकाको लगानीमा ७१ जना विपन्न परिवारका छोरीहरूलाई उच्च शिक्षा तह दिइएको छ।