तुलसीपुरको कमलपोखरीमा २०७४ सालसम्म टन्न पानी हुन्थ्यो। साउनको महिना स्थानीय थारू समुदायका मानिस यो तालमा घोङ्गी खोजिरहेका हुन्थे। पुस-माघमा पानी कम हुँदा उनीहरू प्राकृतिक रूपमा हुर्किएका माछा मार्थे।
वैशाख-जेठमा केही दिन पानी सुके पनि अघिपछि जहिल्यै पोखरी पानीले भरिएको हुन्थ्यो।
अहिले पोखरीमा माछा र घोङ्गी त परको कुरा एक थोपा पानी पनि छैन। झार उम्रिएर पोखरी चौरजस्तो बनेको छ। पोखरीको बीचमा कंक्रिटले बनाइएको रातो कमलको फूल ठिंग उभिएको छ।
माछा, भ्यागुता, घोङ्गीलगायत जीव जनावर बस्ने र आसपासका वस्तुभाउले पानी खाने कमलपोखरीलाई अहिले सुख्खा चौर हुनुका पछाडि सरकारी योजनाको हात छ। पोखरीमा कंक्रिटका संरचना बनाउन डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।
साउनमै पोखरीमा एक थोपा पानी नअडेपछि अहिले तुलसीपुर उपमहानगरपालिकाले गरेको ‘विकास’ माथि नै प्रश्न उठेको छ।
कमलपोखरीको छेउछाउमै हुर्किएका स्थानीय वृद्ध डिल्लीबहादुर डाँगीले राम्रो बनाउने नाममा तालको अस्तित्व समाप्त पार्ने काम भएको भन्दै असुन्तुष्टि जनाए।
तुलसीपुर उपमहानगरपालिका-६ स्थित रजौराको कमलपोखरी बजारदेखि सबैभन्दा नजिकको ताल हो। यो तुलसीपुरको मुख्य बजारबाट डेढ किलोमिटर मात्र टाढा छ।
३६ वर्षअघिसम्म रजौरासहित आसपासका गाउँहरूको पानीको संकट टार्ने यही कमलपोखरी थियो। तुलसीपुर आसपासका रजौरा, गोलौरा, साइखलियान, टरिगाउँ, गरिगैंजस्ता सुख्खा क्षेत्रका गाउँहरूका वस्तु-चौपाया गर्मीका बेला यही तालमा आएर प्यास मेट्थे।
रजौराका दुई तालमध्ये अर्को ताल मान्छेले नुहाउने, लुगा धुनेजस्ता सरसफाइका काममा प्रयोग हुन्थ्यो भने कमलपोखरी वस्तु-चौपायालाई पानी खुवाउन र सिँचाइका लागि।
२०४४ सालसम्म यो पोखरीमा ढकमक्क कमल फूलेका हुन्थे। तालनजिकै घर भएका दीपक न्यौपाने ३६ वर्ष अगाडिसम्म कमलपोखरीमा रातो कमलको फूलले पोखरी ढाक्दा निकै आकर्षक देखिने गरेको सम्झन्छन्।
ती कमलका फूल, फल र जरा आसपासका मानिसहरूले लैजान गर्थे। औषधीका रूपमा न्यौपानेको परिवारले पनि ती कमलका फल र जरा प्रयोग गरेको थियो।
रातो कमल फूल्ने भएकै कारण पोखरीको नाम स्थानीयले कमलपोखरी राखेका थिए।
२०४४ सालपछि गोविन्द रजौरे वडाध्यक्ष बनेको समयमा पोखरी खनेर थप गहिरो बनाइएको हो। त्यही क्रममा कमलको फूलको विनाश भएको न्यौपानेले जानकारी दिए।
रजौराका स्थानीयले ६०/६५ वर्षअघि पानीको संकट टार्न भनेर दुइटा छुट्टाछुट्टै पोखरी निर्माण गरेका थिए। प्राकृतिक रूपमा रहँदासम्म कमलपोखरीमा स्थानीय कुलोबाट पानी जान्थ्यो। क्रंकिट बनाउने क्रममा पानी जाने प्राकृतिक कुलोको मुहान पनि बन्द गरिएको आशंका गरिएको छ।
तुलसीपुरका मेयर टीकाराम खड्काले झनै राम्रो बनाउने सोचका साथ काम भए पनि पोखरीमा पानी नअडिएपछि अब के गर्ने भन्नेबारे सरसल्लाह भइरहेको बताए।
बजारको सबैभन्दा नजिकको पोखरीलाई चिटिक्क पारी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहे पनि पानी नअडिने समस्या आएको उनले बताए।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसमेत गरी साझेदारीको रकमबाट कमलपोखरी निर्माणको काम भएको उनले जानकारी दिए।
‘तुलसीपुर सहरको एउटा सुन्दर तलाउको रूपमा वा पर्यटकीय पार्कका रूपमा विकास गर्ने सोचका साथ काम भएको हो,’ उनले भने, ‘अझै तालमा काम बाँकी रहेको हुँदा पानी रोक्नका लागि केही व्यवस्थापन गर्नु जरूरी छ।’
वर्षामा खोलाको हिलो लेदो राखे पानी रोकिन्छ भन्ने केहीले सुझाव दिएको हुँदा अब त्यसै गर्ने कि के गर्ने भनेर सल्लाह भइरहेको खड्काले जानकारी दिए।
तुलसी टावर निर्माणको क्रममा खनिएको रातो माटो लगेर पोखरीको सतहमा राख्ने योजना अनुरूप केही माटो लगेर थुपारिएको पनि उनले बताए।
‘माटो लगेर सतहमा केही फिलिङ गरी दाबेर पानी अड्याउने प्रयास हुने छ,’ उनले भने,‘भित्र पानीले भरिएको दह र बाहिर वरिपरि विभिन्न फूलहरू रोपेर आकर्षक पर्यटकीय स्थल बनाइने छ।’
तुलसीपुर बजारको नजिकमा त्यस्तो मन भुलाउने ठाउँहरू नभएको हुँदा कमलपोखरीलाई त्यही रूपमा विकास गर्न चाहेको उनले बताए। अझै पनि काम गर्न बाँकी नै रहेको हुँदा थप संरचना बनाएर लक्ष्यअनुसार विकास गरिने उनले जानकारी दिए।
पोखरीको विकासका लागि भनेर हालसम्म तुलसीपुर उपमहानगरपालिका, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालय र तयार नेपालले लगानी गरेका छन।
हालसम्म तुलसीपुरले २५ लाख, कोहलपुर पर्यटन डिभिजन कार्यालयले ४६ लाख ५४ हजार तीन सय ५२ र युएसएआइडीको तयार नेपालले भ्याटसहित ८० लाख पाँच हजार छ सय एक रुपैयाँ लगानी गरिसकेका छन्।
उपमहानगरपालिकाको बजेट स्थानीय उपभोक्ता समितिमार्फत् खर्च भएको दीपक न्यौपानेले जानकारी दिए। यसबाहेक तयार नेपाल र प्रदेश सरकारको बजेटमा टेन्डरमार्फत् निर्माण कम्पनीहरूले काम गरेका हुन्।
तयार नेपालको बजेटमा लोकमणि विल्डर्स घोराहीले काम गरेको निर्माण कम्पनीका प्राविधिक इञ्जिनियर कमल थापाले जानकारी दिए। उनले डिजाइनमा भविष्यमा हाल माटो रहेको तालको बीचको भागमा सोलिङ र पिपिसी ढलान गरी पानी रोक्ने भन्ने रहेको बताए।
तयार नेपालले विपद् जोखिम परियोजनाअन्तर्गत आगलागीजस्ता विपदका समयमा तालको पानी दमकलमा भरेर लैजान सजिलो होस् भनेर लगानी गरेको हो।
तुलसीपुर उपमहानगरपालिकाका विपद शाखाका प्रमुख टोपबहादुर डाँगीले करिब एक बिगाहा क्षेत्रफलमा रहेको कमल पोखरीमा पानी अड्याउन के गर्न सकिन्छ भन्नेबारे विभिन्न कोणबाट छलफल भइरहे पनि के गर्ने भन्ने एकिन भइनसकेको बताए।
‘अहिले सबैको राय बीचमा माटो भरौं भन्ने छ,’ उनले भने, ‘बीचमा बाहिरबाट माटो लगी कुलाको पानीले भर्ने भन्ने मोटामोटी कुरा भएको छ।’
तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले पोखरीमा पानी नअडिएपछि समस्या भएको भन्दै कसरी पानी अड्याउन सकिन्छ भन्ने बारे छलफल भइरहेको बताए।
‘हामीले पनि माथि जवाफ दिन गाह्रो भएको छ,’ उनले भने, ‘त्यत्रो लगानी भएको छ र एक थोपा पानी नहुँदा लाज भइरहेको छ।’
कमलपोखरीको आसपासमा तीन चार वटा पानी बेच्ने डिप बोरिङहरू रहेको हुँदा त्यही कारण पानी सुकेको हुन सक्ने अनुमान भइरहेको उनले बताए।
तुलसीपुर- ६ का वडाध्यक्ष दुजमान भण्डारीले तीन दिनमात्रै आफूहरूले तालको अवलोकन गरेको र अब तालको बीचको भागलाई जोतेर वा हिलो माटो बाहिरबाट ल्याएर राखी पानी अड्याउन प्रयास गर्ने सल्लाह भएको बताए।
इन्जिनियरले आरसिसी ढलान गर्ने सल्लाह दिए पनि तालको प्राकृतिक अवस्था जोगाइराख्न पानी रहने भाग माटोकै रहन दिनुपर्छ भन्ने धेरैको राय रहेको उनले बताए।
प्रदेश सरकारको बजेटमा टिके इञ्जिनियरिङ कन्स्ट्रक्सन सप्लायर्सले काम गरेको थियो। तीन निकायको एक करोड ५१ लाख ५९ हजार ९ सय ५३ रुपैयाँले पोखरीको भित्री वाल, भर्याङ, वालको प्लाष्टर, कम्पाउन्ड, पर्खाल, कमल फूलको प्रतिमा र फूटपाथ निर्माण गरिएका छन्।
योजनाअनुसार कमलपोखरीको काम अझै बाँकी छ।
एउटा प्रशासनिक भवन, पाले भवन, गेट, पर्खालको प्लास्टर, बत्ती जडानजस्ता काम गर्नुपर्ने छ। प्राकृतिक सौन्दर्य हराएको कमल पोखरीलाई देख्नेहरू अचेल राम्रो बनाउने बहानामा क्रंकिट बनाउनु नै समस्याको जड भएको मान्ने गर्छन्।
‘ताल पनि कहीँ क्रंकिटको बनाएर हुन्छ,’ स्थानीयले विनोद चौधरीले भने, ‘साँच्ची पोखरी भनेको त पहिलाको जस्तै माछा, घोङ्गी, भ्यागुता र अन्य पानीमा पाइने जीवजन्तु बस्ने घर हुनुपर्छ।’
उनले पोखरीको पहिचान जोगाइराख्न वर्षामा स्थानीय सिँचाइ कुलोबाट पानी राख्ने व्यवस्था गर्नुपर्ने र आवश्यक परे क्रंकिट संरचना भत्काउनु पर्ने तर्क गरे।
सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी।