दुई जना दाजुभाइ खोटो संकलन गर्न चार महिनादेखि घना जंगलमा बस्दै आएका छन्।
रोल्पाको रून्टीगढी गाउँपालिकाका-१ गौरीगाउँका २२ वर्षीय सुरेश बुढा मगर र १७ वर्षीय नवीन बुढा मगर चार महिनादेखि जंगलमै बसेर खोटो संकलन गरिरहेका छन्।
उनीहरू दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका-८ स्थित गोगनपानी सामुदायिक वनअन्तर्गतको रानीबास जंगलमा बसेका छन्।
रानीबास वन बस्तीदेखि निकै टाढा रहेको र आउजाउ गर्न समस्या हुने भएकाले आफूहरू जंगलमै बस्ने गरेको सुरेशले बताए।
‘हामी चार महिनादेखि यसैगरी रातदिन जंगलमै बसेर खोटो संकलन गरिरहेका छौं,’ सुरेशले भने, ‘ठूलो पानी परेका दिन खाना पकाएर खानसमेत पाइँदैन।’
उनीहरूले बस्नका लागि सामान्य त्रिपाल गाडेका छन्।
सुरेश कक्षा ९ र नवीन कक्षा ६ को पढाइ छोडेर खोटो संकलन गर्न लागेका हुन्।
‘घरमा बुवा, आमा र एउटा बहिनी छन्,’ सुरेशले भने, ‘हाम्रो आर्थिक अवस्था कमजोर भएको हुँदा बुवाआमाकै सल्लाहमा खोटो संकलनको काममा लागेका हौं।’
जंगलमा बर्खाको समयमा चिप्लो गोरेटो बाटोको कारण खानेपानी ल्याउन निकै संघर्ष गर्नुपर्ने, पहिराको जोखिम हुने, जंगली जनावर तथा किराको पनि उत्तिकै जोखिम हुने सुरेशले बताए।
‘अहिलेसम्म भाग्यले साथ दिएको छ भन्नुपर्छ,’ उनले भने, ‘चार महिनादेखि जंगलमै बस्दै आएको भए पनि आजसम्म सकुशल नै छौं।’
रातदिन जंगलमै बसेर संकलन गरेको खोटोमा उनीहरूले प्रतिक्विन्टल दुई हजार रुपैयाँ ज्याला पाउने गर्छन्।
राम्रो खोटो परेको दिन एकै दिनमा नभए दुई दिनमा एक क्विन्टल खोटो संकलन हुने सुरेशले जानकारी दिए।
‘हामीले खोटो संकलनको ठेक्का लिएका ठेकेदारसँग अग्रिम पैसा पहिल्यै लागिसकेका छौं,’ नवीनले भने, ‘अब यो चार महिनामा कति कमाइ हुन्छ हिसाब गरेका छैनौं।’
घनघोर जंगलमा रातदिन बिताउनु र त्यही खोटो संकलनको काम गर्नु आफैंमा चुनौतीपूर्ण रहे पनि घरको आर्थिक अभावका कारण काम गर्न बाध्य भएको नवीनले बताए।
खोटो संकलनका लागि मोटो र सिधा रूख छनोट गर्ने, त्यसको बोक्रा ताछेर एसिड हाल्ने, चोप चुहिने ठाउँमा मिलाएर रूखमै किला ठोकेर सोली थाप्नेजस्ता काम आफूहरूले गर्दै आएको नवीनले जानकारी दिए।
रूखको चोपले सोली भरिएपछि त्यो संकलन गरी टिनको बाकसमा जम्मा गर्ने काम पनि उनीहरूले गर्ने गर्छन्। दिनभरजसो एक रूखबाट अर्को रूखसम्म आफूहरू घुम्दै हेर्दै गर्ने गरेको उनले बताए। खोटोले भरिएका टिनको बाकसहरू जम्मा गरी गाडीमार्फत् बाँके, रूपन्देहीलगायत जिल्लामा प्रशोधनका लागि पठाउने गरिएको छ।
सल्लाको खोटो प्रशोधन गरी सडक कालोपत्रे गर्दा आवश्यक पर्ने तार्कुल बनाउने गरिन्छ।
खोटो संकलनको जिम्मा लिएका ठेकेदारहरूले स्थानीय सामुदायिक वनले भनेजति रकम तिरे मात्रै संकलनको काम गर्न पाउँछन्।
अघिल्ला वर्षमा रोल्पा, सल्यान र खोटाङसम्म पुगेर खोटो संकलन गरेको अनुभव सुरेश र नवीनसँग छ।
तर, यसपालि जति लामो सयमसम्म जंगलमा यसअघि कहिल्यै बस्नु नपरेको नवीनले बताए।
‘यसअघि बस्तीनजिकै खोटो संकलन गर्ने ठाउँ हुन्थे,’ उनले भने, ‘एकाध घन्टा हिँडे सहजै पुगिन्थ्यो तर यहाँबाट बस्ती पुग्न लगभग ४/५ घन्टा हिँड्नुको विकल्प छैन।’
चार महिनादेखि दाङको बंगलाचुलीमा खोटो संकलनको काम गर्दै अएका उनीहरूले आज जंगल पनि आफ्नै घरजस्तो लाग्न थालेको बताए।
‘जहाँ बस्यो त्यही ठाउँ प्यारो लाग्दो रहेछ,’ नवीनले भने, ‘अब यहाँ पनि बानी भइसक्यो, दिनभर उकाली ओह्राली गर्यो, आफैं खाना बनाएर खायो। त्रिपाल भित्र ढुक्कले सुत्यो।’
ठूलो पानी परे त्रिपाल चुहिएर जागै बस्नु पर्ने नवीनले बताए।
‘यो हाम्रो बाध्यता हो,’ नवीनले भने, ‘यसरी मेहनत नगरे बुवा आमालाई कसरी पाल्ने र बहिनी कसरी पढाउने?’
बंगलाचुली गाउँपालिका वडा न ८ का ओखलढुंगा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुँदै आएको छ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लाका दश सामुदायिक वन समूहबाट खोटो संकलनको काम हुने गरेको छ। चिसो मौसममा खोटो कम निस्कने गर्छ। त्यही भएर चैत-वैशाखदेखि चिसो मौसम सुरू नहुँदासम्म सल्लाका रुखबाट खोटो संकलन गर्ने गरिन्छ।
सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी।