दाङको पिर्थली कुइरे सोता जलाशय सिँचाइ योजनाबाट तीन सय बिगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने यो जलाशयबाट किसानका खेतबारीमा पानी पुर्याउन लिफ्टिङ प्रविधिको प्रयोग गरिएको छ।
योजना उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर डाँगी जलाशयको निर्माणपछि किसानहरू खुसी भएको बताउँछन्। बाह्रैमास सिँचाइ पुग्ने भएकाले किसानले ठूलो लाभ लिन सक्ने उनले बताए।
‘भर्खरै लिफ्टिङको काम पूरा भएको छ,’ उनले भने, ‘आउँदो हिउँददेखि यहाँका किसानका खेतबारी जहिल्यै हराभरा हुने आशा छ।’
यो जलाशयको निर्माण बृहत दाङ उपत्यका सिँचाइ आयोजना अन्तर्गत तीन वर्ष पहिले नै सुरू भएको थियो। बृहत आयोजनाले पिर्थली कुइरे जस्तै अन्य सिँचाइ संरचनाहरू समेत बनाइरहेको छ। यसको बाँध निर्माण र संरक्षणका लागि वरिपरी तारजाली लगाउने काम गत वर्ष पूरा भएको थियो।
यस वर्ष विद्युतीकरणदेखि लिफ्टिङ प्रविधि समेत जडान गरेपछि किसान खुसी भएको अध्यक्ष डाँगी बताउँछन्। उनका अनुसार यो योजनाको लागि डेढ करोड बढी खर्च भएको छ। अघिपछि सुक्ने गरेको मुहान जलाशय निर्माणपछि खडेरीमा पनि नसुकेको उनले दाबी गरे।
यस्तै बृहत आयोजनाले तुलसीपुरको पातुखोलाबाट किसानका खेतबारीमा सिँचाइ सुविधा पुर्याउन ४६ लाख लगानी गरेको छ।
दुधेना, टिकरी, चैलाही सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष केशव सापकोटाले बाँझै रहने १५० हेक्टर जमिनमा बाँध बाँधेसँगै सिँचाइ पुर्याउन सहज भएको भन्दै खुसी साटे।
‘बाँझै रहने हाम्रा खेतबारीमा आज सहजै पानी पुगेको छ,’ उनले भने, ‘किसान कुलोमा जानु परेको छैन र पटक-पटक बाँध बाँध्न जानुपर्ने झंझटदेखि मुक्त भएका छन्।’
गत वर्ष बाढीले मुहान भत्किँदा किसानले बृहत सिँचाइ आयोजनालाई गुहारेका थिए। किसानको माग अनुसार सम्भावना अध्ययन गरी आयोजनाले जलाशय र पानी डोर्याउन मुहानको केही क्षेत्रफल सम्म पक्की नहर बनाएको थियो।
तुलसीपुर-१ मनकामनादेवीस्थित जम्मुचिरा जलाशय सिँचाइ योजनाको लिफ्टिङको काम पनि अन्तिम चरणमा छ। अघिल्लो वर्ष नै झन्डै आधा करोड बजेटमा यहाँ जलाशयको बाँध निर्माण गरी वरिपरि तारजाली लगाउने काम पूरा भइसकेको थियो। विद्युतीकरणदेखि लिफ्टिङको काम पूरा भइसकेको छ।
जम्मुचिरा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कर्णलाल खत्रीले हिउँदमा पनि जलाशयबाट किसानका खेतबारीमा पानी पुर्याउन सकिने आशा व्यक्त गरे।
‘वर्षामा त यहाँ खासै पानी आवश्यक नपार्ला,’ उनले भने, ‘यहाँ सिँचाइ कुलो छ र अब आउने हिउँददेखि सजिलै लिफ्टिङ मार्फत पानी खेतबारीमा पुग्ने आशा गरेका छौं।’
यो आयोजनाबाट सुनपुर, कुकुर भुका लगायत सात गाउँको ४० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने उनले जानकारी दिए।
दंगीशरण गाउँपालिका वडा नं. १ का स्थानीय युवराज विष्ट आफ्नै ठाउँमा बाघधैला कृत्रिम जलाशय निर्माण भएपछि दंग छन्।
‘हाम्रो यो ठाउँ पुरै आकाशे पानीका भरमा मात्रै खेती हुन्छ,’ उनले भने, ‘जलाशय निर्माणपछि धेरै आशा जागेको छ।’
यसै वर्ष अग्लो डाँडामा जलाशय निर्माण गरेको हुँदा ओभरफ्लो नहरमार्फत खेतखेतमा पानी पुगेको उनले बताए।
‘अब आउने हिउँदपछि यहाँ लिफ्टिङको योजना परेको छ,’ उनले भने, ‘त्यो काम पूरा भयो भने यो ठाउँको ६७ हेक्टर जमिनमा सहजै सिँचाइ सुविधा पुग्ने अनुमान गरेका छौं।’
दंगीशरण-१ मै कनरिया कृत्रिम जलाशय पनि निर्माण गरिएको छ। उक्त जलाशय उपभोक्ता समितिका अध्यक्ष निमबहादुर खत्रीले बृहतले प्रयासले निराश किसानमा उत्साह भर्ने कार्य गरेको भन्दै प्रशंसा गरे।
‘यो वर्ष बाँध निर्माण भयो र पानी भरिभराउ भएको देख्दा हामी दंग छौं,’ उनले भने, ‘अब आउने हिउँदतिर क्रमागत बजेटबाट लिफ्टिङ प्रणाली जडान भए यहाँका किसानका लागि खुसीका दिनहरू आउने छन्।’
यो जलाशय निर्माण गर्दा बृहत सिँचाइको ४५ लाख रुपैयाँ खर्च भएको छ। आउने चैतमा लिफ्टिङको काम हुने र त्यसपछि पानी वितरणको काम सुरू गरिने भएको छ।
गत आर्थिक वर्षमा झन्डै ५० करोडको काम
बृहत दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका आयोजना प्रमुख विराट ज्ञवालीले गत आवमा झन्डै ५० करोडको काम भएको बताए।
बाँध निर्माण तथा लिफ्ट प्रणाली निर्माणका लागि झन्डै २८ करोड खर्च भएको र बाँकी कामहरू गत वर्षका क्रमागत कामहरू भएको उनले जानकारी दिए।
यो वर्ष मात्रै बृहतले आठ वटा जलाशय विभिन्न ठाउँमा किसानको माग बमोजिम निर्माण गरेको छ। हालसम्म बृहतले घोराही र तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकामा ३५ वटा जलाशय निर्माण गरेको छ।
ती जलाशयमध्ये हालसम्म ६ वटामा मात्रै लिफ्टिङ प्रणाली जडान गरिएको छ। बाँकी जलाशयमा आगामी दिनमा ती प्रणालीहरू जडान गरिने उनले बताए।
‘सकभर चाँडो किसानका खेतबारीमा पानी पुर्याउने गरी जलाशय उपयोग गर्ने हाम्रो नीति छ,’ उनले भने, ‘आउँदो आर्थिक वर्षसम्म ८० प्रतिशत जलाशयको पानी किसानको खेतबारीमा पुर्याउने लक्ष्य छ।’
यो बाहेक किसानका खेतबारीमा सहज रूपमा पानी डोर्याउन तीन सय वटा पक्की नहरहरू पनि निर्माण गरिएका छन्।
दाङ उपत्यकाको ५६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ भइरहेको काम पुरा गर्न कुल ४० अर्ब लाग्ने अनुमान गरिएको छ। जसमध्ये ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।
सानो मूल रसाउने स्थान तथा खोलाहरूमा वर्षाको पानी भण्डारण गरी त्यसलाई सुख्खा मौसममा किसानको खेतबारीमा सिँचाइका लागि उपयोग गर्ने नीति बृहतले लिएको छ।
यी बाहेक बृहतले हालसम्म विभिन्न स्थानमा २६ लिफ्ट सिँचाइ निर्माण गरेको छ। थप २० वटा निर्माणाधिन अवस्थामा छन्। थप १८ वटा लिफ्ट सिँचाइको डिपिआर तयार पारिएको छ।
यस वर्ष भूमिगत सिँचाइ तर्फ ४२ वटा डिप टयूबवेल निर्माण गरेको छ भने १६ वटा डिप बोरिङ निर्माणका लागि बोलपत्र आह्वान गरेको छ।
त्यस्तै फोहरा सिँचाइ, थोपा सिँचाइ, पाइप सिँचाइ र पोखरी सिँचाइ गरी हालसम्म जिल्लामा ३६ सिँचाइ प्रणालीको विकास गरिएको बृहतका नायव सुब्बा पूर्णबहादुर खड्काले जानकारी दिए। उनले जिल्लामा हालसम्म ४५ जलाशय निर्माणको लागि पहिचान भइसकेको बताए।
१९६ किलोमिटर नहर निर्माण गरिएको, बबई करिडोर लगायत विभिन्न क्षेत्रमा ४८ वटा लिफ्ट सिँचाइ, ५५ वटा स्यालो टयूबवेल निर्माण भएको उनले बताए।
सबै तस्बिरः नारायण खड्का/सेतोपाटी