जनकपुर डायरी- १
चार वर्षअघि सम्पदाको पहिलो रिपोर्टिङ गर्दा मैले पाटन दरबार स्क्वायरको चार चक्कर लगाएको थिएँ। मनमनै सोचेको थिएँ– यो मेरो पहिलो र आखिरी सम्पदा रिपोर्टिङ हो।
मलाई पाटन दरबार स्क्वायरको विश्वनाथ मन्दिरबारे लेख्न भनिएको थियो। जबकि म विश्वनाथ मन्दिर कुन हो भन्ने नै चिन्दैन थिएँ।
मन्दिर चिन्न त गाह्रो भएन। गुगलले एक क्लिकमै भन्दिहाल्यो। अब यसबारे विस्तृत पत्ता लाउनु थियो जुन कसलाई कहाँ सोध्नुपर्छ भन्ने मलाई थाहा थिएन।
सुरूमा म त्यहाँको संग्रहालय पुगेँ र सोधेँ, ‘यो मन्दिरबारे मलाई कसले जानकारी दिन सक्नुहोला?’
त्यहाँका मान्छेले आफूलाई थाहा नभएको बताउँदै भने, ‘सायद मास्टर बाजेलाई थाहा होला। तर उहाँ निकै उमेरको हुनुहुन्छ। सधैं–सधैं यहाँ आउनुहुन्न।’
उनीहरूसँग मास्टर बाजेको फोन नम्बर पनि रहेनछ। अब कहिलेकाहीँ मात्र आउने मान्छेलाई म कहाँ खोजूँ? कसलाई सोधूँ?
मैले मंगलबजार परिसरमै भेटिएका केही स्थानीयसँग सोधपुछ गरेँ। त्यसपछि बल्ल थाहा भयो, मास्टर बाजे त रामप्रसाद अमात्यको बोलीचालीको नाउँ रहेछ।
जे होस्, मास्टर बाजे उर्फ रामप्रसाद अमात्यसँग भेट भयो र मैले मेरो सम्पदा रिपोर्टिङको पहिलो स्टोरी लेखेँ जुन मलाई 'असाइन' गरिएको विश्वनाथ मन्दिरको थिएन।
उनलाई भेटेर मैले लेखेको पहिलो स्टोरी थियो– पाटनका मन्दिर कथा सुनाउँदै हिँड्ने ‘मास्टर बाजे’।
विश्वनाथ मन्दिरको स्टोरी लेख्न भने म अरू मान्छे खोज्न थालेँ। एक जनाले मलाई पुरातत्व विभागअन्तर्गतको हेरचाह अड्डा जान सुझाए। मलाई त्यो अड्डा कहाँ छ भन्ने पनि थाहा थिएन। सोध्दै, खोज्दै पुगेँ। तर विश्वनाथ मन्दिरको हेरचाह हेरचाह अड्डाले पनि गर्दैन रहेछ। त्यहाँ पुगेपछि थाहा भयो, त्यो काम काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभिपिटी) ले गर्दो रहेछ।
अब केभिपिटी कहाँ छ भन्ने मैले खोज्नुपर्ने थियो। सोध्दै खोज्दै त्यो पनि पत्ता लगाएँ।
मैले पहिलोचोटि भेट्दा केभिपिटीका निर्देशक रोहित रञ्जितकार हिमालयन टाइम्सका एक पत्रकारलाई ‘भाइदेगः मन्दिर’ बारे जानकारी दिँदै थिए। म उनीहरूकै छेउमा बसेर कुराकानी सुनिरहेँ।
नब्बे सालको भुइँचालोमा भत्किएर पुनर्निर्माण गर्न लागिएको उक्त मन्दिरको कथा मलाई रोचक लाग्यो। सन् १८५३ मा हेनरी ओल्डफिल्डले बनाएको चित्रका आधारमा उक्त मन्दिर पुरानै स्वरूपमा फर्काउन लागिएको रोहित बताउँदै थिए।
विश्वनाथ मन्दिरको रिपोर्टिङपछि मैले भाइदेग: मन्दिरको रिपोर्टिङ गरेँ। पछि के थाहा पाएँ भने मैले जुन विश्वनाथ मन्दिरको स्टोरी लेखेको थिएँ, खासमा मलाई असाइन गरिएको स्टोरी त्यो होइन रहेछ। यहाँ महादेव मन्दिर धेरैलाई विश्वनाथ नै भनिँदो रहेछ। अहिले सम्झिँदा हाँसो उठ्ने कुरा चाहिँ, मलाई रिपोर्टिङ गर्न भनिएको असली विश्वनाथको मन्दिर त्यही भाइदेगः रहेछ।
यसरी अलमलिएर र एउटा स्टोरी गर्छु भन्दा अर्कै स्टोरी गर्न पुगेर मेरो सम्पदा रिपोर्टिङ यात्रा सुरू भयो। र, त्यही भाइदेग: मन्दिरको रिपोर्टिङले मलाई काठमाडौं उपत्यकाका सम्पदा, संस्कृति र सभ्यतामा रूचि जगायो।
त्यसयता मैले काठमाडौं उपत्यकाका जात्रा, चाडपर्व, संस्कृति, सम्पदा र इतिहासबारे थुप्रै स्टोरी लेखेँ। सबैजसो रिपोर्टिङ मेरो व्यक्तिगत जिज्ञासाबाट सुरू हुन्थ्यो। म काठमाडौंको सम्पदा र संस्कृतिबारे जे-जे जिज्ञासा मनमा आउँछन्, ती जिज्ञासाको जवाफ खोज्न थाल्थेँ र त्यसले नयाँ नयाँ स्टोरीलाई जन्म दिन्थ्यो। मेरा जिज्ञासा अझै थुप्रै छन् र ती जिज्ञासामाथि मेरो खोजी पनि जारी छ।
यसरी काठमाडौंको नेवा: सभ्यताबारे बुझ्दै र लेख्दै जाने क्रममा एउटा अर्को सभ्यता अभिन्न रूपमा जोडिएको मैले पाएँ। त्यो थियो– मिथिला सभ्यता।
नेवाः र मिथिला सभ्यता कसरी जोडियो त?
काठमाडौं उपत्यकामा सभ्यता र संस्कृतिको जग बसाल्ने क्रम आजभन्दा तीन हजार वर्षअघिको किराँतकाल र त्यसपछि दुई हजार वर्षअघिको लिच्छविकालबाट सुरू भएको थियो। आज जुन काठमाडौंमा हामी बसिरहेका छौं, त्यसको जग किराँत र लिच्छवि दुवै युगमाथि उभिएको छ। यहाँका नेवारहरूले किराँतकालीन केही संस्कृतिलाई आजसम्म निरन्तरता दिएका छन् भने केही संस्कृति लिच्छविकालबाट आएका छन्। केही सम्पदा किराँतकालदेखिका छन् भने केही लिच्छविकालका धरोहर हुन्।
तर काठमाडौं सभ्यतालाई अहिलेको जस्तो सुसंस्कृत, रौनकपूर्ण र भव्य बनाउने श्रेय मल्ल राजाहरूलाई जान्छ।
मल्लहरू कवि थिए। साहित्य, कलामा उनीहरूको असाध्यै रूचि थियो। उनीहरूको समयसम्म राज्य सम्पन्न भइसकेको थियो। त्यसैले उनीहरूले मठ–मन्दिर, पोखरी, हिति (ढुंगेधारा) लगायत जात्रापर्व चलाउन खुब लगानी गरे। यसले काठमाडौंको सभ्यता र संस्कृतिलाई नयाँ उचाइ दियो। पुराना हराइसकेका जात्राहरू पनि ब्युँतिए। मल्लकालले सिर्जेका तिनै मन्दिरहरूमा हामी आज पनि नित्य पूजाआजा गर्छौं। तिनै जात्रापर्वको उल्लासमा हामी आज पनि रमाउँछौं।
काठमाडौं सभ्यतालाई राजनीतिक रूपमा स्विकारेर त्यसलाई निरन्तरता मात्र होइन नयाँ उचाइमै पुर्याउने मल्ल शासकहरू को थिए?
धेरैलाई लाग्छ, मल्लहरू काठमाडौंकै नेवार राजा हुन्। त्यही भएर उनीहरूले यहाँको भाषा र संस्कृतिलाई त्यति धेरै आत्मसात् गरे।
तर होइन, मल्लहरू काठमाडौं उपत्यकाका होइनन्। जसरी लिच्छविहरू भारतको वैशालीबाट काठमाडौं प्रवेश गरेका थिए, मल्लहरू मधेसबाट यहाँ आएका हुन्।
उनीहरू आउँदा काठमाडौं उपत्यकामा नेवाः सभ्यता पहिल्यै विकसित थियो। शासनमा आइसकेपछि उनीहरूले चाहेका भए त्यो सभ्यता मासेर त्यसलाई आफ्नै शैली र स्वाद दिन सक्थे। तर उनीहरूले त्यसो गरेनन्। काठमाडौं सभ्यता जस्तो थियो, उनीहरूले त्यसलाई त्यही रूपमा स्विकारे। यहीँका भाषा बोल्न थाले, यहीँका संस्कृति र चाडपर्व मनाउन थाले।
मधेसबाट आएका मल्लहरू काठमाडौंको नेवा: सभ्यतामा मिसिए, नेवा: सभ्यतालाई आफूमा मिसाए।
यस क्रममा उनीहरूले आफूसँग ल्याएको मिथिला सभ्यतालाई यहाँको भाषा, संस्कृति र कला–साहित्यमा जोड्दै गए। मैले लेखेका काठमाडौं सभ्यताका स्टोरीमा मिथिला सभ्यता पनि जोडिँदै गयो।
म केही उदाहरण दिन चाहन्छु।
चार वर्षअघि मैले ‘मल्लराजा सिद्धिनरसिंहका ४०० वर्ष पुराना गीत’ भन्ने स्टोरी लेखेको थिएँ। पाटनका मल्लराजा सिद्धिनरसिंहले लेखेका ३२ गीत ज्याः पुन्हि (जेष्ठ पूर्णिमा) का दिन कृष्ण मन्दिरअगाडिको कात्तिक डबलीमा सुनाइन्छ। यस गीतमा नेपाल भाषासहित मैथिली, संस्कृत, फारसी र उर्दू भाषा पनि प्रयोग भएका छन्।
त्यसै दिन पाटन संग्रहालयभित्र राखिएको त्यति नै वर्ष पुरानो पौभाः चित्र प्रदर्शन गर्ने चलन छ। त्यो चित्र मिथिला सभ्यताबाट प्रेरित छ।
मल्लकालमा राजाहरूले मिथिला राजकन्यासँग विवाह गर्ने चलन थियो। मल्लकालीन चित्रहरू हेर्ने हो भने महिलाहरूले नाकमा नथिया लगाएको, घुम्टो ओढेको देखिन्छ जुन काठमाडौंको परम्परा होइन। पुरूषहरूको पहिरन पनि मुगल बादशाहको जस्तै छ।
कात्तिक डबलीमा वार्षिक रूपले गाइने भजनबाहेक पाटनका विभिन्न भजनमा मिथिला भाषा जोडिएर आउँछ। त्यसमाथि हरेक साँझ कृष्ण मन्दिरमा गाइने भजन त पूरै मिथिला भाषामा छ।
गीतमा मात्र होइन, काठमाडौंमा मञ्चन गरिने सांस्कृतिक नाटकहरूमा पनि मिथिला जोडिएर आउँछ। पाटनको कात्तिक नाच त्यसैको उदाहरण हो। काठमाडौं उपत्यकाका डबलीहरूमा यस्ता नाटक समय समयमा मञ्चन भइरहेका हुन्छन्। यसलाई मलजल गर्ने काम मल्ल राजाहरूले नै गरेका थिए।
यति मात्र होइन, काठमाडौं र मिथिला कला एकअर्कासँग जोडिएका छन्। जसरी नेवाः समुदायले आफ्ना पूजाहरूमा मण्डल बनाउँछन्, त्यसरी नै मिथिला समुदायमा भित्ता र भुइँमा अरिपन बनाउने चलन छ। यी दुवै लगभग उस्तै हुन्छन्। झन् मिथिलालाई त कलाको सहर भन्दा फरक पर्दैन। खानामा नेवाः समुदायजस्तै सोखिन छन् मैथिलहरू।
मेरो एक जना साथी छन्– आशिष मिश्र। हाल पाटनमा बस्ने उनको मूल घर मिथिला नै हो। यहाँको समाज र संस्कृतिमा सानैदेखि भिजेका उनी नेवाः सभ्यताबारे उत्तिकै जानकार छन्। यहाँका जात्रापर्व मनाउँछन्, नेपाल भाषा पनि बोल्छन्। पुस्तौं पुस्तादेखि पाटनमा बसेका उनी मलाई हरेकचोटि भेट्दा आफ्नो पुर्खा कसरी मिथिलाबाट काठमाडौं आइपुगे भनेर सुनाइरहन्छन्।
आशिषको कथा छोटकरीमा भनिहाल्छु है!
जति बेला बुंगद्य: (रातो मच्छिन्द्रनाथ) लाई भारतको आसामबाट पाटन ल्याइयो, लगभग त्यही समयतिर आशिषका पुर्खा यहाँ आएका थिए।
त्यो बेला यहाँ खडेरी लागेको थियो। त्यही भएर तिरहुतबाट केही मैथिल ब्राह्मणलाई यज्ञ गर्न ललितपुर बोलाइयो। काम सम्पन्न गरेर फर्कनै लाग्दा तत्कालीन राजाले उनीहरूलाई यहीँ बस्न प्रस्ताव गरेछन्।
जवाफमा ती मैथिल ब्राह्मणहरूले भनेछन्, ‘हामीलाई त आँप र माछा दुवै चाहिन्छ। हामी यी दुवै पाइने ठाउँमा मात्र बस्न सक्छौं।’
आँप र माछा दुवै पाइने ठाउँ काठमाडौं नजिकको नुवाकोटमा फेला परेपछि उनीहरूलाई त्यतै बस्ने व्यवस्था गरियो। मैथिलहरू बसेकाले त्यो ठाउँलाई अहिले पनि मैथिलटार भनिन्छ। अहिले त्यहाँ सेनाको ब्यारेक छ जसलाई मैथिल ब्यारेक भनिन्छ।
नेवाः समुदायमा चाहे जन्मदिन होस् वा कुनै चाडपर्व, सगुनका रूपमा माछा नभई हुँदैन। यो चलन मिथिलाबाटै आएको आशिष बताउँछन्, भन्छन्, ‘हामी त पुरोहित भयौं। अनि हामीले नै सगुन पाउने भएपछि आफूलाई जे खान मन छ, त्यही राख्नुपर्छ भन्यौं।’
मैथिलहरूको काठमाडौं प्रवेश तीन कालखण्डमा भएको इतिहास छ।
एकथरी मिश्र, झा र ठाकुरहरू गौतम बुद्धकै पालामा काठमाडौं आएका थिए। अर्काथरी मैथिलहरू लिच्छवि राजा नरेन्द्रदेवका पालामा काठमाडौं आएका थिए। मेरो साथी आशिषको पुर्खा त्यसैमध्येको हो। तेस्रो चरणमा काठमाडौं भित्रिएका मैथिलहरू मल्ल शासकसँगसँगै आएका हुन्।
नेवा: र मिथिला सभ्यताको सम्बन्ध भाषामा पनि देखिन्छ। नेपाल भाषामा दहीलाई धौ भनिन्छ जुन मैथिलको ‘दहु’ बाट बनेको हो। पैसालाई नेपाल भाषामा ‘धेवा’ भनिन्छ भने मैथिलमा ‘धौवा’ भनिन्छ। यस्ता अनेकौं शब्द छन्।
नेवा: सभ्यताको रञ्जना लिपिसमेत मैथिल लिपिको परिस्कृत रूप भएको आशिष बताउँछन्। राजा प्रताप मल्लले आफ्नो ज्ञानको फराकिलो दायरा देखाउन हनुमानढोका दरबारको एउटा शिलालेखमा १५ वटा लिपि खोपेका थिए। त्यसमध्ये मैथिल लिपि पनि एक हो।
नेवा: र मिथिला सभ्यताबीच नाभीको सम्बन्ध गाँसिएको छ भन्ने बुझेपछि मलाई लाग्यो, मेरो काठमाडौं सभ्यताको अध्ययन तबसम्म अपुरो हुन्छ, जबसम्म जनकपुर वा मिथिला सभ्यतालाई जोडेर हेरिन्न।
मेरो मनमा हुटहुटी जाग्यो, जनकपुर जाने र मिथिला सभ्यतालाई नजिकबाट हेर्ने, अध्ययन गर्ने र त्यहाँ लुकेका स्टोरीहरू खोज्ने।
मैले आफ्नो हुटहुटी पूरा गर्न अफिसमा जनकपुर जाने प्रस्ताव राखेँ।
जसै मेरो प्रस्ताव स्वीकृत भयो, मैले आफ्नो तर्फबाट मिथिला सभ्यतामाथि अध्ययन सुरू गरेँ। मनमा उठेका जिज्ञासाहरूको जवाफ जनकपुरमाथि लेखिएका किताबहरूमा खोज्न थालेँ। जनकपुर सभ्यताबारे जानकार विज्ञहरूलाई भेट्न थालेँ।
यही क्रममा मैले जनकपुरमा जन्मिएका र त्यहाँको समाज र संस्कृति नजिकबाट बुझेका मनिष झालाई भेटेँ। उनले सेतोपाटी अफिसमै आएर मलाई जनकपुरको लामो वृत्तान्त सुनाए।
कुराकानी क्रममा उनले आफ्नै परिवारको उदाहरण दिए।
मनिषकी आमा काठमाडौंकी रैथाने हुन्। उनी काठमाडौंबाट बिहे गरेर जनकपुर गएकी थिइन्। उनले त्यहाँ पुगेर आफ्नो घरपरिवारमा नेपाल भाषा सिकाइन् भने आफूले मैथिल भाषा सिकिन्।
यो उदाहरण सुनेपछि काठमाडौंसँग ऐँचोपैंचो र बिहेवारी चल्ने मिथिला सभ्यताबारे मेरो रूचि झनै गाढा भयो।
जनकपुर सहरबारे किताबसमेत लेखिरहेका मनिषले मिथिला सभ्यताबारे खोज्न सकिने केही सम्भावित कथाहरूको सूची तयार पार्न मलाई सहयोग गरे। जनकपुर बुझ्न र यी दुई सभ्यता जोड्न को–कसलाई भेट्न सकिन्छ भनेर नाम पनि टिपाए। केही किताबको सन्दर्भ पनि दिए।
मैले त्यसपछि अरू साथीहरूसँग कुराकानी गरेँ। किताबहरू संकलन गरेँ र पढ्न थालेँ। जनकपुर र काठमाडौंमा भेट्नुपर्ने मान्छेसँग सम्पर्क बढाएँ। मोटामोटी को–को मान्छे भेट्ने र के–के कथा लेख्ने भन्ने खाका बनाइसकेपछि मैले सेतोपाटीका जनकपुर संवाददाता रोहित महतोलाई सम्पर्क गरेँ।
रोहितले त्यहाँका मान्छेहरूसँग भेट्न समय मिलाइदिएका छन्। होटल बुकिङ भइसकेको छ। आज साँझ ४ः५५ बजेको यति एयरलाइन्सको फ्लाइट पनि बुकिङ भइसकेको छ।
म थुप्रै जिज्ञासाहरू लिएर जनकपुर उड्दैछु।
अब काठमाडौं र मिथिला सभ्यताबीच जम्माजम्मी आधा घन्टाको हवाई दुरी न हो!
जनकपुर, आई एम कमिङ।