ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार साँझ ६ बजे लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।
महालक्ष्मी नगरपालिका-८ बिसुन्डोलबाट लुभु हुँदै लामाटार तर्फ जाँदै गरेको बा १६ च ३६८७ नम्बरको कारले बालकलाई ठक्कर दिएको हो।
ठक्करबाट रामेछाप मन्थली नगरपालिका-९ घर भई लुभुकै सेराफाँटमा टहरामा बस्दै आएका दुई वर्षीय आर्यन पुरी घाइते भएका थिए। उनको उपचारको लागि किष्ट अस्पताल पुर्याइएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको हो।
बालकलाई ठक्कर दिएपछि लामाटार घर हुने ४१ वर्षीय चालक सुजनराज शर्मा आफैँले आमा विमला र छोरालाई राखेर अस्पताल पुर्याएका थिए।
गाडी र चालक महानगरीय प्रहरी वृत्त सातोबाटोको नियन्त्रणमा छन्।