ललितपुरको ठेंचोमा एक जनाको शव गाडिएको अवस्थामा फेला परेको छ।
गत माघ १३ गते मोरङको धनपालथान- ७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो। सोही घटनामा बेपत्ता रहेका एक जनाको शव ललितपुरमा फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनका अनुसार फेला पर्नेमा ६२ वर्षीय मोहन लिम्बू छन्।
‘मोरङबाटै प्रहरी आउनुभएको छ। हराइरहेका लिम्बू आज ठेंचोको एक घर पछाडि गाडिएको अवस्थामा फेला परे,’ उनले भने,‘अहिले हामी शव निकाल्दैछौं।’
बिहीबार काठमाडौंबाट घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मोरङ पठाएको छ। उनी अनिलकुमार मण्डल हुन्।
उनले प्रदीपकुमार थापामगरको एक तले घर गोदाम चलाउने भन्दै भाडामा लिएका थिए। त्यसैघर पछाडि लिम्बूको शव गाडिएको अवस्थामा फेला परेको हो।
मोरङमा मृत फेला पर्नेमा सुनसरी धरान ३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।
प्रहरीले मोरङमै घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ गर्दा ललितपुरमा पनि शव फेला परेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
यो पनि:
मोरङको उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुईमध्ये एक शवको पहिचान