मोरङको धनपालथान ७ बोर्डिङ टोलस्थित उखुबारीमा गाडिएको अवस्थामा फेला परेको दुई शवमध्ये एक जनाको पहिचान खुलेको छ।
हत्या गरेपछि खाल्डो खनेर गाढेको अवस्थामा दुई जना पुरूषको शव फेला परेकोमध्ये एक जना पुरूषको पहिचान खुलेको हो।
बिहीबार दिउँसो खनेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।
प्रहरीले उनको साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीले जानकारी दिए।
सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरूषको पहिचान खुल्न बाँकी छ। बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थमा श्रेष्ठको शव भेटिएको हो।
प्रहरीका अनुसार श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको स्वामित्वको हो।
बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानबाट करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीबाट पनि ३०–३५ वर्षका अर्का एक जना पुरूषको शव बुधबार राति भेटिएको थियो।
दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थमा भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए।