चितवन मेडिकल कलेजमा अहिलेसम्म ६ जनाको कलेजो प्रत्यारोपण भयो। यहाँ भाइले दाइलाई, दिदीले भाइलाई, छोरीले आमालाई, श्रीमतीले श्रीमानलाई कलेजो काटेर दिएको खबरले धेरैको मन छोयो।
काठमाडौं उपत्यका बाहिर कलेजो प्रत्यारोपण हुने यहीँ मात्रै हो। सन् २०२१ मा यो अस्पताल देशमै सबैभन्दा बढी कलेजो प्रत्यारोपण गर्ने अस्पताल बन्यो।
कलेजो खराब भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेकामध्ये प्रायःमा मदिराको सेवन कारण देखियो। पेटमा पानी बढ्न थाल्ने, जन्डिस देखिने, मुखबाट रगतको बान्ता हुने बिरामी बेहोस अवस्थामा अस्पताल आइपुग्ने गरेको देखिएको छ।
कलेजोका बिरामीको औपचारिक तथ्यांक छैन। तर प्रत्यारोपण नै गर्नुपर्ने समस्या लिएर दैनिक ५ देखि १० जनासम्म बिरामीहरु अस्पताल आइपुग्ने गरेका छन्।
कुनै पनि व्यक्तिको कलेजो काम नलाग्नेगरी खराब भइसकेको छ भने उसको खराब कलेजो निकालेर दाताबाट निकालिएको केही वा पुरै कलेजो जोड्ने प्रकृया कलेजो प्रत्यारोपण हो। जिवित दाताबाट केही भाग र ब्रेनडेथ भएको दाताबाट पुरै कलेजो निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ।
हामी कलेजोलाई ‘फ्याक्ट्री अफ द ह्युमन बडी’ भन्ने गर्छौं। यसको अर्थ शरीरमा चाहिने जति पनि प्रकारका तत्व हुन्छन् सबैको निर्माण कलेजोमै हुन्छ। कलेजोका धेरै कामहरु छन्। जस्तै खाना खाएपछि त्यसलाई पचाउने र शरीरको विभिन्न भागलाई चाहिने प्रोटिन बनाउने, विभिन्न तत्वको भण्डारण गर्ने, शरीरलाई इन्फेक्सनबाट बचाउने जस्ता काम कलेजाले गर्छ।
यति महत्वपूर्ण अंग कलेजो खराब हुने केही कारणहरु छन्।
नेपालको परिवेशमा मदिरा सेवन सबैभन्दा ठूलो कारण देखिएको छ। हेपटाइटिस बी, हेपटाइटिस सी पनि कारण हुन्। अटोइम्युन डिजिज, मोटोपन बढी भएर मधुमेहको समस्या लामो समय भएका कतिपय व्यक्तिमा पनि कलेजोको समस्या देखिएको छ।
कलेजो खराब हुने बितिक्कै प्रत्यारोपण गराइहाल्नुपर्छ भन्ने छैन। कलेजो खराब हुन थालेको १० देखि १५ वर्ष समय लाग्छ प्रत्यारोपण गर्नुपर्ने अवस्थासम्म पुग्नका लागि। कुनै व्यक्ति कलेजो खराब भएको सुरूकै अवस्थामा अस्पताल आइपुग्यो भने उसलाई औषधि दिएर सञ्चो बनाउन सकिन्छ। तर त्यो व्यक्तिले समस्यामा हेलचक्य्राइँ गर्यो भने, समयमा उपचार गरेन भने समस्या आउँछ। उसको पेटमा पानी बढ्न थाल्छ, जन्डिस देखिने, बेहोस हुने, मुखबाट रगतको बान्ता हुने समस्या देखिन्छ।
यो अवस्थामा बुझिन्छ कि उसको कलेजो ७० देखि ८० प्रतिशत खराब भइसकेको छ। त्यसपछि कलेजो प्रत्यारोपणबाहेक अन्य उपाय हुँदैन। यस्तो अवस्थाका बिरामीको कलेजो प्रत्यारोपण नगर्दा ६ वर्षदेखि २ वर्षसम्म मात्रै मान्छे बाँच्न सक्छ। प्रत्यारोपण गरेपछि भने अन्य सामान्य मान्छे सरह जीवन बिताउन सकिन्छ।
यसको अर्थ के हो भने समयमै सचेत भएर मदिरा सेवन गर्न छाड्यो, हेपटाइटिस बी, सी रोकथाम गर्न सकियो भने प्रत्यारोपणमा पुग्नबाटै रोक्न सकिन्छ।
कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएपछि सम्बन्धित बिरामीको पूर्णरूपमा शारीरिक जाँच र मूल्यांकन गरेर शरीरका अन्य भागहरु ठीक छन् कि छैनन् भन्ने हेरिन्छ। प्रत्यारोपणपछि ९०–९५ प्रतिशत मान्छेमा कुनै समस्या हुँदैन। कलेजो आफैं विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामीको पेटमा विकसित हुन्छ। अपरेसन गरेको ४ देखि ६ महिनामा कलेजो लिने र दिने दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाइसक्छ।
५ देखि १० प्रतिशत मान्छेमा जटिलता आउन सक्छ। जटिलता इन्फेक्सन वा अपरेसनका कारण आउन सक्छ। दाताबाट लिएर कलेजो जोड्दा जोडिएका नसाहरुमा ब्लकेज, लिकेज हुन सक्छ। हप्ता दिन भित्रमा यस्तो समस्या देखिन सक्छ त्यो समस्या आयो भने पनि समाधान गर्न सकिन्छ। इन्फेक्सनको जोखिम पनि हुन्छ। कलेजोका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता यसै पनि कम हुन्छ, कलेजो बचाउन दिइने औषधीले थप कम गराउँछ। त्यसैले इन्फेक्सनबाट बचाउन सक्नुपर्छ । यसलाई औषधिले कम गर्न सकिन्छ। कतिपय मान्छेमा यसले जोखिम निम्त्याउन सक्छ।
कलेजोका दातालाई भने कुनै जोखिम हुँदैन। ऊ कलेजो दान गरेको हप्ता दस दिनमा डिस्चार्ज हुन्छ। उसले लामो समयका लागि औषधि पनि खानु पर्दैन। मैले सिएमसीमा र त्यसअघि भारतको अस्पतालमा अप्रेसन गरेका कुनै पनि दातालाई केही भएको भन्ने सुनेको छैन। स्वस्थ व्यक्तिले अंगदान गर्न सक्छ। हामीले बिरामी र दाता दुबैलाई राम्रो काउन्सिलिङ गरेर मात्रै प्रत्यारोपणमा सहभागी गराउने गरेका छौं। बिरामीको परिवार र आफन्तले मात्रै कलेजो दान गर्न पाउँछ। कसले अंगदान गर्न पाउने भनेर कानुनले नै व्यवस्था गरेको छ।
हाम्रो परिभेषमा कत्तिको सहज हुन्छ त्यो आफ्नो ठाउँमा छ तर म त भन्छु मदिरा सेवन गर्दै नगरेको राम्रो। अनि नियमितरुपमा हेपटाइटिस बी र सीको रगत जाँच गर्ने गर्नुपर्छ। ‘बी’ को त भ्याक्सिन लगाउन पनि मिल्छ। ‘सी’ को मिल्दैन। यीनको सामान्य उपचार छन्। मोटोपन, लामो समय मधुमेहको समस्या भएकाहरुले खानपीनमा विशेष ध्यान दिने, डाक्टरको सल्लाह लिइराख्ने नियमित व्यायम गर्ने गर्नुपर्छ। यति गरियो भने कलेजोको समस्याबाट बच्न सकिन्छ। कलेजको अन्तिम अवस्थामा नपुग्दासम्म यसका लक्षणहरु देखिँदैनन्। त्यसैले ‘लिवर फङसन’ टेस्ट, अल्ट्रासाउण्ड वर्षमा एक पटकमात्रै गरियो, नियमित स्वास्थ्य जाँच गरियो भने समस्या आउँदैन। यो जाँच गराउँदा शरीरका अन्य भागमा भएका समस्या हरु पनि थाहा पाउन सकिन्छ।
प्रत्यारोपण असाध्यै संबेदनशील बिषय हो। तर यसमा कानुनी जटिलता छन्। मिर्गौलाको विषयमा कानुनमा समस्या छैन तर कलेजोको विषयमा भने धेरै अर्थ लाग्ने कानुन छ। प्रत्यारोपणकाक्रममा अंग बेचविखन हुनु भएन, पैसाको लेनदेन हुनु भएन। यी दुई कुरा रोकेर दायरा फराकिलो बनाउनु आवश्यक छ। सरकारले मिर्गौलाका लागि अनुदान दिन्छ तर कलेजोको उपचारमा धेरै खर्च लाग्छ तर सरकारी सहयोग छैन।
यसका साथै अब ब्रेन डेथ सम्बन्धी सचेतना पनि बढाउनु आवश्यक छ। कतिपय मान्छेसँग पैसा हुन्छ तर कलेजो दिने मान्छे पाएको हुँदैन। यसले गर्दा उ बाँच्ने संभावना हुँदाहुँदै पनि बाँच्न सकिरहेको हुँदैन। मान्छे मरेपछि उसको अंग यसै खेर जाने हो। दान गर्यो भने ७/८ जनाको ज्यान बाँच्न सक्छ। त्यसैले यस सम्बन्धमा सचेतना बढाउनुपर्यो। मान्छेहरु म अंगदान गर्छु भनेर आउने वातावरण बनाउन सकियो भने धेरै मान्छेहरु अकालमा मर्नबाट जोगिने थिए।
कलेजो कसरी स्वस्थ राख्ने र उपचारका विभिन्न विधिबारे सेतोपाटीका राजेश घिमिरेले चितवन मेडिकल कलेजमा कार्यरत कलेजो प्रत्यारोपण सर्जन डा डा.सञ्जयकुमार यादवसँग भिडिओ कुराकानी गरेका छन्।