बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान प्रहरीले सकाएको छ।
प्रहरीले अनुसन्धान सकाएर मंगलबार रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो।
बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।
बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।
प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो। दुबै मुद्दा अन्तर्गत सजायको मागदाबी गरेको एसपी बस्नेतले बताए।
बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जरिवाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको एसपी बस्नेतले बताए।
प्रहरीले सुरूमा बस्नेतमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्याबमा पठाएको थियो। ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो।
यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन्।
सपनाले अहिले आफ्नै नामको संस्था पनि दर्ता गराइसकेकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले सपनाको चाहना: समृद्ध नेपाल संस्था दर्ता गरेकी छन्।
उनले सो संस्था माघ १९ गते दर्ता गराएकी थिइन्।