बिहीबारदेखि परेको अविरल वर्षाले सेती नदी उर्लिएको छ। यसले पोखराको रामघाट तालजस्तो देखिएको छ। रामघाटबाट पानी निकास हुने सेती नदीको खोँच निकै साँघुरो भएकाले त्यहाँ पानीको सतह बढेको छ।
पोखराबाट तनहुँ पुगेर मादी नदीमा मिसिने सेती नदीले शुक्लागण्डकीमा भने तनाव दिएको छ। नदीमा पानीको बहाव बढेर शुक्लागण्डकी नगरपालिका, वडा नम्बर ४ र ८ मा रहेका घर–टहरामा पानी छिर्न थालेको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए।
'सेती नदी उर्लिएर दुईवटा घर भासिएको छ,' उनले सेतोपाटीसँग भने, 'पानी घरमा पस्न थालेपछि हामीले स्थानीयवासीको उद्धार गरेका छौं।'
सेती नदीको जोखिम बढेपछि बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय प्रमुख र शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घटनास्थल पुगेका थिए।
सेतीमा बढेको पानीको बहावले तनहुँकै ढोरफिर्दी आउजाउ गर्न बनाइएको पुलसमेत जोखिममा परेको छ। 'पानीको बहाव केही बढ्यो भने पुल र स्थानीयको घरटहरा बगाउन सक्छ,' सिडिओ अधिकारीले भने।
![](/uploads/shares/FEATURE/shuklagandaki.jpg)
जोखिममा रहेका शुक्लागण्डकीका नागरिकलाई अहिले स्थानीय गुरुङ समाज, मगर समाज र तिब्बतियन क्याम्पमा सारिएको छ। उनीहरूलाई बस्न नगरपालिकाले व्यवस्था मिलाएको छ।
शुक्लागण्डकी नगरापलिका वडा नम्बर ४ बाट २९ घरमा बस्ने १५३ जना र वडा नम्बर ८ बाट १४ घरका ६० जना गरी २१३ जनालाई उद्धार गरेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए।
यी दुई वडा शुक्लागण्डकीको सेती नदी वारि र पारिका हुन्। अहिलेसम्म जनधनको क्षति नभए पनि सम्भावित क्षति कम गर्न उनीहरूको उद्धार गरेको डिएसपी तिमिल्सिनाले बताए।
शुक्लागण्डकीको उक्त स्थानमा दुई वर्षअघि पनि सेती नदी उर्लिएर स्थानीयलाई जोखिममा पारेको थियो। अहिले वर्षा कम भएपछि नदीमा पानीको बहाव केही घटे पनि फेरि वर्षा हुन सक्ने र बहाव बढ्न सक्ने अनुमान स्थानीय प्रशासनले गरेको छ।
सबै तस्बिर सौजन्य: कृष्ण न्यौपाने
![](/uploads/shares/FEATURE/seti nadi.jpg)
![](/uploads/shares/FEATURE/seti in shuklagandaki.jpg)
![](/uploads/shares/FEATURE/shuklagandakii.jpg)