२०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर आएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो।
गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालयबीच २०७३ वैशाख १२ गतेको त्रिपक्षीय सम्झौताअनुसार गोरखा जिल्लाको लाप्राकका भूकम्प पीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ।
धार्चे गाउँपालिका-४ गुप्सीपाखामा करिब ३२६ रोपनी क्षेत्रफलमा सो लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको हो।
कुल ६०४ घरधुरी रहेको सो नमुना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भूकम्प राहतबाट बनेको हो ।
बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ। ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्छन्।
अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथमिकतामा परेको देखिएन नमुना बस्तीका घरहरु।
अहिले बस्तीमा बसी रहेका परिवारले पनि सो घर बस्न लायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नु परेको धार्चे गाउँपालिका- ४ का अध्यक्ष किसान गुरुङले बताए।
काठको झ्यालढोका राख्नेदेखि ढुंगा छाप्न, घरको भित्रि संरचना निर्माण गर्न खर्च गर्नु परेको उनले सुनाए।
लाप्राक गाँउ पहिले देखि पहिरोको जोखिममा रहेको भएतापनि स्थानियहरुको खेतीबाली गाँउमै हुनाले पनि नमुना बस्तीमा खासै बस्ने नगरेको गुरुङले बताए।
तस्बिरहरूः














तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।