ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडिओ पनि भाइरल भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो भिडिओबारे पनि खोजी थालेको छ।
ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ।
युवकले किन यस्तो गरेको भनेर प्रश्न गरेको देखिन्छ।
ट्राफिक प्रहरीले भने किन भागेको भन्दै कुटपिट गरेको देखिन्छ।
यो भिडिओ पनि कहाँको हो भनेर खोजिरहेको कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिए।
‘घटना कहाँ र कहिलेको हो भनेर बुझ्नलाई भनिसकेको छु। अहिले खोजी भइरहेको छ,’ उनले भने।
यसअघि बिहीबार पनि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
सुन्धारा अगाडि ट्राफिक प्रहरीले कुटेको भिडिओ भाइरल बनेपछि कार्यालयले चार जनालाई प्रहरी वृत्त जनसेवाबाट हटाएर छानबिन सुरू गरेको छ।
उक्त घटना गत मंसिर २३ गते भएको थियो।