पोखरा १६ चण्डीटोलका सम्मरबहादुर सुनारको चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भयो।
लकडाउन भएकाले उनको शव नेपाल ल्याउने अवस्था थिएन। उनका भाइ र माइला छोरा दुबईमै थिए। उतै दाहसंस्कार गरे।
झन्डै १५ वर्षदेखि दुबईमा कार्यरत सम्मर गत वर्षमात्र घर आएर फर्किएका थिए।
माइला छोरा र भाइ दुबईमै किरिया बसे। सम्मरका जेठा छोरा फ्रान्समा छन् भने श्रीमती, कान्छा छोरा र दाइ नेपालमै छन्।
सम्मरका दाइ, श्रीमती र कान्छा छोरा पोखराको चण्डीटोलस्थित घरमै किरिया बस्न लागे।
किरिया बस्नका लागि चण्डीटोलमा किरियापुत्री भवन बनेको थियो। पोखरा महानगर, वडा कार्यालय, स्थानीयलगायतको लगानीमा सार्वजनिक जग्गामा उक्त भवन बनेको थियो।
सोही भवनमा किरिया बस्न सम्मरका दाइ मोहन सुनारले किरियापुत्री भवनको चाबी मागे। चैत २६ गते चाबी माग्दा समाजका मानिसहरूले चाबी दिएनन्।
उल्टै हामी ‘क्षेत्री’ले बनाएको भवनमा ‘कामी’लाई छिर्न नदिने भन्दै हप्काए।
किरियापुत्री भवनको चाबी नपाएपछि सम्मरका श्रीमती, छोरा र दाइ घरमै किरिया बसे। घरदेखि ५ मिनेटको बाटोमा रहेको किरियापुत्री भवन नदिएपछि आधा घन्टाको बाटो हिँडेर कालीखोला गए।
त्यहीं नुहाए, खाना बनाए र खाए। किरियापुत्री भवनमा खाना बनाउने, नुहाउनेलगायतका सुविधा राखिएको थियो। उनीहरू दिनभरि भवनमा बस्ने र बास बस्न घर जाने बताएका थिए।
भवन नपाएपछि खोलामै दिन बिताए। साँझ घरमा बास बसे। १३ दिनको किरिया सकिएपछि समाजले केही मिलाउला भनेर मोहन कुरेर बसे।
किरियापुत्री भवनमा बस्न नदिएकोबारे कसैले केही कुरा गरेनन्। स्थानीय जनक थापा वैशाख १४ गते घर अगाडि बाटोमा आए, मोहनले चलाएको मोटरसाइकल रोकेर गाली गरे।
‘उनले मलाई हातपात गर्न खोजेका थिए,’ मोहनले सेतोपाटीलाई भने, ‘धन्न बेलैमा गाउँले आए र केही गरेनन्।’
मोहनलाई अबचाहिँ असह्य भयो। उनले वैशाख १८ गते जातीय छुवाछुत र भेदभाव कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए।
प्रहरीले निवेदनउपर छानबिन थाल्यो। उजुरी सत्य हो कि होइन भनेर आन्तरिक रूपमा बुझ्दै थियो। किटानी जाहेरी भएकालाई पक्राउ गर्न जिल्ला अदालतबाट आदेश लिएर प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको थियो।
पीडित पक्षले प्रहरीले आफूहरूको निवेदन उपर छानबिन नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि आए। उनीहरूलाई कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले सम्झाएर पठाए।
वैशाख २३ गते उजुरीमा उल्लेखित रामबहादुर जिसी र जनक थापालाई प्रहरीले पक्राउ गर्यो। मोहनले उजुरीमा अर्को व्यक्ति देवबहादुर थापा समेत गरी ३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए। तर थापा पक्राउ परेनन्। उनको उमेर बढी भएकाले पक्राउ नगरेको बताइएको छ।
उजुरीमा उल्लेखित २ जना पक्राउ परेपछि वैशाख २४ गते पीडक पक्षले प्रदर्शन गरे। पक्राउ परेका जिसी र थापालाई जिल्ला अदालतमा म्याद थप गर्न निकालिँदै थियो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट प्रहरीको गाडीमा राखेर निकाल्दा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेको डिएसपी केसीले बताए।
प्रहरी कार्यालयअगाडि नै केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भयो। पीडक पक्षले ढुंगामुढा गरेपछि झडप भएको प्रहरीले बताएको छ।
‘हामीलाई ढुंगामुढा गरे, ट्राफिक डिभाइडरले प्रहरीलाई हाने,’ डिएसपी केसीले सेतोपाटीलाई भने, ‘हाम्रा ३ जना प्रहरी घाइते भएका छन्।’
उनका अनुसार प्रदर्शनमा झण्डै सय जना उपस्थित भएका थिए।
झडपमा प्रहरीले पनि लाठीचार्ज गरेको थियो। डिएसपी केसीले अपराध अनुसन्धान र न्यायीक प्रक्रियामा अवरोध गरेकाले बल प्रयोग गरेको बताए।
‘यस्तो मुद्दामा पनि प्रदर्शन गर्ने, लकडाउन छलेर भेला हुने,’ डिएसपी केसीले भने, ‘हामीले संयमता अपनाएका कारण क्षति हुन पाएन।’
घटनापश्चात बुधबार नै नेकपा कास्कीका अध्यक्ष एवं प्रदेश सभा सांसद कृष्ण थापाले विज्ञप्ति निकाले।
उनले विज्ञप्तिमा ‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताहरूको षडयन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको हुँदा सम्पूर्णमा सावधानीपूर्वक अगाडि बढ्न अनुरोध गर्दछु,’ भनेका छन्।
पोखरा महानगरका पूर्वमेयरसमेत रहेका थापाले विज्ञप्तिमा छुवाछुतको आरोपमा पक्राउ परेकालाई षडयन्त्रपूर्वक पक्राउ गरेकोसमेत भनेका छन्।
‘प्रहरी प्रशासनले गरेको ज्यादति तुरून्त रोक्न, नेपालको संविधानअनुसार सबै समुदायलाई सामाजिक न्याय प्रदान गर्न सम्बन्धित निकाय तथा सरकारसँग माग गर्दछु,’ उनले भनेका छन्, ‘षडयन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएका नेकपा वडा नं. १६ का सचिवालय सदस्य रामबहादुर जिसी र जनक थापालाई बिनासर्त रिहाइको माग गर्दछु।’
मोहनले छुवाछुतको आरोपमा किटानीसहित जाहेरी दिएका रामबहादुर जिसी नेकपा वडा नं. १६ का वडा सचिवालय सदस्य हुन् भने पक्राउ नपरेका तर किटानी जाहेरीमा परेका देवबहादुर थापा पोखरा महानगर सदस्यमा एमालेबाट निर्वाचित पूर्व दस्य हुन्।
यस्तै जनक थापा भने नेकपाका सामान्य कार्यकर्ता मात्र रहेको नेकपाले जनाएको छ।
यता उजुरीकर्ता आफैं भने नेकपाका जिल्ला सदस्य हुन्। उनी पूर्वएमालेमै जिल्ला सदस्यमा निर्वाचित भएका थिए। उनकाविरूद्ध विज्ञप्ति जारी गर्ने जिल्ला अध्यक्ष कृष्ण थापा साविक एमालेकै जिल्ला अध्यक्ष थिए। हाल नेकपाका पनि अध्यक्ष छन्।
छुवाछुतजस्तो गम्भीर मुद्दा पार्टी नीति विपरित विज्ञप्ति निकालेर छुवाछुतको पक्षमा उभिएको भन्दै नेकपाका अन्य जिल्ला नेताहरू भने क्रुद्ध बनेका छन्।
नेकपा कास्कीका एक नेताले अध्यक्ष थापाको विज्ञप्ति पार्टीको विधान र मुलुकको संविधानविपरित भएको भन्दै आफैं जातिवादी भएको बताए।
नेकपाका दलित अगुवाहरूले विज्ञप्तिप्रति आन्तरिक छलफल गरेको भन्दै जिल्लाभन्दा उपल्लो निकायलाई जानकारी गराउने बताएका छन्।
पीडित मोहन सुनारले भने उजुरी फिर्ता लिन थेगिनसक्नु दबाब आएको बताए।
‘फोन आइराखेको छ, कहिले घर घेर्न आउँछन्,’ उनले भने, ‘घरमा चाबी लगाएर बस्न परेको छ, बाहिर नस्किने अवस्था छैन।’
उनले ज्यान गए पनि उजुरी फिर्ता नलिने बताए।