आजभन्दा २२ सय वर्षअघि कुनै एक खास दिनमा तपाईं लुम्बिनी पुग्नु हुन्थ्यो भने एउटा यस्तो इतिहासको साक्षी बन्नु हुन्थ्यो, जसले आजपर्यन्त संसारको ध्यान खिच्दै आएको छ।
त्यो खास दिन वैशाख पूर्णिमा पनि हुन सक्छ! अर्थात्, आजकै दिन!
तपाईंले त्यस दिन बिहानैदेखि लुम्बिनीको घना जंगलमा बौद्ध भिक्षुहरूको मन्त्रोचरण सुन्नु हुन्थ्यो। पहेँलो चिवर धारण गरेका भिक्षुहरूको चहलपहल देखेर उत्साहित हुँदै नजिक जान खोज्नु हुन्थ्यो।
जसै तपाईंका पाइला भिक्षुहरूको जमघटतिर बढ्थ्यो, एक शाही सुरक्षा गार्ड तपाईंको बाटो छेक्न आइपुग्थ्यो। अनि बल्ल तपाईं चाल पाउनु हुन्थ्यो, त्यो जमघटमा कुनै भारतीय साम्राज्यको विशाल सैनिक फौजले पहरा दिइरहेको छ।
तपाईं मुख बिगार्दै दुई–चार पाइला पछाडि सार्नु हुन्थ्यो। तर, मनको कौतूहल थाम्न नसकेर बाँदरझैं घना वृक्षको लहराभित्र लुसुक्क लुक्नु हुन्थ्यो। वा, सर्पझैं हाँगाभित्र हराएर त्यहाँको गतिविधि नियाल्न थाल्नु हुन्थ्यो।
एकछिन त डराउनु पनि हुन्थ्यो होला — कतै कपिलवस्तुमा धावा बोलिएको त होइन! कतै म झुक्किएर लडाइँको मैदानमा त आइपुगिनँ!
फेरि आफ्नै मन थुम्थुम्याउनु हुन्थ्यो — लडाइँ त हुनै सक्दैन! रणभूमिमा भिक्षुहरूको के काम!
तपाईं रूखको हाँगामा हात गाँठो पारेर आफ्नो व्यग्र मन बेस्कन बाँध्नु हुन्थ्यो।
मध्याह्नसम्म गुप्त–दर्शक बनेर बसेपछि दर्जनौं बग्गी एकसाथ दौडिएजस्तो घडक–घडक आवाजले रूखका हाँगाबिँगा, झाडी–बुट्टयान, फूलपात थरथर थर्कन थाले।
आवाज नजिक आएपछि थाहा भयो, ती बग्गी होइन रहेछन्। ती त राँगो–गाडाहरू पो रहेछन्।
दर्जनौं राँगाको लश्कर तपाईं अचम्म मान्दै क्वारक्वार्ती हेर्नु हुन्थ्यो। गाडामा लादिएको अजंग स्तम्भ देखेर त तपाईंको मनै कहालिन्थ्यो।
के हो यो स्तम्भ? को हुन् यिनीहरू? के गर्न आएका हुन्?
यस्ता–यस्तै प्रश्न सोच्दासोच्दै जंगलका रूखहरू फेरि किटकिट काम्न थाले। तपाईंले समातेका हाँगाहरू भुइँचालो गएझैं फट्याक–फट्याक हल्लिए। लावालश्कर हात्तीको धमधम आवाजले चकमन्न जंगल थर्कियो। अघिसम्म झाडीको आडमा चुइँक्क नबोली बसेका जनावर र पन्छीहरू डरले भागाभाग गरे।
त्यसैबीच आगमन भयो, वायुपंखी घोडाहरूको धकडक–धकडक वेगमा शाही बग्गीहरूको।
एउटा बग्गीमा भारतका मौर्यसम्राट अशोक सवार थिए, अर्कोमा उनकी महारानी — सायद पहिलो पत्नी देवी नै हुन् कि! तेस्रो र चौथो बग्गीमा भारदार र सुसारेहरू होलान्।
तपाईं यी राजा–रानीलाई सायदै चिन्नुहुन्थ्यो। सिपाहीहरूले आकाश हल्लिने गरी जयजयकार गरेर पो!
लामो रक्तपातपूर्ण युद्धपछि बौद्ध धर्मको अनुयायी बनेका चक्रवर्ती सम्राट अशोकलाई आफ्नै आँखाअगाडि देख्दा तपाईं एकछिन त हावा लागेको पातझैं फिरफिर हल्लिनुभयो होला!
ढलपल ज्यानको सन्तुलन मिलाउन खोज्दा रूखका लहरामा गोडा दधारिए होलान्! आफ्नै दाँतले किटिक्क टोकिएर ओठ रगतले लाल भयो कि!
तपाईंलाई यता आश्चर्यमा छाडेर सम्राट अशोक र महारानी देवी बग्गीबाट ओर्ले।
राजकीय पूजा–अनुष्ठान प्रारम्भ भयो। बौद्ध भिक्षुहरूले सामूहिक मन्त्रोचरण गरे। त्यही मन्त्रको भुनभुनमा शाही कामदारहरूले राँगो–गाडाबाट लगभग ५० टन वजन र ५० फिट अग्लो स्तम्भ होस्टे हैंसे गर्दै नजिकको पोखरीनिर ल्याइपुर्याए।
त्यहाँ पहिल्यै एउटा खाल्डो तयार थियो। कामदारहरूले स्तम्भलाई चारैतिरबाट मोटो डोरीले कसेर खुइखुइ खाल्डोमा खसाले र एकापट्टिको डोरी तिनिक्क तन्काएर स्तम्भ ठड्याए। भुइँमा माटो पुरपार पारेर बलियो गरी गाडे।
त्यसपछि स्तम्भको सिरानसम्म पुग्ने गरी काठको भर्याङ हालियो। अनि सुरू भयो मुख्य विधि, जसको निम्ति सम्राट अशोक स्वयं यहाँ आएका हुन्।
कामदारहरूले आफूसँगै ल्याएको घोडाको मूर्ति जुरुक्क उचालेर स्तम्भको सिरानमा प्रतिस्थापन गरे।
बौद्ध भिक्षुहरूको मन्त्रोचरणले जंगल शान्तिमय भयो। त्यसमा सम्राट अशोकको जयजयकारले शाही शान पनि थप्यो।
झन्डै २२ सय वर्षअघि कुनै एक खास दिन लुम्बिनी पुग्नु भएको भए तपाईंकै आँखासामुन्ने ठडिने त्यो स्तम्भ आजपर्यन्त ‘अशोक स्तम्भ’ का नाउँले चिनिँदै आएको छ। र, यो ठाउँलाई ‘गौतम बुद्धको जन्मस्थल’ का रूपमा संसारभरि चिनाउँदै आएको छ।
त्यस दिन इतिहासको त्यो घडीलाई रूखको लहरामा लुसुक्क लुकेर, हाँगोमा हात गाँठो पारेर आफैंले हेरेझैं क्यानभासमा उतार्ने कलाकार हुन्, हरिप्रसाद शर्मा।
शर्मा नेपालका चित्र–इतिहासकार हुन्। इतिहास अध्येताहरूले गहन खोज गरेर निकालेको शब्दचित्रमा उनी रङ भर्छन्।
उनको पेन्टिङ हेर्दा यस्तो लाग्छ, मानौं त्यो पेन्टिङ होइन ‘टाइम मसिन’ हो, जसले तपाईंलाई आजको समयबाट टपक्क टिपेर इतिहासको कुनै कालखण्डमा थपक्क पुर्याउँछ।
उनी आफ्नो एउटा क्यानभासमा इतिहासको एउटा क्षण सविस्तार वर्णन गर्छन्। यसको निम्ति उक्त क्षणसँग जोडिएका तमाम विषयवस्तु मिहिन केलाउनु र त्यसलाई चित्र र रङका माध्यमबाट क्यानभासमा उतार्नु उनको विशेषता हो।
मैले लुम्बिनीमा अशोक स्तम्भ ठडिँदाको जुन घटना माथि वर्णन गरेँ, त्यो शर्माकै पेन्टिङमा आधारित छ।
यसमा सम्राट अशोक आफ्नी रानीलाई लिएर लुम्बिनी आएको देखिन्छ, साथमा मौर्य सेना र बौद्ध भिक्षुहरू छन्। सँगसँगै, हात्तीको लावालश्कर र बग्गीहरू पनि देखिन्छन्।
पेन्टिङमा अझै आँखा गाड्ने हो भने अलि पर दायाँतिर राँगा–गाडाहरूको लश्कर छ। आकाशमा उडिरहेको चराको बथानले सुनसान जंगलमा कोलाहलको संकेत गर्छ। बायाँतिर सर्वसाधारणको हुल छ। उनीहरू जंगलको बीचमा चहलपहल देखेर आए होलान्। नजिक जान पनि खोजे होलान्, तर सम्राट अशोक नै आएपछि मौर्य सेनाले नजिक पर्नै दिएनन् होला!
यसरी एकै झमकमा सयौं–हजारौं वर्ष पुरानो क्षणको झलक देखाउने गरी इतिहासको पत्र–पत्र केलाउने यी चित्रकार कसरी काम गर्छन्?
मैले ८३ वर्षीय शर्मासँग यिनै विषयमा टेलिफोन वार्ता गरेँ।
उनी पेन्टिङको सुरूआतमा आफ्नो विषयवस्तुसँग सम्बन्धित ऐतिहासिक तथ्यहरू खोजबिन गर्छन्। आवश्यक पर्यो भने स्थलगत भ्रमणमा पनि जान्छन्। लुम्बिनीको पेन्टिङ बनाउन छोरा, बुहारी र नातिसँग त्यहीँ पुगेका थिए। दुई रात बसेर निरीक्षण गर्नुका साथै अशोक स्तम्भसँग जोडिएका इतिहास अध्ययन गरेको उनी सम्झन्छन्।
‘कुन एंगलबाट चित्र बनाउने भनेर प्रस्ट हुन स्थलगत भ्रमणले मद्दत गर्छ,’ शर्माले टेलिफोन कुराकानीमा भने, ‘यो चित्रमा लुम्बिनीको जंगल पनि देखिनुपर्यो, पोखरीको सुन्दरता पनि देखिनुपर्यो। त्यत्रो स्तम्भ कसरी ओसारियो र कसरी गाडियो भन्ने पनि खुल्नुपर्यो।’
उनले अनुसन्धान क्रममा लुम्बिनीका प्रशस्तै तस्बिर खिचेर ल्याए। यसबाहेक बौद्ध धर्मका केही अन्वेषकसँग भेटेर त्यति बेलाको परिवेश तयार पारे।
उनले के थाहा पाए भने, सम्राट अशोकले भारतबाटै आफ्नो नामको स्तम्भ बनाएर ल्याएका रहेछन्। यो पत्ता लगाउन भारतको पुरातत्व विभागका खोजपूर्ण लेखहरूले मद्दत गर्यो। अशोकले आफ्नो शासन कालमा गौतम बुद्धको जीवनसँग जोडिएका स्थलहरूमा थुप्रै स्तम्भ गाडेका थिए। तीमध्ये वैशाली, सारनाथ, दिल्ली लगायत ठाउँमा अझै छन्।
उनले हरेक स्तम्भको तौल र आकार पनि पत्ता लगाए। त्यसपछि प्रश्न उठ्यो– यति ठूलो स्तम्भ भारतदेखि लुम्बिनीसम्म कसरी ओसारियो होला?
‘हामीले भारतको प्राचीन इतिहास पल्टायौं। अशोकको शासन कालमा घोडागाडीको प्रचलन थियो। तर, घोडा चंचल जनावर भएकाले टुटफुट हुनसक्ने सामग्री ढुवानी गर्दा घोडागाडीको प्रयोग जोखिमपूर्ण मानिँदो रहेछ। अनि हामीले सोच्यौं, उसो भए गोरूगाडा प्रयोग गरिन्थ्यो होला!’
‘तर, होइन रहेछ,’ शर्माले विस्तार लगाए, ‘त्यति बेला यस्ता सामान राँगो–गाडामा ढुवानी गरिँदो रहेछ। राँगो बलियो जनावर भएकाले टाढा–टाढा सामान लैजान भरपर्दो मानिँदो रहेछ।’
यो तथ्य पत्ता लागेपछि चित्रको एउटा हिस्सा छर्लंग भयो।
सबभन्दा बढी समय लाग्यो, अशोक स्तम्भको सिरानमा कुन जनावरको मूर्ति थियो भन्ने थाहा पाउन।
सम्राट अशोकले राखेका स्तम्भमा सिंह, घोडा, साँढे र हात्तीको बराबर प्रयोग भएको पाइन्छ। अशोकले बुद्धको जीवनसँग मेल खाने गरी जनावरको आकृति प्रतिस्थापन गराएको भनाइ छ। उदाहरणका लागि, कसै–कसैले बुद्धलाई हात्ती वा सिंहको प्रतिरूप मान्छन्। मायादेवीले सपनामा सेतो हात्ती देखेपछि सिद्धार्थ गौतमको जन्म भयो भन्ने कहावत पनि छ।
लुम्बिनीको सन्दर्भमा भने सिद्धार्थ ज्ञानको खोजीमा निस्कँदा घोडा चढेर दरबार छाडेका थिए भनिन्छ। त्यही भएर हुनसक्छ, ‘लुम्बिनीमा घोडाको मूर्ति प्रयोग भएको रहेछ,’ शर्माले भने।
सम्राट अशोकको चित्र बनाउनु अर्को चुनौतीपूर्ण काम थियो। भारतमा पाइने अधिकांश मूर्तिमा उनी परिपक्व उमेरका देखिन्थे। युवावस्थामा अशोक कस्ता देखिन्थे भन्ने पत्ता लगाउन नसकेपछि शर्माले आफ्नो सिर्जनशीलता प्रयोग गरे।
उनले अशोकको जीवनी पढेर मोटामोटी कति वर्ष उमेरमा लुम्बिनी आएका होलान् भन्ने अनुमान लगाए। त्यसपछि उनको परिपक्व मूर्तिका आधारमा युवावस्थाको स्वरूप कल्पना गरे।
उनलाई सम्राट अशोकसँगसँगै महारानी पनि लुम्बिनी आएको दृश्य देखाउने इच्छा थियो। त्यसनिम्ति रानी आएकी थिइन् कि थिइनन् भन्ने पत्ता लगाउनुपर्थ्यो। यसबारे इतिहासकारहरूसँग कुरा गर्दा, रानी आएको पुष्टि हुने प्रमाण छैन भने। सँगसँगै यो पनि भने, ‘आएका थिएनन् भनेर ठोकुवा पनि गर्न सकिन्न।’
यसले उनको कल्पनाशीलतालाई बाटो दियो। उनले सम्राट अशोक सँगसँगै उनकी एक रानी र सुसारेहरू पनि चित्रमा देखाए।
राजा–रानीले लगाउने वस्त्र र गरगहनानिम्ति प्राचीन भारतको रहनसहन र खासगरी दरबारीया भेषभूषा अध्ययन गरेको उनी बताउँछन्।
‘यसमा हामीलाई ऐतिहासिक भारतीय फिल्म र टेलिसिरियलहरूले मद्दत गर्यो,’ उनले भने, ‘उनीहरूले अध्ययन गरेरै ती भेषभूषा तयार पारे होलान्, हामीले त्यसैलाई आफ्नो आधार मान्यौं।’
अशोककालीन सिपाहीको पोसाक, उनीहरूले बोक्ने ढाल–तरबार, बग्गीको ढाँचा र हात्तीको सजावट पनि हिन्दी फिल्म र टेलिसिरियलकै आधारमा तयार पारेको उनको भनाइ छ।
यी सबै अध्ययन गरेर क्यानभासमा उतार्न लगभग एघार महिना लागेको उनी बताउँछन्। यो पेन्टिङ २०७५ चैतमा पूरा भएको थियो।
यस्ता ऐतिहासिक पेन्टिङ रचनामा उनलाई परिवारको ठूलो सहयोग छ। विषयवस्तु सुझाउनेदेखि अध्ययन सामग्रीहरू जुटाउने र स्थलगत भ्रमणमा लैजानेसम्मको काम उनका छोरा विष्णुप्रसाद शर्माले गर्छन्।
५८ वर्षीय विष्णु आफैं भने चित्रकार होइनन्। उनी पाटन क्याम्पसमा अर्थशास्त्र पढाउँछन्। उनलाई अध्ययन–अनुसन्धानमा रूचि छ। यही रूचि उनी बाबुको पेन्टिङमा प्रयोग गरिरहेका छन्।
‘विषयवस्तु छनौटमा हामी बाबुछोराको सहकार्य हुन्छ,’ विष्णुले भने, ‘कहिलेकाहीँ बुबा आफूलाई आइडिया आएपछि मसँग सल्लाह गर्नुहुन्छ। म त्यो विषयसँग सान्दर्भिक अध्ययन सामग्रीहरू जुटाउँछु।’
उनले अगाडि भने, ‘कहिलेकाहीँ मलाई आइडिया आउँछ, म बुबालाई सुनाउँछु। तर, आफू कन्भिन्स नभएसम्म उहाँ क्यानभासमा हात हाल्नुहुन्न।’
उनले यो पनि भने, ‘बुबालाई कन्भिन्स गर्न सजिलो छैन। त्यो पेन्टिङ बनाउन किन जरूरी छ, त्यसले इतिहासको कुन कालखण्ड चित्रण गर्छ भनेर राम्ररी बुझाउनुपर्छ। उहाँ तयार हुनुभयो भने बल्ल म अध्ययन सामग्रीहरू जुटाउन थाल्छु।’
लुम्बिनीको अशोक स्तम्भ–चित्र पनि बाबुछोराको यही सहकार्यको नतिजा हो।
यही चित्र किन छान्नुभयो त?
मेरो यो प्रश्नमा विष्णुले भने, ‘बुबाले यसअघि अरनिको चीन गएको र लिच्छवि राजकुमारी भृकुटीको तिब्बती सम्राट स्रङ-चङ-गम्पोसँग विवाह भएको दृश्य क्यानभासमा उतार्नुभएको थियो। ती दुवै पेन्टिङले नेपाल–चीन सम्बन्ध झल्काउँथ्यो। मलाई भारतसँगको ऐतिहासिक सम्बन्ध जोड्ने खालको पेन्टिङ बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो।’
त्यसपछि यी बाबुछोराले अनेक विषयवस्तुमा छलफल गरे। जनकपुर दरबारमा सीताको स्वयंवरदेखि दुई देशको जनजीवन झल्काउने खालका पेन्टिङ बनाउने कि भन्ने कुरा भयो। तर, उनीहरूले यसमा नयाँपन भेटेनन्।
खोज्दै जाँदा सम्राट अशोक स्वयं लुम्बिनी आएर गौतम बुद्धको जन्मस्थल चिनाउने स्तम्भ गाडेको घटनाले उनीहरूलाई आकर्षित गर्यो।
लुम्बिनीको यो स्तम्भ लामो कालखण्डसम्म घना जंगलभित्र माटोमा पुरिएर रहँदा स्मरणबाटै विलिन भइसकेको थियो। चिनियाँ बौद्ध भिक्षुहरूले आफ्ना ग्रन्थमा यसबारे वर्णन त गरेका थिए, तर कहाँ छ भन्ने कसैलाई थाहा थिएन।
विक्रम सम्बतको तेह्रौं शताब्दीमा खस राजा रिपु मल्लले यो स्तम्भको ऐतिहासिक महत्व पत्तो नपाई यसैमाथि ‘ओम पाने पद्मे हुम् ... श्री रिपु मल्ल चिरू जयतम् १२३४’ लेख्न लगाएका थिए। त्यति बेलासम्म यहाँको मायादेवी मन्दिर पनि ‘वनदेवी’ का रूपमा पुजिन्थ्यो।
यसरी समयको गर्तमा विलिन भइसकेको अशोक स्तम्भलाई सन् १८९६ मा जर्मन पुरातात्विक अन्वेषक एओइस एन्टोन फ्यूररले उत्खनन् गरेर निकालेका हुन्। उनको यो खोजमा पाल्पाका तत्कालीन गभर्नर जनरल खड्गशमशेर राणाले सहयोग गरेका थिए।
उनीहरूले स्तम्भमा कुँदिएको ब्राह्मी लिपि अध्ययन गरे। यसबाट मौर्यसम्राट अशोकले ईशापूर्व तेस्रो शताब्दीमा लुम्बिनी भ्रमण गरेको र यो ठाउँलाई गौतम बुद्धको जन्मस्थलका रूपमा चिनाउन स्तम्भ गाडेको प्रमाणित भयो।
विष्णुले अशोक स्तम्भसँग जोडिएका यी तथ्य खोजेर बुबालाई सुनाए। उपलब्ध तस्बिरहरू देखाए। भने, ‘सबै हेरेपछि बुबा सजिलै कन्भिन्स हुनुभयो।’
यो चित्रमा कामदारहरूले घोडाको मूर्ति प्रतिस्थापन गरेको दृश्य उतार्न विष्णुका छोराले घन्टौं अभिनय गरेर देखाएका थिए।
तलबाट मूर्ति उठाउँदा हात कसरी खुम्चिन्छ? माथिबाट तान्दा कसरी लम्किन्छ? टुक्रुक्क बसेर स्तम्भ थाम्दा शरीर कसरी कुप्रो पर्छ?
यस्ता अनेक भावभंगिमा नातिले अभिनय गरेर देखाए, छोराले तस्बिर खिचे, हजुरबाले त्यसैलाई क्यानभासमा सारे।
‘कुनै पेन्टिङ रचनामा सम्पूर्ण परिवारको यति गहिरो सहकार्य विरलै होला,’ कला-सर्जक हरिप्रसाद भन्छन्, ‘परिवारको साथ र अगुवाइ नभइदिएको भए म यो उमेरमा आएर यति मिहिन काम सायदै गर्न सक्थेँ।’
उनले काठमाडौंको जनजीवन, नेवार संस्कृति र सभ्यता झल्काउने पेन्टिङहरू पनि थुप्रै गरेका छन्। यसको कारण उनको जन्म र हुर्काइ हो।
शर्माको पुर्ख्यौली थलो गोकर्ण हो, तर हजुरबुबाको पालादेखि नै उनीहरू काठमाडौंको लगनटोल आएर बसेका थिए। शर्माको जन्म लगनमै भयो। जिन्दगीको लगभग ४२ वर्ष उनले काठमाडौंको ‘कोर–सिटी’ मा बिताए। यति लामो समय नेवारहरूको बीचमा रहँदा–बस्दा यहाँको संस्कृति, रहनसहन र रीतिथिति उनको आफ्नै भयो।
‘म जन्मले नेवार होइन, तर मेरो हुर्काइबढाइ नेवारभन्दा कम छैन,’ उनी भन्छन्, ‘म यहाँको जात्रापर्व हेर्दै हुर्किएँ। यहाँको संस्कृति र चालचलन मलाई आफ्नैजस्तो लाग्छ। मनभित्र गढेको यही अनुभूति मेरो क्यानभासमा पोखिन्छ।’
उनले अगाडि भने, ‘नेवार सभ्यता सांस्कृतिक रूपले एकदमै धनी छ। यसका अनेक आयाम र अनेक रङ छन्। तपाईं काठमाडौंका जात्रापर्व हेर्नुस्, ती कति भव्य, उल्लासपूर्ण र रंगीन छन्। काठमाडौंको इतिहास हेर्नुस्, ती कति घटनाप्रधान र कति धेरै आरोह–अवरोहले भरिएका छन्। हामी चित्रकारहरूलाई यहाँको प्रत्येक दृश्यले ऊर्जा भर्छ। म व्यक्तिगत रूपमा त झन् काठमाडौंको इतिहास सम्झिँदा सधैं आफूलाई ऊर्जावान पाउँछु।’
के उनी यही कारणले इतिहास–चित्रमा आकर्षित भएका हुन्?
सुरूआतमा उनले पनि पोट्रेट र प्राकृतिक दृश्यावली खुब बनाए। २०१६ सालमा तत्कालीन जुद्धकला पाठशाला (हालको ललितकला क्याम्पस) बाट ‘कलाकुशल’ डिग्री पास गरेपछि उनलाई इतिहासमा चाख बढ्यो।
उनी राष्ट्रिय संग्रहालयमा जागिर पनि खान्थे। कामको सिलसिलामा ऐतिहासिक घटना र मूर्तिहरूलाई नजिकबाट हेर्ने मौका पाए।
त्यति बेला उनका बुबा काठमाडौंको भजन मण्डलीमा हारमोनियम बजाउँथे। भजन मण्डलीलाई बेलाबखत दरबारबाट बोलावट आउँथ्यो। हरि बुबाको पछि लागेर दरबार जान्थे। त्यहाँको भव्य कालिगढीले उनलाई मोहित पार्थ्यो।
‘काठमाडौं संस्कृतिलाई सानैदेखि देख्दै–भोग्दै आएको थिएँ, त्यसमाथि यहाँको इतिहास जान्न–बुझ्न पाएपछि मेरो पेन्टिङको विधा नै यतैतिर मोडियो,’ उनले भने।
‘मलाई पहिल्यैदेखि कालजयी चित्र बनाउनुपर्छ भन्ने लाग्थ्यो। जब इतिहासमा रुचि जाग्यो, ऐतिहासिक घटनाहरूलाई चित्रका माध्यमबाट कालजयी बनाउने धून सवार भयो,’ शर्माले आफ्नो कलायात्रा विस्तार लगाए, ‘हामी पढेको कुरा छिट्टै बिर्सन्छौं, देखेको कुरा लामो समय सम्झनामा रहन्छ। पढेको इतिहासभन्दा देखेको दृश्य र भोगेको जीवनले बढी प्रभाव पार्छ।’
‘मलाई लाग्यो, ऐतिहासिक विषयवस्तु चित्रमा उतार्न सकियो भने त्यसको कथा र सन्देश नयाँ पुस्ताले सजिलै ग्रहण गर्न सक्छन्। इतिहासको कालखण्ड दीर्घकालसम्म चित्रमा जीवित रहन्छ।’
उनी आफ्नो यो सोचमा सफल छन्।
लिच्छवि राजा मानदेवले चाँगुनारायण भ्रमण गरेको दृश्यदेखि अंशुवर्माले बनाएको कैलाशकूट दरबार, लिच्छवि कालमा काठमाडौंमा मनाइने साँढे जुधाउने उत्सव, यहाँका थुप्रै जात्रापर्व र जनजीवनलाई उनले आफ्नो पेन्टिङमा सजीव पारेका छन्।
‘आफूले बनाएका पेन्टिङ क्यालेन्डरमा छापिएर आएको देख्दा निकै खुसी लाग्छ। तर, मेरो सिर्जना मलाई एक बचन सोध्दै नसोधी प्रयोग गरेको सम्झँदा दुःखी पनि हुन्छु,’ उनले भने।
हरिप्रसादले २०५२ सालमा श्रीमतीको मृत्युपछि पेन्टिङ गर्न चटक्कै छाडेका थिए। छोरा विष्णुकै करकाप र प्रोत्साहनले फेरि ब्रस चलाउन थालेको उनको भनाइ छ, ‘पछिल्लो समय मैले बनाएका पेन्टिङहरू छोराको प्रेरणाकै फल हुन्।’
उनी अहिले पनि हरेकदिन दिउँसो १ देखि ४ बजेसम्म पेन्टिङ गर्छन्। दिमागमा कुनै विषयवस्तु फुरेन भने पनि यसै क्यानभासमा रङ पोतेर बस्छन्। भन्छन्, ‘साधकले हरेक दिन साधना गर्नुपर्छ। जीवन नै कलामा समर्पण गरेपछि नियमित अभ्यास गर्नु कलाकारको धर्म हो।’
उनले केही दिनअघि मात्र मल्लकालीन इतिहास झल्काउने एउटा दृश्यचित्र पूरा गरे, जसमा १६ वर्षका जयस्थिति मल्ललाई काठमाडौंकी राजकुमारी राजल्लदेवीको श्रीमानका रूपमा दरबार भित्र्याइएको घटना वर्णन छ।
उनी अब पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछिको इतिहास झल्काउने दुईवटा पेन्टिङ बनाउने तयारीमा छन्।
एउटा पेन्टिङमा पृथ्वीनारायण काठमाडौंको कुनै डबलीमा नवदुर्गा नाच हेरिरहेका हुन्छन्। नाच हेर्दाहेर्दै उनी देवीलाई असर्फी चढाउँछन्।
दोस्रो पेन्टिङमा पृथ्वीनारायण बिहानको समय पाटन दरबार वरिपरि घुमिरहेको देखिनेछ। यसमा मन्दिरबाट फर्किरहेका पाटनका महिला पृथ्वीनारायणलाई प्रसाद ग्रहण गराउँदै छन्। र, राजाको भाषा बुझ्दैनौं भन्ने भावमा ‘भाय मस्यू महाराज’ भन्दै छन्।
यी दुवै पेन्टिङको निम्ति काठमाडौंको तत्कालीन परिवेश, भेषभूषा, नवदुर्गा नाचको उल्लास र पृथ्वीनारायणको व्यक्तित्वमाथि अध्ययन भइरहेको विष्णुले बताए।
‘बुबा यसपालि लामो समयपछि पानीरङमा काम गर्दै हुनुहुन्छ,’ उनले भने, ‘तेलरङभन्दा पानीरङमा बनाउँदा सानो–सानो ‘डिटेल’ मा खेल्न सकिन्छ। एउटा कलाकारले धीत मर्ने गरी चित्र बनाउन पाउँछन्।’
उनले अगाडि भने, ‘पानीरङको विशेषता के भने, यसमा एउटा सानो गल्ती भयो भने सच्याउन मिल्दैन, फेरि सुरूदेखि बनाउनुपर्छ। त्यसैले यो गाह्रो हुन्छ। यसपालि बुबाले नै यसमा काम गर्ने इच्छा देखाउनुभयो।’
किन त?
मैले यो प्रश्न हरिप्रसाद शर्मालाई नै सोधेँ।
उनले भने, ‘म आफ्नो क्षमता परख्न चाहन्छु। बुढेसकाल लागेर मिहिन काम गर्ने क्षमता घट्यो कि उस्तै छ भनेर परीक्षण गर्न चाहन्छु।’
यो परीक्षणमा उनी कत्तिको खरो उत्रिन्छन्, त्यसको निम्ति कम्तिमा एक वर्ष कुर्नुपर्नेछ।