संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९९६ मै सम्भावित विश्व सम्पदा सूचीमा राखेको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल बनेको छ।
प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट गौतम बुद्ध हुर्किएको र उनले २९ वर्ष सम्मको उमेर बिताएको ऐतिहासिक एवं पुरातात्त्विक स्थल हो। राजा शुद्धोदनको दरबार र गौतमबुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि १९९६ देखि नै प्रमाण र आधारहरू जुटाउन प्रयास थालिएको थियो।
युनेस्को जापनिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा गरिएको वैज्ञानिक पुरातात्त्विक उत्खनन्पछि पर्याप्त आधार र प्रमाणहरू जुटाएपछि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया अगाडि बढाइएको थियो।
उत्खननको क्रममा फेला परेका पुरातात्त्विक वस्तुहरूको वैज्ञानिक अनुसन्धान र अध्ययनको आधारमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरातत्त्व विज्ञहरूले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक प्रमाणसहितको प्रतिवेदन तयार गरेका थिए।
अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलको नेतृत्वमा सम्पदा विशेषज्ञ प्रो. डा. रविन कनिङघम, डा. मार्क म्यानुअल, प्रोफेसर योकियो निशिमुरा, प्रो. म्याक्स डिग, डा. क्रिस्टोफ डेविस, डा. काई वाइजे, पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य लगायतको विज्ञहरुको टिमले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि तयार गरेको रणनीतिक मनोनयन दस्तावेजको आधारमा २०८० माघमा विश्व सम्पदा केन्द्रमा मनोनयन दस्तावेज पेस गरिएको थियो।
केन्द्रमा मनोनयन दस्तावेज पेश गरेपछि युनेस्कोको मूल्यांकन टिमले तिलौराकोटमै आएर पटकपटक अध्ययन र मूल्यांकन गरिसकेको थियो।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावमाथि गत शुक्रवार र शनिवार फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४७ औं सेसनमा छलफल गरिएपनि सूचीकृत हुन सकेन। यसअघि ४७ औँ युनेस्को बैठकमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अपेक्षा गरिएको थियो।
तर युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमस (इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स)ले गरेको मूल्यांकनको आधारमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव अस्वीकृत गरिएको हो। लुम्बिनी विकासकोषका सदस्यसचिव सानुराजा शाक्यले इकोमसले मूल्यांकन पहिले नै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्तावलाई डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए।
युनेस्कोको ४७ औं बैठकमा सहभागि सदस्य सबै राष्ट्रहरुले इकोमसको सोही प्रतिवेदनलाई समर्थन जनाएपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास असफल भएको छ।
हाल युनेस्कोमा १९५ मुलुक सदस्य छन्। सूचीकृत गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार भने २१ वटा राष्ट्रलाई मात्र रहेको छ। तिनै २१ वटा राष्ट्रहरूको ४७ औं बैठक गत शुक्रवार र शनिवार पेरिसमा बसेको थियो।
विकासकोषका सदस्य सचिव शाक्यका अनुसार इकोमसले डिफर गरेको प्रस्तावमाथी बैठकमा सहभागि कुनै पनि सदस्य राष्ट्रले नेपालको पक्षमा संशोधन प्रस्ताव हालेको भए तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रस्ताव बैठकमा पेश हुन्थ्यो। तर कुनैपनि सदस्य राष्ट्रले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन्, इकोमसको प्रतिवेदनलाई पूर्ण समर्थन जनाउँदै हुबहु पास भयो बैठकमा तिलौराकोटको प्रस्ताव गएन,’ शाक्यले भने।
तिलौराकोटलाई जस्तै इकोमसले डिफर गरेको भारतको मार्था मिल्टरी ल्यान्डस्केपको पक्षमा भने सदस्य राष्ट्र जापानले संशोधन प्रस्ताव हालेपछि बहुमत सदस्य राष्ट्रहरुको समर्थनपछि सनिवारकै बैठकबाट विश्व सम्पदा सूचीमा सूचिकृत भएको छ। सदस्य सचिव शाक्यले सम्पदा कुटनीतिमा नेपालको तर्फबाट कमजोरी देखिँदा तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको बताए। ‘सम्पदा कुटनीतिमा हामी कमजोर देखियौं,’ उनले भने।
युनेस्कोको बैठकमा सहभागि हुन नेपालबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयका सहसचिव सुरेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईसहितको टोली फ्रान्स पुगेको थियो।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्ताव नलैजान भारतले युनेस्कोलाई दबाब दिएको स्रोतको दाबी छ। भारतले कपिलवस्तुको तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आइरहेको छ।
युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले पेश गरेको डिफर प्रतिवेदनमा कपिलवस्तुको तिलौराकोट नै प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट हो भन्ने पुष्टिका लागि थप प्रमाण जुटाउन भनिएको छ।
सन् २०२४ जनवरी ३१ मा नेपालका तर्फबाट युनेस्कोमा स्थायी प्रतिनिधी तथा फ्रान्सका लागि राजदूत डा। सुधीर भट्टराईले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न एक हजार पृष्ठको अन्तिम मनोनयन दस्ताबेज पेरिसस्थित युनेस्कोको विश्व सम्पदा केन्द्रमा बुझाएका थिए।
त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्तव विभागले विभिन्न चरणमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञहरूसँग तिलौराकोट क्षेत्रमै पटकपटक छलफल भएका थिए।
पटक पटक गरिएका उत्खनन्मा तिलौराकोटभित्र प्राचीन इटा र ढुंगाका दरबारका तीन वटा भग्नावशेष भेटिएका छन्। भेटिएका भग्नावशेष र वस्तुहरूको आधारमा सिद्धार्थ गौतमबुद्धको जन्म २५ सय वर्षअघि भएपनि तिलौराकोटमा भेटिएका प्रमाणको आधारमा त्योभन्दा तीन सय वर्षअघि नै तिलौराकोटमा मानव सभ्यता र पौराणिक सहर रहेको पुष्टि गरेको थियो।