संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी र रास्वपाले घुसको डिल गरिएको अडिओबारे प्रधानमन्त्रीको जबाफ मागेको हो।
प्रमुखु प्रतिपक्षी माओवादी केन्द्रकी सांसद दुर्गा राईले मन्त्रीले घुसको डिल गरेको विषय सम्बन्धित मन्त्रीको मात्र नभइ प्रधानमन्त्रीको पनि जिम्मेवारीको विषय हुन आउने बताइन्।
अडिओ बाहिरिएको विषयमा प्रधानमन्त्री र मन्त्री दुवै मौन बस्न नमिल्ने उनले बताइन्।
'कुनै मन्त्रीको विवाद भए प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले सोच्ने विषय हो। घुसको विषयमा संवाद भएको अडिओ सार्वजनिक भएको अवस्थामा चुप लागेर बस्ने हो?,' उनले भनिन्।
मन्त्रीको घुसका डिल बाहिरिएपछि प्रधानमन्त्रीले एक्सन लिनुपर्ने उनले बताइन्।
'मन्त्रीका घुसका डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले घुस लिन पनि लिन्न, अरूलाई पनि घुस लिन दिन्नँ भन्ने टुक्काले पुग्छ कि पुग्दैन?,' उनले भनिन्।
उनले मन्त्रीहरू घुसको डिल गरिराख्ने, त्यसमा समाचारहरू आइरहने र सांसदहरू चुप लागेर बसिरहने प्रवृत्तिको आलोचना गरिन्।
'यो विवादमा भूमी व्यवस्था मन्त्री पनि जोडिनुभएको छ। यी विषयमा प्रधानमन्त्रीले यी विषयको वास्तविकता के हो भन्ने संसदमा प्रष्टसँग राख्नका लागि रूलिङको माग गर्दछु,' उनले भनिन्।
माओवादी केन्द्रकै अर्की सांसद रेखा शर्माले पनि यसबारेमा प्रधानमन्त्रीले जबाफ दिनुपर्ने बताइन्।
'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमी व्यवस्था मन्त्रीले कर्मचारी सरूवामा ७८ लाख डिल गरेको समाचार बाहिर आइरहेका छन्। यो विषयमा के भएको हो? प्रधानमन्त्रीज्यूलाई संसदमा जानकारी गराउन अनुरोध गर्छु। यसको छानबिन गरेर दोषी जो सुकै होस् उसमाथि कडा कारबाही गरियोस्। अन्यथा सरकारको एक वर्षको उपलब्धी यही हुनेछ,' उनले भनिन्।
त्यसअघि प्रतिपक्षी रास्वपा सांसद सुमना श्रेष्ठले पनि अडिओ प्रकरणबारे प्रधानमन्त्रीको जबाफ माग गरेकी थिइन्।
'भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि जवाफ आज हामी माग्छौं यो विषयमा,' उनले भनिन्। सुशासन समिति प्रधानमन्त्रीकै अध्यक्षतामा छ।
सांसद श्रेष्ठले अडिओमा एउटा मन्त्रीले अर्कोलाई पोलेको र 'बा' उच्चारण गरिएको सन्दर्भमा पनि प्रश्न उठाएकी छन्।
'अडिओमा भनिएको बा को हुन्? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो? कसको प्रश्रय? कस्तो तागत? कस्तो संस्कार? के फरक भयो यी सबै वर्ष? जनताले के पाए? संसदीय समिति त चाहिन्छ चाहिन्छ,' उनले भनिन्।