महिनावारीका कुराः समाजवादी पार्टीकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई १४ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी थिइन्। त्यो बेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो। उनका बुवा बाबुराम भट्टराई र आमा हिसिला यमी भूमिगत थिए। मानुषी पनि उनीहरूसँगै 'भूमिगत' थिइन्।
'मलाई याद भएसम्म त्यो बेला म सिक्किमतिर थिएँ,' मानुषी भन्छिन्, 'हरेक दुई वर्षमा ठाँउ परिवर्तन गर्नुपर्थ्यो। म नयाँ स्कुल भर्ना गर्ने क्रममा हिँडिरहेकी थिएँ।'
मानुषी सिक्किममा रहेका नेपाली परिवारसँग बस्थिन्। सानैदेखि परिवारबाट टाढा उनी आफ्नो पहिलो महिनावारी बेला आमाका साथ रहन पाइनन्। त्यो बेला सबैजसो किशोरीका लागि 'डर' बन्ने पहिलो महिनावारी अनुभव उनले एक्लै सम्हालिन्। कुनै कुरामा आत्तिइनन्, डराइनन्।
उनलाई महिनावारीबारे ज्ञान अगाडिदेखि नै थियो रे। त्यसैले पहिलो पटक हुँदा पूर्ण तयारीमा थिइन्।
मानुषीका अनुसार युद्धताका टाढा भए पनि आमा हिसिलाले बेलामौकामा चिठी पठाउँथिन्। चिठीमै पाठेघरको चित्र कोरेर महिनावारी हुनुका कारण र त्यसका प्रक्रियाबारे आमाले व्याख्या गरेको मानुषीलाई अझै याद छ।
महिनावारीमा शरीरबाट रगत निस्किन्छ र यो सामान्य प्राकृतिक प्रक्रिया हो भन्नेबारे सानैदेखि जानकारी पाएकाले अचम्म वा भयानक लागेन।
'म सानै हुँदा आमाले आफ्नो महिनावारीमा प्रयोग गर्ने कपडा मलाई धुन लगाउनुहुन्थ्यो,' मानुषी भन्छिन्, 'धेरैलाई यो विचित्रै लाग्थ्यो। सानी छोरीलाई फोहोर काम गर्न लगाएको भन्दै आमालाई गाली गर्थे। आमाले के सोचेर त्यो काम लगाउनुभयो थाहा छैन, तर त्यसले मलाई महिनावारी सामान्य हो भन्ने बुझायो।'
यही कारणले मानुषीलाई महिनावारी बार्ने चलन हुन्छ भनेर थाहा पनि भएन रे। साथीहरू महिनावारीमा रोएको र डराएको देख्दा उनलाई अचम्म लाग्थ्यो।
पछि उनी बाहिरी मान्छेसँग घुलमिल हुन थालिन्। तब मात्र महिनावारीमा भान्साभित्र जान नहुने र छोइछाइ हुने जस्ता व्यवहार समाजमा रहेछन् भन्ने थाहा पाइन्। उनलाई त्यो बेलै निकै अनौठो र अनावश्यक लागेको थियो यो चलन। अरूले नछुने कुरा गर्दा त्यो भनेको के होला जस्तो लाग्थ्यो।
उनी भन्छिन्, 'त्यो बेला झन् आफ्नो स्वास्थ्य र सरसफाइमा बढी ख्याल राख्नुपर्छ। महिलाको विशेष ख्याल गर्नु त कता हो, उल्टै छिःछिःदूरदूर गरिने। यस्ता नकरात्मक व्यवहार मलाई वाइयात लाग्थ्यो।'
यसले मानुषीलाई आफ्नो हुर्काइ अपवादमा पर्दो रहेछ भन्ने बोध भयो। अरू महिला महिनावारीका कुचलनमा घेरिएर हुर्किँदाको भोगाइ सुन्दा नरमाइलो लागेको उनी बताउँछिन्।
उनले भनिन्, 'मेरोजस्तो अनुभव एकदमै थोरैले मात्र पाउँछन्। तर म यो कुरामा खुसी छैन। मैले सुरक्षित वातावरण पाउने अनि मेरो वरिपरिका महिला ती सुविधाबाट वञ्चित हुँदा असाध्यै उकुसमुकुस हुन्छ।'
आफ्ना बाजे र अजीले गुफा राख्ने चलन नमान्ने भएकाले मानुषीले अरू अप्ठ्यारा व्यवहार भोग्नुपरेन रे। गुफा बस्ने चलनबारे उनले धेरैपछि दिदीबाट थाहा पाएकी थिइन्।
'सानोमा त दिदीहरू गुफा बसेको देख्दा रमाइलो लागेको थियो,' उनी भन्छिन्, 'केटीहरूसँगै बसेर गफ गर्न पाउने, स्कुल जान नपर्ने कुराले लोभ्याएको थियो। तर आमाले कथा भनेर होस् वा यथार्थ बुझाएर, त्यो भ्रमबारे सम्झाउनुभयो।'
मानुषीका अनुसार यी सबै कुचलन महिलालाई नियन्त्रणमा राख्न र महिनावारीको सहारा लिएर डर, पाप, संस्कार, धर्मको विषय उठाएर संकुचित पार्न खोजिएको हो।
राजनीतिक क्षेत्रमा अधिकारका ठूल्ठूला कुरा गर्नेले आफ्नै घरमा महिनावारीलाई सामान्य मानेर स्वीकार्न नसकेको उनी बताउँछिन्। पूर्वीयकालीन समाजमा स्वास्थ्य र सरसफाइका विषय लिएर महिनावारी बार्न थालिएको भनाइमा उनी सहमत छैनन्। बार्ने र नछुने चलन देशका सबै ठाँउ र समुदायमा नभएर केही निश्चित समुदायमा मात्र भएको उनको भनाइ छ।
'आदिवासी र जनजाति समुदायमा यस्तो हुँदैन। पूर्वी भारतको म हुर्किएको समाजमा प्रायः जनजाति नै थिए। त्यहाँ महिनावारी बार्ने व्यापक थिएन। नेपाल आएपछि बढी अनुभूति गरेँ,' मानुषी भन्छिन्, 'अरु समुदायमा स्वास्थ्य र सरसफाइबारे कुरा नउठ्ने, केही समुदायमा भने बढी नै सतर्क हुने! छाउपडी रूपमा होस् वा घरमै अलग्ग राखेर, महिनावारी सरसफाइ र आवश्यक सामग्री नभएकाले बारिएको हो भन्ने म पटक्कै मान्दिनँ।'
अहिले महिनावारीमा आवश्यक सबै साधन र सुविधा हुँदा पनि बार्ने-छुट्याउने व्यवहार किन टिकिरहेको छ? पुरानै अन्धविश्वासमा चल्नुअघि यो प्रश्न गर्न जरूरी रहेको उनी बताउँछिन्।
उनका अनुसार 'प्याड' महँगो भएर कोहीलाई आर्थिक समस्या पर्न सक्छ। यसमा सरकारले नीति ल्याउन र स्थानीय तह तथा संघसंस्थाबाट पहल गर्न आवश्यक छ। सुविधा दिनुपर्ने एउटा कुरा हो, सरसफाइ र परम्परा नाममा अपवित्र मान्ने कुतर्क गलत हो। यसमा महिलाले मात्र होइन, कसैले पनि विश्वास राख्न हुँदैन।
हाम्रा स्कुलमा पनि महिनावारी विषयमा खासै पढाइ हुँदैन। मानुषीले पनि पढ्न पाइनन्। भन्छिन्, 'केटीहरू खुसुरफुसुर गर्दै महिनावारीका कुरा गर्थे। कपडामा रगत लाग्नु चरम लाजको विषय हुन्थ्यो। यो सबै शिक्षाको कमीले हो।'
शिक्षाका माध्यमबाट यौन, शारीरिक प्रक्रिया र कुन उमेरदेखि केटाकेटीलाई यी कुरा सिकाउने भनेर थाहा पाउन सकिन्छ। महिनावारीको व्यवहार बदल्न भने नीतिनियम र कानुनले मात्र नपुग्ने उनी बताउँछिन्। यस्ता कुरा हरेक परिवारभित्रबाट विकास गर्दै ल्याउन आवश्यक रहेको उनको भनाइ छ।
'महिनावारीप्रतिको मानसिकता हटाउन हरेक व्यक्तिले यसबारे प्रश्न उठाउनुपर्छ,' उनी भन्छिन्, 'सूदुरपश्चिमको भौतिक छाउपडीसँगै सहरको लुप्त छाउपडी किन अझै स्वीकार्य छ, यसको मूलकारण थाहा पाउन सक्यौं भने समाधान त्यहीँबाट निकाल्न सकिन्छ।'
राजनीति क्षेत्रका महिला पनि महिनावारीमा खुल्न नसकेका उनको अनुभव छ। लामा बैठक, अबेरसम्म बस्नु पर्दा, शारीरिक दौडधूप धेरै भएर अप्ठ्यारो हुँदा पनि महिनावारी भएको कुरा भन्न सकिरहेका हुँदैनन्।
'पार्टीका पुरुष र महिला सदस्य आपसमा महिनावारीबारे खुलेर बोल्न नसक्ने र बिदा माग्न परे बिरामी छु भन्नुपर्ने अवस्था थियो,' उनी भन्छिन्, 'म आफैंलाई दोस्रो दिन रगतको चाप धेरै हुन्छ र कतै जान मन लाग्दैन। तर कार्यालयमा भन्न असहज हुन्थ्यो। पछिल्लो समय भने अलि खुलस्त हुन थालेको छ।'
मानुषीलाई 'पिएमएस' पनि उत्तिकै हुने बताउँछिन्। पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायतका समस्यालाई 'पिएमएस' अर्थात् 'प्रि–मेन्सट्रुअल सिन्ड्रम' भनिन्छ। (पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?)
बिहेपछि 'पिएमएस' झनै बढेकाले श्रीमानलाई यसबारे सम्झाउनु परेको थियो रे। यसले काममै असर नपारे पनि कुनै बेला त्यस्तै आइपरे खुलेर भन्छिन्। तर महिनावारीबारे बोल्दा अझै अचम्म मानिने भएकाले धेरैले उनका कुरा बुझ्दैनन्। समकालीनसँग अलि सहज भए पनि अघिल्लो पुस्ताका सहकर्मीलाई बुझाउन गाह्रो हुने उनले बताइन्।
'महिनावारी बार्ने कुराबाट उन्मुक्ति पाउने समय आइसक्यो,' मानुषी भन्छिन्, 'अब पनि बोलिएन भने पछि पर्नेछौं। स्वतन्त्र भएर कुरा गर्ने, हिँडडुल गर्ने र महिनावारीका शारीरिक र मानसिक अनुभव नलुकाई खुलेर भन्न जरुरी छ।'
महिनावारीका कुरा श्रृंखलाका अन्य स्टोरीहरूः
शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला
सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर
स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ
अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई