महिनावारीका कुरा
डाक्टर गरिमा श्रेष्ठ अस्पताल कम, विद्यालय र गाउँ क्षेत्रमा बढी देखिन्छिन्। पोखराको मनिपाल टिचिङ हस्पिटलबाट एमबिबिएस पढेकी उनी बिरामी जाँच्नुभन्दा उनीहरूलाई स्वस्थ रहने ज्ञान दिने अभियानमा व्यस्त छिन्।
प्रजनन् स्वास्थ्य, महिनावारी र त्यस समय ध्यान पुर्याउनुपर्ने आवश्यकता उनको अभियानको मुख्य विषय हो। 'सी' नामक संस्थामार्फत् उनले यो अभियान अघि बढाइरहेकी छिन्।
'सी' अर्थात् उनी। स्त्री जनाउने यो शब्दलाई गरिमाले एक वर्षअघि सञ्चालनमा आएको आफ्नो संस्थाको नाम दिइन्। महिला स्वास्थ्य र तिनका शारीरिक ज्ञानबारे जनचेतना फैलाउने कार्यमा संस्था केन्द्रित छ।
'सी सञ्चालन गर्नुको उद्देश्य हरेक व्यक्तिमा महिनावारी स्वास्थ्य र सरसफाइबारे चेतना गराउनु हो,' २३ वर्षीया गरिमाले भनिन्, 'हाम्रो मुख्य लक्ष्य पुनः प्रयोग गर्न मिल्ने प्याड बारे जानकारी दिई प्रयोगमा प्रोत्साहन गर्नु हो।'
गरिमा संस्थामार्फत् महिनावारी अव्यवस्थित रहेका क्षेत्रमा ज्ञान र चेतना बाँड्छिन्। साथै ती क्षेत्रमा पुनः प्रयोग गर्न मिल्ने प्याड निःशुल्क वितरण गर्दै आएकी छिन्।
काठमाडौंमा हुर्किएकी गरिमालाई पहिले महिनावारीका समस्याबारे धेरै ज्ञान थिएन। आमाबुबा शिक्षक भएकाले छोइछाइका कुचलन पनि सामना गर्नुपरेन रे।
जब उनी उच्च शिक्षाका लागि पोखरा पुगिन्, अनि मात्र महिनावारी कतिपयलाई समस्या बनिरहेको थाहा पाइन्। महिनावारी फोहोर मानिने, घर-भान्साभित्र छिर्न नदिने र पोषणयुक्त खानपिन गर्न नहुने जस्ता कुरा उनलाई चित्त बुझेन।
गरिमाले यो विषयमा कदम उठाउने सोचिन्। पाँच वर्षे अध्ययन सकेर उनले आमाबुबालाई समाजसेवाप्रतिको चाहना र पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन बारे बताइन्। उनीहरू सकारात्मक भए, 'सी' स्थापना भयो।
गरिमाले आफैंले पढेको विद्यालयबाट त्यहाँका केटाकेटीलाई महिनावारी, प्रजनन् स्वास्थ्य र पुनः प्रयोग गर्न मिल्ने प्याड बारे तालिम दिइन्। केटाकेटीको सक्रियता र विद्यालयबाट पाएको सकारात्मक प्रतिक्रियाले यो कदम झनै अघि बढाउन हौसला मिलेको उनी बताउँछिन्।
पुनः प्रयोग गर्न मिल्ने प्याडको अवधारणा ल्याउने गरिमा पहिलो व्यक्ति होइनन्। तर 'स्टेरिलाइजेसन' बारे नयाँ सोच आफूले ल्याएको बताउँछिन्।
कुनै पनि वस्तुलाई किटाणु वा अन्य सुक्ष्म जीवबाट मुक्त बनाउने प्रक्रियालाई 'स्टेरिलाइजेसन' भनिन्छ।
'हामीले महिनावारीमा प्रयोग गर्ने कपडा होस् वा प्याड, साबुनले धोएर घाममा सुकाए पनि किटाणुमुक्त हुँदैनन्,' गरिमाले भनिन्, 'ती कपडा स्टेरिलाइजेसन प्रक्रियामा लान आवश्यक हुन्छ र यस बारे थोरैलाई मात्र थाहा छ।'
उनका अनुसार यो प्रक्रिया अण्डा उसिनेजस्तै सहज छ। धोइएको कपडा प्लास्टिकमा राम्ररी पोको पारेर प्रेसर कुकरमा आधा पानीमा डुबाउने र एक सिठ्ठी लगाउने। यसो गर्दा बाफिएर कपडाका किटाणु मर्छ र फेरि प्रयोग गर्दा स्वस्थकर हुन्छ।
खाना पकाउने भाँडामा महिनावारीको कपडा हाल्नु धेरैका लागि कल्पना बाहिर छ।
तर गरिमा भन्छिन्, 'कपडाका किटाणुमुक्त हुन्छन् भने हिचकिचाउन भएन। स्वास्थ्यभन्दा ठूलो कुरा के होला र। बेग्लै भाँडा बनाउन पनि सकिन्छ नि।'
उनका अनुसार पुनः प्रयोग गर्न मिल्ने प्याड आर्थिक अवस्था कमजोर भएकालाई लक्ष्य गरेर बनाइएको हो। यस्तो प्याड करिब दुई वर्ष प्रयोग गर्न सकिन्छ। सामान्य प्याडकै आकार भएकाले लगाउन सहज हुने उनी बताउँछिन्।
'प्याड नरम सुती कपडाले बनेको हुन्छ। स्वास्थ्यमा असर गर्ने रसायन हुँदैन। छालामा समस्या आउँदैन,' उनले भनिन्, 'यसले प्लास्टिकका प्याडले निम्त्याएको कहाँ फाल्ने भन्ने समस्या पनि कम गर्छ।'
उनले विभिन्न ठाउँमा यी प्याडबारे ज्ञानका साथै बनाउने तरिका बारे पनि तालिम दिएकी छन्। यसबाट महिलाहरू आफैंले स्वस्थकर प्याड बनाएर प्रयोग गर्न सकून् भन्ने उनको लक्ष्य हो।
'पुनः प्रयोग गर्न मिल्ने प्याडमा चुहावट समस्या पनि हुँदैन। रगतको चापअनुसार दोब्बर कपडा राख्न सक्छौं,' उनले भनिन्, 'करिब ६ घण्टाको अन्तरालमा परिवर्तन भने गर्नुपर्छ।'
उनले प्याड व्यावसायिक रूपमा बिक्री गरेकी भने छैनन्। किन्न चाहे प्रतिप्याडको ६५ रुपैयाँ पर्छ।
'सी' को एक वर्ष अवधिमा गरिमाले झोर, पनौती र बुढानिलकण्ठ लगायत क्षेत्रमा प्याडबारे तालिम दिएर निःशुल्क वितरण गरिसकेकी छिन्। अचेल उनलाई विभिन्न अस्पतालबाट एमबिबिएस, नर्सिङ र पब्लिक हेल्थका विद्यार्थीले पनि तालिम दिन बोलाउँछन्।
गरिमाको अनुभवअनुसार महिलाहरू महिनावारी कुरा गर्न लजाउँछन्। त्यही लाजले महिनावारीका कपडा बाहिर घाममा सुकाइँदैन। अँध्यारो कोठाभित्र वा अर्को लुगाले छोपिन्छ। यसो गर्दा ती कपडाका किटाणु मर्दैनन्। फेरि प्रयोग गर्दा योनी चिलाउने र विभिन्न संक्रामक रोग फैलिने सम्भावना हुन्छ।
'गाउँघरमा महिनावारी बेला दूध, दही, माछामासु जस्ता पोषिलो खान नहुने अन्धविश्वास छ जुन गलत हो,' उनले भनिन्, 'महिनावारी बेला झन् शरीर कमजोर हुन्छ। त्यही बेला पोषण अभाव हुँदा रगत धेरै बग्न सक्छ र झनै कमजोरी हुन्छ।'
महिनावारीका यस्तै स–साना लाग्ने विषयबारे 'सी'ले विस्तृत ज्ञान दिँदै आएको छ। यो काममा धेरैले समर्थन गरिरहेकै छन्। कतिपयको रुढिवादी सोचले भने काममा बाधा परिरहेको गरिमाको भनाइ छ।
'गाउँका विद्यालयमा प्रजनन् र स्वास्थ्य विषय पढाउने शिक्षक–शिक्षिका नै हाम्रो कार्यक्रममा सहभागीता जनाउँदैनन्,' उनी भन्छिन्, 'यसले समाजको विकास पछाडि धकेल्छ। विद्यार्थीको सोचमा असर पार्छ। उनीहरू खुला हुनुको साटो झनै खुम्चिन्छन्।'
महिनावारीको रगत अशुद्ध र फोहोर भन्नुमा कुनै चिकित्सकीय कारण नभएको गरिमा बताउँछिन्।
'पहिलेपहिले पर्याप्त प्याड र सफाइबारे ज्ञान अभावले फोहोर मानिएको हुनसक्छ,' उनी भन्छिन्, 'अहिले हामीसँग सबै सुविधा छ। अब पनि त्यही पुरानो सोच राख्नु मूर्खता हो। मुख्य कुरा शारीरिक स्वच्छता हो।'
गरिमाका अनुसार महिनावारीका बेला 'पिएमएस'बारे पनि सचेत हुनु आवश्यक छ। त्यसका लक्षण राम्रोसँग याद गरिएन भने मानसिक असन्तुलनको समस्या हुनसक्ने विभिन्न अध्ययनले पनि देखाएका छन्।
पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायतका समस्यालाई 'पिएमएस' अर्थात् 'प्रि–मेन्सट्रुअल सिन्ड्रम' भनिन्छ। (पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?)
'ढिलो होस् वा चाँडो, परिवर्तन आउँछ। बुझाउन सजिलो नहोला तर यसबारे बोलिरह्यौं भने कुनै दिन सबैलाई सामान्य लाग्छ,' उनी आशावादी छन्।
महिनावारीका कुरा श्रृंखलाका अन्य स्टोरीहरूः
स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ
अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई