महिनावारीका कुरा
अभिनेत्री सुरक्षा पन्तलाई आफ्नो पहिलो महिनावारी अनुभव आज पनि ताजा छ।
१४ वर्षे सुरक्षालाई स्कुल जान तयार भइरहँदा शरीर असामान्य भएको महशुस भयो। महिनावारी भएको अन्दाज लगाउन उनलाई समय लागेन। शारीरिक र सामाजिक परिवर्तनबारे भने अज्ञान नै थिइन्।
'महिनावारीमा शरीरबाट रगत मात्र बग्छ भन्ने सोच्थेँ। योनीबाट कति रगत बग्छ भन्ने कुरा त भोगेपछि थाहा भयो,' सुरक्षाले भनिन्।
आमा र दिदीबहिनीसँग हुर्के पनि सुरक्षाले कहिल्यै महिनावारीबारे ज्ञान पाइनन्। त्यसैले पहिलोपटक उनी अरू किशोरी झैं डराएकी थिइन्। त्यसमाथि उनको परिवार सामाजिक रितिथितिको चपेटामा अल्झिएको थियो। त्यो तोडिहाल्ने क्षमता उमेरले भ्याएन। अँध्यारो कोठामा चुपचाप बसिन्।
पहिलो दिन स्कुल जान नपरेकाले उनलाई खुसी नै लाग्यो। अनावश्यक नियमले थिच्न थालेपछि भने उनी अत्तालिइन्। भोलिपल्टै उनको जिद्दी व्यवहार सुरू भइहाल्यो, 'घर बसेर अनावश्यक नियम मान्नुभन्दा स्कुल जानै ठीक।'
पन्ध्र दिन लुक्नुपर्ने चलनमा उनको जिद्दीले केही सहज बनायो। पछिका झन्झटबाट भने टाढा भाग्न सकिनन्। सुरक्षाले महिनावारीबारे ज्ञान आफ्नै भोगाइ र अनुभवबाट पाइन्। नौ कक्षासम्म पनि महिनावारीबारे अलमल उनी नेपालको कमजोर शैक्षिक प्रणालीलाई दोष दिन्छिन्।
'पाठ्यक्रममा प्रजनन् स्वास्थ्यबारे विस्तृत उल्लेख नगरिने, शिक्षक खुलेर बोल्न नखोज्ने र लाजको विषय बनाएर हाँस्ने,' अरू झैं सुरक्षाले पनि विद्यार्थी जीवनका कठिनाइ भोगेकी छन्।
यस्तै महिनावारीमा हुने शारीरिक प्रतिक्रियाका बारेमा धेरैलाई थाहा हुँदैन। यसले महिलाको मुडदेखि व्यवहारसम्म फरक पार्न सक्छ। महिनावारी हुनुअघि प्रायः महिला 'प्रि- मेन्सटुरल सिन्ड्रोम' अर्थात् 'पिएमएस' को शिकार हुन्छन्। यो कुनै रोग होइन। महिनावारी हुनु केही दिनअघि वा बीचमा हर्मोनमा आउने परिवर्तनका कारण देखिने व्यवहारिक परिवर्तन हो।
यसबारे महिलालाई मात्र होइन, पुरूषलाई पनि उत्तिकै जानकारी हुन जरूरी छ। पिएमएसमा महिलाहरूको मुड बदलिने, बिनाकारण रिसाउने, झर्किने, निरश हुने, जीउ गल्नेदेखि लिएर स-साना कुरामा चिढिने हुन सक्छन्। अर्को मान्छेले उसका व्यवहार नबुझ्दा सम्बन्ध नै नराम्रो हुनसक्छ। यो सबैमा उस्तै भने हुँदैन।
'यो सुन्दा जति सामान्य लाग्छ, त्यति नै गम्भीर छ। कतिपय महिला पिएमएसका कारण डिप्रेसन र एनजाइटीका बिरामी समेत हुन्छन्,' उनले भनिन्, 'यसलाई हलुका रूपमा लिनु हुँदैन। यसबारे ज्ञान भए समस्या सहजै सल्टिन्छ, नभए जटिल हुन्छ।'
योसँगै स्कुलहरूमा सफा पानी र फोहोर फ्याँक्ने उचित ठाउँ नहुनु उनी मुख्य समस्या मान्छिन्। यसले विद्यार्थीको स्वास्थ्य मात्र नभएर वातावरणमा समेत असर पुर्याइरहेको छ।
उनका अनुसार महिनावारीका यस्ता समस्या फिल्म क्षेत्र र अरू कार्यक्षेत्रमा पनि उत्तिकै छन्।
'सुटिङ क्रममा दुर्गमतिर जानुपर्छ। सफा पानी र प्याड हुँदैन,' उनले भनिन्, 'प्रयोग भएका प्याड पनि कहाँ फ्याँक्ने भन्ने ठूलै समस्या हुन्छ।'
आफ्नो महिनावारीको यस्तै अनुभव सुरक्षाले सेतोपाटीसँग साटिन्- एकपटक सुटिङक्रममा उनी महिनावारी भइन्। प्याड नभएकाले मेकअप आर्टिस्टले प्रयोग गर्ने कपास मागेर चलाउनुपर्यो।
यस्ता साना देखिने समस्याले महिनावारी अझै पनि बाधा बनिरहेको उनी बताउँछिन्।
कोहीकोही सरसफाइ र स्वास्थ्यलाई मध्यनजर गरेर पहिलेपहिले बार्ने चलन राखिएको पनि भन्छन्। सुरक्षा भने यसलाई अर्थहीन मान्छिन्। भान्साकोठा छिर्न नदिएर बारीमा काम गर्न लगाउँदा आराम हुँदैन। त्योसँगै सफाइबारे महिला आफैं सचेत हुने उनी बताउँछिन्।
पितृसत्तात्मक समाजका कारण महिलाले नै पनि महिनावारी बार्ने चलन अघि बढाएका सुरक्षाको बुझाइ छ।
'समाजले सुरूमा महिलाको महिमालाई संस्कृतिसँग जोड्यो र संस्कारी हुनु नै इज्जतको विषय बनायो। समाजले बनाएको त्यही इज्जत जोगाउन आज पनि महिला पुराना चलनचल्ती अपनाउन बाध्य छन्,' उनले प्रस्ट्याइन्।
उनका अनुसार महिलालाई आर्थिक वा राजनीतिक उत्थानले इज्जत बढाउने ज्ञान दिएको भए आफूलाई नै समस्यामा पार्ने संस्कृति मानेर बस्थेनन्।
'सबैलाई आफ्नो इज्जत प्यारो हुन्छ। तर यहाँ कुन विषयमा आफ्नो इज्जत खोज्ने भनेर अलमल छ,' भन्छिन्, 'यो कुरामा महिला आफैं सक्रिय रुपमा अघि बढ्न जरुरी छ। पुरुषले पनि महिनावारी ठूलो विषय नबनाई हरेक क्षेत्रमा महिलाको सहयोग गर्नुपर्छ।'
सुरक्षाले आफ्नो हकमा पनि केही प्रयास गरेकी थिइन्। दस कक्षा पढुन्जेल महिनावारीमा चार दिन बार्थिन्। चलनचल्तीका ती नियमबारे ज्ञान नभएकाले उनी त्यसको विरोधमा केही बोल्न सकिनन्। महिनावारी र त्यसका नाममा चलिआएका कुरितीबारे उनले कलेज पढ्न थालेपछि बुझिन्।
बुटवलमा आफ्नो ठूलो परिवारमा बस्दै आएकी सुरक्षा एकाएक काठमाडौंको होस्टलमा एक्लै बस्न आइपुगेकी थिइन्। यो अनुभव उनलाई आकाश–पाताल फरक भयो।
'होस्टलमा कोही महिनावारी भए-नभएको केही थाहा हुन्नथ्यो। त्यो कुरा कसैले ठूलो विषय पनि बनाएनन्,' सुरक्षाले भनिन्, 'त्यो बेला भान्सा छिर्दा वा पूजा गर्दा समाजले भनेको जस्तो केही अनर्थ भएन। त्यो त केबल अन्धविश्वास रहेछ भन्ने बुझेँ।'
आफूले जानेको यही ज्ञान सुरक्षालाई आमासँग साट्नु थियो। तर, रुढिवादी समाजमा हुर्के-बढेकी उनकी आमालाई महिनावारीका अन्धविश्वासबारे खुलस्त पार्न सजिलो थिएन। सुरक्षा आफैंले चुपचाप विरोध जनाइरहिन्, 'घर जाँदा मैले महिनावारी भएको कुरा कसैलाई भनिनँ। थाहा पाइहाले पनि बार्ने दिन बिस्तारै घटाउँदै लगेँ।'
सुरूमा परिवारसँग महिनावारी लुकाउँदै पूजाआजामा उपस्थित भइन्। पछि चार दिन बार्ने चलनलाई अनेक बहाना बनाएर तीन, दुई दिन गर्दै घटाइन्। अनि विस्तारै परिवारको सोच बदलिन थाल्यो।
त्यसयता परिवारसँग महिनावारीबारे खुलेर बोल्न सुरक्षालाई कुनै संकोच छैन। छोइछाइ नियमले बाँधेको छैन। तर उनी आमा र परिवारको विश्वासलाई उत्तिकै सम्मान गर्छिन्।
'पहिले मान्छेको इज्जत भनेकै उसको धार्मिक परम्परा र चालचलन थियो,' सुरक्षा भन्छिन्, 'हामीले एकाएक ती चलनमाथि प्रश्न उठाएर कसैको विश्वासमा चोट पुर्याउन उचित हुँदैन। त्यसलाई सम्झाइबुझाइ गरेर विस्तारै परिवर्तन गर्न सकिन्छ।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
महिनावारीका कुरा श्रृंखलाका अन्य स्टोरीहरूः
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई