माल्भिका सुब्बा पहिलो पटक महिनावारी हुँदा बाह्र वर्षकी थिइन्।
२०५० सालको कुरा हो। त्यो बेला महिनावारीलाई कुन हदसम्म हेला गरिन्थ्यो, हामी सबै अनुमान लाउन सक्छौं।
त्यो समयमा महिनावारी चलनका छोइछिटो झेल्नु नपरेको सुन्दा अचम्म लाग्न सक्छ। तर लिम्बू बुबा र बाहुन आमाकी छोरी माल्भिकाले यी सबै खेप्नुपरेन।
'आमा नर्स हुनुहुन्थ्यो। महिनावारी हुँदा बढी ध्यान सरसफाइमा दिन भन्नुहुन्थ्यो। तर बार्ने कुरामा कहिल्यै विश्वास गर्नु भएन,' माल्भिकाले आफ्नो किशोरावस्थाको महिनावारी अनुभव सुनाउँदै भनिन्, 'भान्सामा छिर्न, खानेकुरा र बोटबिरुवा छुन, पूजाकोठामा जान नहुने जस्ता चलन हाम्रो घरमा भएन।'
जुन बेला बालिकाहरूलाई महिनावारीबारे थाहा पाउन आफ्नै महिनावारी पर्खनु पर्थ्यो, त्यो बेला माल्भिका भने धेरै अघि बढिसकेकी थिइन्। उनकी आमाले उनलाई महिनावारी हुनुअघि नै त्यसबारे सबै जानकारी गराउँदै सजग गराइसकेकी थिइन्।
सरसफाइमा कति ध्यान पुर्याउनु पर्ने, के-कस्ता खानपिन गर्नुपर्ने जस्ता आधारभूत जानकारी आफूलाई महिनावारी हुनु अगावै थाहा भएको उनी बताउँछिन्।
शिक्षित र स्वास्थ्य क्षेत्रमा आबद्ध परिवारमा जन्मिनाले उनको महिनावारी 'हाउगुजी' बनेन। उनी आफूलाई भाग्यमानी ठान्छिन्। तै बाल्यकालमा कहिलेकाँही त्यही 'भाग्य' माल्भिकालाई 'अभिशाप' पनि लागेको उनले बताइन्।
'महिनावारी हुँदा शरीर दुख्थ्यो। आराम मात्र गरेर बस्न मन लाग्थ्यो। तर महिनावारीलाई आराम गर्ने बहाना बनाएको आमालाई मनपर्थेन,' उनले भनिन्, 'अरु साथीले केही नगरी आराम गरेको देख्दा मेरी आमा चाहिँ कठोर मन भएको जस्तो लाग्थ्यो।'
विद्यालय पढ्दासम्म महिनावारीमा 'बार्ने' चलन नभोगेकी माल्भिकाले कलेज गएपछि यसबारे सचेत भइन्। साथीहरूका महिनावारीको पीडादायी कथा सुन्दा अच्चम लाग्थ्यो।
यिनै कुराहरूले उनलाई अनुभूति गरायो। सानोमा आमाका कुराको गलत अर्थ लगाए पनि पछि सही र गलत छुट्टाउन सकिन्। सहरी भेगमा महिनावारी बेला 'आराम' पाए पनि गाउँघरमा हुने यसको सास्ती बुझिन्।
तर साथीहरूले 'बारेको' अनुभव कथा जस्तो मानेकी माल्भिकालाई आफूले नै भोग्नु पर्दा कुनै अपराधै गरे झैं महशुस भयो।
लिम्बू परिवारकी माल्भिका नेवार परिवारमा बुहारी भएर भित्रिइन्। भिन्नाभिन्नै संस्कृति र रितिरिवाजका कारण उनलाई सुरूका दिनमा त घुलमिल हुनै गाह्रो भयो। तर मुख्य समस्या त्यो थिएन।
बुढापाका सदस्य रहेका ठूलो नेवार परिवारमा महिनावारी बार्ने चलन थियो। यसको चपेटामा माल्भिका परिहालिन्।
'बिहे भएको केही दिनमै म महिनावारी भएँ। बार्ने चलन मान्नु कर लाग्यो,' उनले आफ्नो पहिलो 'नछुने' अनुभव सुनाउँदै भनिन्, 'भान्सामा छिर्न नदिँदा, अरूसँगै बस्न नपाउँदा साह्रै चित्त दुख्थ्यो। परिवारका पुरुष सदस्यले त्यसबारे आवाज नउठाएको देख्दा अनौठो लाग्थ्यो।'
त्यस समय माल्भिकाको मनमा केबल एउटै कुरा आइरह्यो– 'कोही यस विषयमा किन प्रश्न गर्दैनन्?'
सधैँ खुला आकाशको पन्छी जसरी बसिरहेकी उनले बिहेपछि पिँजरामा थुनिएको अनुभव गरेको बताउँछिन्। तर माल्भिका चुप लागेर बस्ने खालकी थिइनन्। कसैले साथ नदिए पनि एक्लै त्यसविरूद्ध आवाज उठाउने निर्णय गरिन्।
'सुरूमा सबैलाई सम्झाइ-बुझाइ गर्ने कोशिश गरेँ। तर बुझ्नै नचाहने मान्छेलाई सम्झाउनै गाह्रो हुँदो रहेछ,' उनले भनिन्, 'त्यसैले मैले महिनावारी भएको जानकारी नै दिन छाडेँ। सामान्य दिन जसरी नै घरका काम गर्न थालेँ।'
परिवारका सदस्यका रूढीवादी सोचलाई माल्भिकाले चुप लागेरै प्रतिवाद गर्न थालिन्। कसैलाई नभनी पूजापाठमा उपस्थित हुन थालिन्।
'मेरो छोराको पास्नीमा मरो महिनावारी भएको थियो। यसबारे कसैलाई भनिनँ। कार्य सम्पन्न भयो,' माल्भिकाले भनिन्, 'पछि मैले यो कुरा मिडियामा गरेकी थिएँ। घरकाले थाहा पाउनु भयो र यस विषयमा ठूलै बहस भयो। म पछि हटिनँ।'
यसरी माल्भिकाले महिनावारी हुँदा पनि दशैं र अरू चाडपर्वमा सहभागी भइन्। वर्षौंदेखि जरा गाडेर बसेको महिनावारी कुचलन हटाउने कोशिश गरिन्। र, आजको दिनसम्म उनी यो प्रयासमा छिन्।
पूर्व मिस नेपाल भएसँगै फिल्म र पत्रकारितामा पनि चर्चा बटुल्न सफल माल्भिका सुब्बाको जीवन व्यस्त नै छ। घरायसी र बाहिरी काममा सक्रिय उनले धेरै तितामिठा अनुभव बटुलिसकेकी छिन्। काममा आएका कयौं बाधाहरूको सामना गरिसकेकी छिन्।
तर महिनावारीलाई उनले कहिल्यै बाधाको रुपमा लिएकी छैनन्। केटाकेटी बेला आमाले भनेका कुरा आफ्नो काममा लागू गर्छिन्। महिनावारी हुँदा काम नगर्ने वा त्यसलाई बहाना बनाएको माल्भिकालाई मनपर्दैन। उनी यसलाई सामान्य प्रक्रिया मान्छिन् र सामान्यै हिसाबमा चल्नुपर्ने बताउँछिन्।
कतिपटक महिनावारीको समयमा अप्ठ्यारो परिस्थिति सिर्जना भए पनि माल्भिका त्यसलाई सामान्य रुपमै सम्हाल्छिन्। उनले यस्तै एउटा अनुभव सुनाइन्।
माल्भिका हिमालयन टिभीको चर्चित जोडीहरूका प्रेम कथा बाँड्ने कार्यक्रम 'जीवनसाथी' कार्यक्रमकी सञ्चालिका हुन्। एक दिन माल्भिका आफ्नो सेटमा तयार भएर गइन्। उपस्थित अतिथिसँग कुराकानी गर्दैगर्दा आफू महिनावारी भएको महशुस गरिन्।
'त्यो दिन कुराकानीकै बीचमा महिनावारी भएको थाहा पाए पनि मैले त्यसमा कुनै प्रतिक्रिया दिइनँ। सामान्य तरिकाले कुरा गरिरहेँ,' घटना सम्झिँदै माल्भिकाले भनिन्, 'मेरो कपडाभरि रगत लागिसकेको थियो। तर कसैलाई केही भनिनँ। पछि शौचालय गएर सरसफाइ गरी फेरि काममा लागेँ।'
महिनावारीलाई आफ्नो कमजोरी वा कामको बाधा बन्न नदिन उनी सबै महिलालाई सुझाउँछिन्।
उनी भन्छिन्, 'यो केबल एउटा सामान्य प्राकृतिक प्रक्रिया हो। चार दिन भए पनि आराम गर्न पाउने बहानामा कहिल्यै आफ्नो कामबाट भाग्नु हुँदैन।'
'सबै महिलाको शरीर एउटै नहुने भएकोले कोहीलाई यस्तो समय धेरै गाह्रो पनि हुन सक्छ,' यसै विषयमा उनले थपिन्, 'त्यति बेला भने आराम गर्नैपर्ने हुन्छ। तर पछिल्लो समय सामान्य महिनावारीलाई पनि कतिपयले एकदमै ठूलो बनाएर व्यवहार गरेको देख्छु। जुन गलत हो। यसलाई विशाल कुरा मान्नै हुँदैन।'
आरामको नाममा महिनावारी बार्ने चलनका कारण पनि महिलाहरू थुप्रै क्षेत्रबाट पछाडि परेका उनको भनाइ छ। यस्ता चलन हटाउन सबैले यसबारे खुलेर कुरा गर्न थाल्नुपर्ने उनी बताउँछिन्।
भन्छिन्, 'महिनावारी हामीले सामान्य कुराका रूपमा छलफल गर्नुपर्छ। जति धेरै यसबारे बोल्न सक्यौं, त्यति नै यो विषय सामान्य लाग्न थाल्छ।'
ग्रामिण भेगमा छाउप्रथाकै कारण महिलाले ज्यान गुमाउनु परेका समाचारले उनलाई दिक्क बनाउँछ। सहरभित्रै पनि मानसिक छाउप्रथा गडेर बसेको उनले देखेकी छन्।
जुन घरमा महिनावारी 'बारिन्छ', त्यहाँ कहिल्यै पनि महिलालाई समान व्यवहार नहुने माल्भिकाको विश्वास छ। त्यसैले उनले आफ्नो छोरालाई पनि महिनावारीका विषयमा पूरा जानकारी दिने सोचेकी छन्।
'छोरा तीन वर्षको छ। ठूलो भएपछि उसले पनि महिनावारीलाई सामान्य प्रक्रिया मान्न जरूरी छ। बुझ्ने भएपछि सिकाउँदै जानेछु,' उनले भनिन्,'छोराछोरी दुवैलाई जानकारी गराए न समाज फेरिन्छ। महिला एक्लैले गरेर सकिने कुरा होइन। महिलाका साथी, श्रीमान, दाजुभाइ सबैले यसबारे बुझ्न आवश्यक छ। यो कुप्रथा एकैपटक हट्दैन तर आफ्नो घरबाट सुरू गर्यौं भने धेरै समय पनि लाग्दैन।'