नायिक साम्राज्ञी राज्यलक्ष्मी शाह सानैमा होस्टल बसेकी हुन्। त्यो पनि घरभन्दा धेरै टाढा भारतमा। कक्षा एकदेखि उतै पढेकी साम्राज्ञी १२ वर्षमा पहिलोपटक महिनावारी भएकी हुन्।
त्यो बेला उनी ६ मा पढ्थिन्। न आमा, न कोही दिदीबहिनी, आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे बुझाइदिने कोही भएन। महिनावारीका सामान्य जानकारी दिने कोही थिएन। त्यसैले होला, पहिलो महिनावारीमा उनी धेरै आत्तिएकी थिइन्।
'मलाई त्यो बेलासम्म महिनावारी के हो भनेर पनि थाहा थिएन,' साम्राज्ञी भन्छिन्, 'आफ्नो शरीरबाट रगत आएको देखेर निकै डराएँ। नजिकैको दिदीलाई बोलाउन गएँ। मलाई लाग्यो, त्यो कुनै किसिमको रोग हो।'
आमाबुबा कोही नभएको ठाउँमा आफू बिरामी भएको भान उनलाई भयो।
'मैले दिदीलाई बिरामी भएर शरीरबाट रगत आयो भन्दा दिदी हाँस्दै 'तिमी अब महिला भयौ' भन्नुभएको थियो,' उनले भनिन्, 'एक छिन त अकमक्क परेँ।'
साम्राज्ञीले त्यो बेला 'महिला हुनु'को अर्थ बुझिनन्। उनी चिन्तित थिइन्।
यता नेपालमा उनकी आमा छोरी महिनावारी भएको सुनेर खुसी थिइन्। आफ्ना सबै साथीलाई 'छोरी ठूली भएको' सुनाउन थालिन्।
साम्राज्ञीलाई भने महिनावारीलाई सामान्य रूपमा बुझ्न गाह्रो भइरहेको थियो। यही क्रममा यसलाई बहानाका रुपमा लिँदै गइन्।
'महिनावारी बेला ज्यान साह्रै दुख्थ्यो। दिदीहरूले आराम गर्न भन्नुहुन्थ्यो। पछि हरेक महिनावारीमा मलाई स्कुल जान मन लाग्न छोड्यो। कसैले काम अर्हाए पनि महिनावारीकै बहाना बनाएर टार्थेँ।'
उमेर बढेसँगै विस्तारै उनले महिनावारीको अर्थ बुझ्न थालिन्। महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रियालाई उनले सामान्य मान्दै आफ्नो पढाइ र काममा ध्यान दिन थालिन्। महिनावारी बहाना बन्न छाड्यो। खानपिन, सरसफाइ र स्वास्थ्यमा बढी सचेत थिइन्। तर स्कुलको वातावरण देखेर उनलाई अचम्म लाग्न थालेको थियो।
'साइ समुदायको स्कुल पढेको, महिनावारी हुँदा मन्दिर जान नहुने, छुन नहुने जस्ता कुराले मलाई सधैं अचम्म लाग्थ्यो। आखिर महिनावारीमा के छ र त्यसरी मन्दिर जानै नहुने भने जस्तो लाग्थ्यो,' उनले सुनाइन्।
भारतको परिवेशमा घुलमिल भएकी साम्राज्ञीलाई विदामा नेपाल आउँदा पनि त्यही सकस भोग्नुपर्थ्यो। नेपालमा महिनावारीबारे फैलिएको कुचलनले उनलाई पनि छाडेन। उनी सात कक्षादेखि नेपालै पढेकी हुन्। स्कुलमा महिनावारीको पाठ पढ्दाको क्षण उनलाई अझै याद छ।
'स्कुलमा कक्षा ८ देखि प्रजनन स्वास्थ्य विषय पढ्नुपर्थ्यो। अरू बेला प्रश्नोत्तर गर्दै पढाउने सर त्यो पाठ पठाउँदा हिच्किचाउँथे। अर्कोतिर केटाहरू त्यसलाई मजाक बनाएर हाँसिरहेको हुन्थे।'
साम्राज्ञीले भने यो विषय किन हास्यास्पद वा लज्जास्पद थियो, बुझिनन् रे। शिक्षक भएर महिनावारीका विषयमा खुलेर ज्ञान दिनुपर्ने ठाउँमा उल्टै त्यो पाठ हतारमा सकाउन खोज्ने व्यवहार देखिन्।
महिनावारीलाई असामान्य कुरा बनाइएका थुप्रै अनुभव साम्राज्ञीले भोगेकी छिन्। उनका आमाबुबा काठमाडौं बसे पनि साम्राज्ञी आफ्नो जन्मस्थल वीरगञ्जै बस्न रुचाउँथिन्। सानोमा हजुरआमा-बुबासँगै हुर्केकी उनको मन त्यतै तानिएको थियो। तर, महिनावारी बेलामा हजुरआमाले तीन दिन 'बार्न' लगाउने हुँदा वीरगञ्ज जान उनी डराउँथिन्।
भान्सा छिर्न नहुने, पूजा गर्न नपाउने, सबैतिर ध्यान पुर्याएर अलग्ग बस्नुपर्ने जस्ता व्यवहारले उनलाई अत्याउँथ्यो। तै साम्राज्ञीले हजुरआमा-बुबाको सोच प्रतिवाद गरिनन्।
'उहाँहरूको पालामा जे चलन थियो, त्यति बेला त्यही सही थियो होला,' उनी भन्छिन्, 'अहिले आएर बुढा भएका हजुरआमा-बुबासँग यस कुरामा विवाद गर्नुको केही अर्थ हुँदैन।'
कसैको विश्वास वा चलिआएको रितिरिवाजमा ठेस नपुर्याउने तर कसैले परम्पराको नाममा कुचलन फैलाइरहेको छ भने चुप लागेर नबस्ने उनी बताउँछिन्। साम्राज्ञी आफ्नो हजुरआमा-बुबाको विश्वासलाई जति सम्मान गर्छिन्, त्यति नै महिनावारीको विषयमा खुलेर कुरा गर्नुपर्छ भन्ने धारणा राख्छिन्।
अझै पनि 'पढे-लेखेका' भनिनेहरू महिनावारी कुरा गर्दा असामान्य मान्छन्। र, यो अनुभव उनले आफ्नै कार्यक्षेत्रमा भोगेकी छन्।
'एकपटक सुटिङ क्रममा महिनावारी भएँ,' उनले भनिन्, 'मेकअप गरिरहेका बेला भएकाले त्यहीँका एक जना भाइलाई प्याड किनेर ल्याइदिन अनुरोध गरेँ। तर मेरै छेउमा बस्नु भएको सहकर्मीलाई त्यो 'हर्कत' असामान्य लागेछ।'
उनले थपिन्, 'सबभन्दा अनौठो कुरा त उहाँ अमेरिकामा पढेर आउनु भएको हुनुहुन्थ्यो। त्यही पनि महिनावारीका विषयमा खुलेर बोल्नु हुँदैन भन्ने मानसिकता रहेछ उहाँको।'
काठमाडौंमा अहिले पनि पढेलेखेका भनिने परिवारमा महिनावारी 'बार्ने' चलन रहनुको कारण स्कुल र परिवारको अपूर्ण शिक्षा नै भएको साम्राज्ञीको बुझाइ छ। यी सामान्य लाग्ने विषयले नै समाजमा ठूलो असर पार्दै आएको बताउँछिन्।
सानो छँदा महिनावारीलाई काम नगर्ने बहाना बनाउने साम्राज्ञी अहिले विपरीत छन्। महिनावारी बेला अल्छी र कमजोर हैन, झनै बलियी देखिने प्रयास गर्छिन्।
यस्तै अनुभव उनले सेतोपाटीसँग बाँडिन्।
'इन्टुमिन्टु' फिल्मको गीत सुटिङ क्रममा साम्राज्ञी महिनावारी भइन्। लगातार १५ दिनको अभ्यासपछि भएको महिनावारीमा उनी थलै परिसकेकी थिइन्। तर सुटिङ राम्रो होस् भन्ने आशाले ज्यान दुख्दा पनि अभ्यासका लागि तयार भइन्।
दोस्रो पटकको महिनावारीमा भने लडेको दृश्य थियो। दुखाइका कारण शरीर थाम्न नसके पनि उनले कसैलाई आफ्नो समस्या भनिनन् र औषधी खाएर सुटिङमा लागिन्।
'पहिले त महिलाले महिनावारीलाई आफ्नो कमजोरीको रुपमा हेर्नु हुँदैन,' उनी भन्छिन्, 'महिनावारीका कुचलन पनि महिलाले नै बढी मान्ने गरेको देखिन्छ। यसै कारण धेरै जना पछि परेका छौं।'
महिनावारीबारे स्कुल र घरमा छोराछोरी दुवैलाई खुलस्त र प्रस्ट शिक्षा दिनुपर्ने उनको भनाइ छ। यसले गर्दा महिला र पुरुषमा हुने भेदभाव र महिनावारीको अन्धविश्वास केही हदसम्म कम हुँदै जान्छ।
'महिनावारीलाई ठूलो विषय बनाएर एकैचोटि बोल्नुभन्दा सामान्य तरिकामा पटकपटक यसबारे कुरा गरिरहनुपर्छ,' साम्राज्ञी भन्छिन्, 'यसलाई जति घृणा र बेवास्ता गर्यो, त्यति नै यससम्बन्धी समस्या बढ्छन्।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी