नेपालीको नाममा विश्वभरबाट ‘अवैध चन्दा’ उठाइरहेकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चलाई अध्यागमन विभागले कारबाही गर्न चासो नदेखाएको पाइएको छ।
व्यवसाय (विजनेस) भिसामा पोखरा बसिरहेकी मिसेलले व्यवसायका नाममा लर्निङ हाउस नामक कम्पनी खोलेकी छिन्। उनको कम्पनीले भाषा प्रशिक्षण र कफी बनाउने बरिस्ता तालिम दिने गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले मिसेललाई स्वदेश फिर्ता (डिपोट) गर्न अध्यागमन विभागलाई आग्रह गरेका थिए । तर अध्यागमन विभागले मिसेलसँग सामान्य कुराकानी गरेर त्यसै छाडिदिएको छ।
अध्यागमन विभागका एक अधिकारीका अनुसार मिसेलले नेपालमा बसेर आफूले समाजसेवा गरेको बताएकी थिइन्। तर उनले व्यवसाय भिसा लिएर समाजसेवाको नाममा विश्वभरबाट चन्दा उठाउने गरेको र उक्त चन्दा रकम अमेरिकास्थित उनकै खातामा जम्मा हुने गरेको छ।
उनले आफ्नो वेबसाइटमा हालसम्म ७ लाख अमेरिकी डलर चन्दा उठाइसकेको उल्लेख गरेकी छिन्। नेपालमा दर्ता समेत नभएको संस्थाको नाममा पैसा उठाउने गरेकी छिन्। यसरी उठाएको पैसा कहाँ र कसरी खर्च गरिन्छ भन्नेबारे नेपालका अधिकारीहरूलाई जानकारीसम्म छैन।
कम्पनी रजिष्ट्रारको कार्यालयमा लर्निङ हाउस नामक कम्पनी दर्ता गरेकी मिसेलले आफ्नो ५ हजार शेयर र नेपाली साथीको नाममा ५ सय शेयर रहेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी केसीले कफी बनाउन सिकाउने बरिस्ता तालिमका लागि विदेशीलाई बिजनेश भिसा दिनु नै नीतिगत रूपमा गलत हुने बताए।
‘नेपालमा यस्तो कम्पनी चलाउन विदेशीलाई आउन दिने कि नदिने नीतिगत बहसको विषय होला’, उनले सेतोपाटीलाई भने, ‘हामीले डिपोट गरिदिन भनेर अध्यागमनमा पठाएका थियौं, अध्यागमनले के कारणले गरेनछ थाहा भएन।’
संघीय उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले विदेशी लगानीको हकमा कम्तीमा नेपाली ५ करोड लगानी ल्याउनुपर्ने कानुनी प्रावधान रहेको बताइन्।
‘अहिले त कम्तीमा ५ करोड रुपैयाँ लगानी गरे मात्र विदेशीले उद्योग खोल्न पाउँछ’, उनले सेतोपाटीलाई भनिन्, ‘यसअघि पनि कम्तीमा ५० लाख लगानी ल्याउनुपर्थ्यो, के भएको रहेछ म हेर्छु।’
विदेशी नागरिकले नेपालमा कम्पनी चलाउने नाममा अवैध गतिविधि गरे कारबाही गर्ने उनले बताइन्।
मिसेलको अवैध धन्दा सम्पत्ति फाइल पोखरास्थित अध्यागमन कार्यालयले अध्यागमन विभाग काठमाडौंमा पठाएको जानकारी दियो।
मिसेललाई बोलाउँदा नआएको र काठमाडौंस्थित अध्यागमन कार्यालय जान्छु भनेर गएको कार्यालयका निमित्त प्रमुख चेतराज आचार्यले बताए।
‘हामीले फोन गर्दा मिसेलले उठाइनन्, म्यासेज गरेपछि काठमाडौं जान्छु भनिन्’, आचार्यले भने, ‘हाम्रो काम भिसा थप्ने मात्र हो, कारबाही गर्ने अधिकार विभागलाई मात्र छ।’
अध्यागमन विभागले भने मिसेलले गल्ती नगरेको जनाएको छ।
अध्यागमन विभागका एक अधिकृतका अनुसार मिसेलले विभागका महानिर्देशकलगायत अधिकारीसँग कुरा गरेकी थिइन्। सो क्रममा आफूले नेपालमा समाजसेवा गरेको र गैरकानुनी काम नगरेको दाबी मिसेलले गरेकी थिइन्।
यो पनि:
नेपालीका नाममा ‘अवैध चन्दा’ उठाउँदै अमेरिकी नागरिक
तर उनले फेसबुक, ट्विटर साथै विभिन्न वेबसाइटमै चन्दा उठाएको देखिएको छ।
उनले नेपालमा व्यवसाय गर्न भनेर दर्ता गरेको कम्पनीको वार्षिकोत्सव मनाउन समेत चन्दा मागेकी थिइन्।
अध्यागमन विभागका अधिकृत राजन शर्माले मिसेलको चन्दा उठाउने कामलाई ‘सामान्य’ भएको बताए।
विभागले विदेशी नागरिकको ‘भिसा मात्र’ हेर्ने भन्दै मिसेलको भिसा कानुनसम्मत रहेको बताए। गैरकानुनी चन्दा संकलनका बारेमा कास्कीकै प्रहरी र प्रशासनले हेर्न सक्ने उनले बताए ।
‘हामीले यस विषयमा चाहिने जति छानबिन गरेका छौं’, अध्यागमन अधिकृत शर्माले सेतोपाटीलाई भने, ‘यो विषय कसरी बाहिर आयो हामीलाई थाहा छ, सामान्य दुई जनाको मनमुटावले यो बाहिर आयो।’
नेपालमा बसेर अवैध धन्दा गरेको भन्दै पोखराकै लेभलनेक्स्ट कम्पनीका राजु बोगटीले अध्यागमन विभाग काठमाडौंमा गत साउनमा उजुरी दिएका थिए।
बोगटी र मिसेलका कम्पनीले तीन वटा कार्यक्रम मिलेर संचालन गरेका थिए। तर बोगटीले अवैध रूपमा चन्दा उठाएको थाहा पाएपछि मिसेलसँग सहकार्य छाडेको बताउँदै आएका छन्।
मिसेलले बोगटीविरूद्ध ‘दुव्यवहार’को उजुरी बोकेर हिँडेका छिन्। उनले १ वर्षअघिको व्यक्तिगत म्यासेज देखाएर बोगटीले आफूलाई दुव्यवहार गरेको आरोपमा उजुरी दिन जाँदा प्रशासनले उक्त मुद्दाको समय सकिएको भन्दै फिर्ता गरिदिएको थियो।
यही प्रकरणलाई लिएर अध्यागमन विभागले मिसेलले गरिरहेको अवैध धन्दाप्रति आँखा चिम्लिएको बोगटीको दाबी छ।
मिसेलले अहिले पनि नेपालका व्यवसायिक कम्पनीको नाममा चन्दा उठाउने गरिरहेकी छिन्।
मिसेलका बारेमा बुझ्न खोज्दा अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले यसबारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए।
यता, अध्यागमन विभागका महानिर्देशक ईश्वरीराज पोखरेलले भने मिसेलका बारेमा अनुसन्धान भइरहेको बताए।
‘हामीले मिसेल र अमेरिकी दूतावासका उच्च अधिकारीलाई बोलाएर कुरा गर्यो’, उनले भने, ‘व्यवसाय गर्न भनेर आउने विदेशीले चन्दा उठाउन पाइँदैन।’
पोखरामा रैथाने र विदेशीसँग समेत चन्दा उठाउने क्रम नरोकिएपछि प्रदेशसभामा समेत मिसेलका बारेका प्रश्न उठेका छन्।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा सांसद पुष्पा केसीले मिसेलले गरिरहेको धन्दाबारे छानबिन गरेर कारबाही गर्न माग गरिन्।
यसअघि प्रदेश सभाकै अर्का सांसद राजिव पहारीले समेत यस विषयमा अध्यागमन विभागले कारबाही गर्न नसकेको भन्दै प्रश्न उठाएका थिए।
पहारीले व्यवसाय गर्न भनेर आउने विदेशीको व्यवसाय पनि नभएको र उल्टै नेपालीको फोटो देखाएर समाजसेवाको नाममा चन्दा धन्दा गर्दा समेत कारबाही नभएको भन्दै आपत्ति जनाएका छन्।