गुण्डा नाइकेको छवि बनाएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ ‘दिपक मनाङे’लाई हुने सजाय प्रमुख जिल्ला अधिकारी (सिडिओ)को तजविजी अधिकारमा छ।
मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरित कसुर गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले दिएको सार्वजनिक अपराधको जाहेरीका आधारमा मनाङे पोखराको लेकसाइडबाट पक्राउ परेका थिए।
उक्त ऐन अन्तर्गत सिडिओलाई पीडितको आरोप प्रमाणित भएमा सजाय तोक्न सक्ने तजविजी अधिकार छ। कास्कीका सिडिओ रमेश केसीले सार्वजनिक अपराधको मुद्दामा आफूले ६ महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना सजाय वा केही पनि सजाय तोक्न नपर्ने गरी निर्णय गर्न सक्ने अधिकार रहेको यसअघि नै सेतोपाटीलाई बताएका थिए।
सांसद मनाङे आफैले ‘सम्झाउन’का लागि एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको स्वीकार गर्दै आएका छन्।
मनाङेले सार्वजनिक रुपमै झापड हानेको बताइरहेकाले उनले सार्वजनिक स्थलमा कानुन विपरित काम गरेको प्रमाणित भइसकेको छ। मनाङेले सेतोपाटीलाई घटनाको प्रतिक्रिया दिँदा एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङलाई समेत झापड नहानी नछाड्ने चेतावनी दिएका थिए।
राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेर लेकसाइडको एक होटलमा पुगेका मनाङेले पक्राउ पर्नुअघिसम्म घटनामा आफू दोषी नभएको र प्रहरीसँग ‘फेस’ गर्न तयार रहेको बताएका थिए। होटलमा बसिरहेको अवस्थामा सादा पोशाकमा गएका प्रहरीले उनलाई सजिलै पक्राउ गरेको थियो।
गण्डकी प्रदेश सभाको विधेयक अधिवेसन अहिले चलिरहेको छ। कानुन अनुसार प्रदेश सभाका सदस्यलाई फौजदारी मुद्दामा पक्राउ गरेपछि प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराउनुपर्छ।
‘माननीयलाई पक्राउ गरेपछि हामीले सभामुख ज्युलाई कानुन अनुसार जानकारी गरायौं’, कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले सेतोपाटीलाई भने, ‘हामीले बयान लिएका छौं, भोलि सिडियो साबलाई बुझाउँछौं।’
थप अनुसन्धान गर्नुपर्ने अवस्था आए सिडियोले नै म्याद थप गर्ने एसपी कार्कीले बताए। उनले मनाङेको बयान उदृत गर्दै भने, ‘जम्मा दुई झापड लगाएको भन्नुभएको छ, यो त्यति ठूलो घटना होइन।’
यो पनि हेर्नुस्
लेकसाइडको होटलबाट पक्राउ परे सांसद दीपक मनाङे
दीपक मनाङेविरूद्ध प्रहरीमा उजुरी दर्ता, कारबाही कहिले?
एन्फा अध्यक्ष कर्माछिरिङलाई एक झापड नहानी छोड्दिनँ: दीपक मनाङे
दिपक मनाङे घटनाबारे सिडिओ: यो सामान्य विषय हो, किन यति ठूलो बनाएको भन्या?
सांसद दिपक मनाङेविरुद्ध पक्राउ पुर्जी
सांसद दिपक मनाङेले एन्फा कास्की अध्यक्षलाई हाने झापड