गण्डकी प्रदेश सांसद राजीव गुरूङ ‘दिपक मनाङे’को ‘झापड’ प्रकरणलाई कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश केसीले ‘सानो विषयलाई ठूलो’ बनाएको बताएका छन्।
मनाङेले झापड हानेका अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरूङले बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए।
सो घटनाबारे अहिलेसम्म मनाङेविरूद्ध वारेन्ट जारी भएको छैन। जाहेरीमा अनुसन्धान गरिरहेको कास्की जिल्ला प्रहरीले जनाएको छ।
मनाङेलाई पक्रन प्रहरीलाई वारेन्ट जारी गर्ने अनुमति सिडिओले दिनुपर्छ।
सिडिओ केसीले सेतोपाटीसँग कुरा गर्दै सो घटना सामान्य भएको प्रतिक्रिया दिएका छन्।
केसीले भने, 'यो सामान्य विषय हो, किन यति ठूलो बनाएको भन्या?'
मनाङे प्रदेश सभाका सांसद रहेको र सार्वजनिक स्थलमा कुटपिटको जाहेरी परेको हो नि भन्ने प्रश्न गरेपछि सिडिओ केसीले भने, ‘कानुनले कोही सांसद नसांसद भन्दैन, यसलाई धेरै ठूलो बनाउनुपर्छ भन्ने लाग्दैन।’
मुद्दा आफ्नोमा आए हेर्ने उनले बताए।
‘ठीकै छ, मुद्दा आयो भने हेरौंला,’ उनले भने।
सार्वजनिक अपराधको मुद्दा सिडिओले हेर्ने कानुनी प्रावधान छ। सिडिओले दिएको फैसला मन नपरे अदालत जान सकिन्छ।
एन्फा कास्कीको आयोजनामा मंगलबारदेखि सुरू भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह हुनुअघि मनाङेले गुरूङलाई झापड हानेका थिए। मनाङेले खेलाडीलाई आवास तथा खाना खर्च, खेल मैदान र यातायात खर्चको व्यवस्था नगरिदिएको भन्दै झापड हानेका थिए।
सिडिओ केसीले जाहेरी दर्ता भएपछि पक्राउ गर्ने वा नगर्ने त्यो प्रहरीले गर्ने बताए।
जाहेरी दर्ता भए-नभएको आफूलाई जानकारी नभएको बताएका केसीले सार्वजनिक अपराधको मुद्दामा सिडिओले के कति सजाय तोक्न सक्छ? भन्ने प्रश्नमा उनले भने, ‘अधिकतम् ६ महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना तोक्न सक्छ, न्यूनतम् कत्ति पनि नहुन पनि सक्छ।’
मनाङेले भने आफूले ‘सम्झाउन’लाई झापड हानेको प्रतिक्रिया दिएका छन्।
उनले बुधबार पोखरामा पत्रकार भेटघाटमा भने, ‘झापड हान्ने कुनै निकाय हुन्छ?, पुलिसमा दाल दिएन, सुत्न दिएन भनेर जाने? पुलिसले के गर्छ?’
झापड हान्दा आफूलाई मज्जा लागेको मनाङेले बताए। ‘तपाईंहरूले हान्नुहुन्न भने तपाईंहरूको प्रोब्लम हो, ठगलाई झापड नहानेर मैले माला लगाइदिने त,’ उनले भने।
उनले झापड नै कानुन भएको तर्क गरे।
आपराधिक पृष्ठभूमिका सांसद मनाङेका मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन्। अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै मनाङेले आफ्नै कारण अर्को सार्वजनिक अपराध मुद्दाको सामना गर्नुपर्ने अवस्था आएको छ।
ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। आक्रमणमा मनाङे समूहले चक्रेको हात नै छिनाएको थियो। मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय दिइएको थियो। प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सपथ लिनुपूर्व पक्राउ गरी जेल पठाएको थियो।
मनाङेको आपराधिक गतिविधिको प्रमुख क्षेत्र ठमेल थियो। त्यहींबाट उनले गुण्डाहरू जन्माए। ठमेलमा डिस्को खोलेर रात्री व्यवसायमा हात हालेका मनाङेले विस्तारै ठमेल, दरबारमार्ग, नयाँ बानेश्वर, कालिमाटीलगायतका क्षेत्रमा आफ्नो प्रभाव बढाएका थिए। उनीमाथि संगठित अपराध, ज्यान मार्ने उद्योग र अवैध सम्पत्ति आर्जन गरेको मुद्दा पनि लागेको थियो।
अवैध सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतले उनीसँग २ करोड ९० लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि उनी ३ महिना जेल बसेका थिए। उनी ७ पटक जेल गएका थिए। जसमध्ये ४ पटक सार्वजनिक अपराधको मुद्दामा र ३ पटक ज्यान मार्ने उद्योगअन्तर्गत जेल गएका थिए।
गत निर्वाचनअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। निर्वाचनमा उनलाई एमालेले मनाङबाट प्रदेश सभामा प्रत्यक्षतर्फ टिकट दिने तयारी गरे पनि नागरिकस्तरबाट विरोध भएपछि टिकट दिएनन्, मनाङेकै नातेदारलाई टिकट दियो।
स्वतन्त्र उम्मेदवारी दिएका मनाङे तत्कालीन एमालेकै समर्थनमा निर्वाचित भए। निर्वाचित भएपछि प्रहरीको ‘मोस्ट वान्टेड’मा परेका मनाङे बेपत्ता भए। त्यसको केही समयपछि अदालतमा आत्मसमर्पण गरेर जेल गए।
जेलबाट छुटेपछि प्रदेश सभाको सपथ लिएका मनाङे पुन: नेकपा प्रवेश गरेका थिए।