सिनामंगलमा आइतबार राति ९ बजेतिर एउटा टिपरले तीनवटा मोटरसाइकललाई 'सोहोर्दा' एक जनाको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकलमा सवार बाँकी चार जना घाइते छन्।
काठमाडौंजस्तो सहरी क्षेत्रमा टिपर चलाउनै दिन हुँदैन। सरकारले भने रोक लगाउनुको साटो दिउँसो चल्न नदिने नियम ल्यायो। बिहान ८ बजेअघि र बेलुकी ८ बजेपछि मात्र मालवाहक सवारी चल्न दिने नियम टिपरमा पनि लागू भयो। यो नियमले टिपर आतंक घट्नुको साटो बढेको छ।
टिपरहरू सहर छिर्ने नाकामा घन्टौं लाइन लागेर बस्छन्। घडीमा आठ कटेपछि यस्तरी हुइँकिन्छन्, जसरी दाम्लो चुँडालेर बाछो दुगुर्छ। आइतबार रातिको दुर्घटना यस्तै हँकाइको परिणाम हो। उपत्यकामा दुई हजारभन्दा बढी टिपर चल्छन्। दिनभरि रोक लगाए पनि बिहान र राति हतारमा कुद्ने हुँदा दुर्घटना जोखिम पहिलेभन्दा बढेको छ। चालू आर्थिक वर्ष काठमाडौं उपत्यकामा टिपर–ट्रकका कारण ज्यान गुमाउनेहरू २ सय ५५ जना पुगिसके। यो अघिल्लो वर्षभन्दा ६० जना बढी हो।
यसबाट हामीले बुझ्नुपर्छ, टाइम कार्ड नियमले टिपर दुर्घटना घटाउन केही मद्दत गरेन। यसको मतलब, फेरि दिनैभरि सडकमा ताण्डव गर्न छुट दिऊँ भनेको होइन। टिपर दुर्घटनाका कारण मिहिन केलाएर समस्या सल्टाउनुपर्ने खाँचो बढेको छ।
काठमाडौंजस्तो ठूलो जनसंख्या भएको सहरी क्षेत्रका लागि टिपर सुरक्षित सवारी हुँदै होइन। विदेशतिर ठूल्ठूला निर्माण स्थल र मरुभूमि क्षेत्रमा सामान ओसारपसार गर्न मात्र यसको प्रयोग हुन्छ। मान्छे र सवारी घुइँचो हुने ठाउँमा टिपर गुडाउन पाइन्न। हामीकहाँ भने बस्तीभित्रै घुस्छन्। भुइँचालोपछि त झन् टिपरबिना कामै नहुने भयो। तर, टिपरले कसैको घर बनाउँदै छ भने कसैको भत्काउँदै पनि छ। धेरै परिवारका निम्ति यो 'यमराज' बनेको छ।
अब चर्चा गरौं, काठमाडौंका लागि टिपर किन जोखिमपूर्ण सवारी हो?
टिपरको बनावट नै सहरी सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको होइन। यसको डिजाइनमा मुख्यगरी तीनवटा त्रुटि छन्, जसकारण यो गाडीलाई सहरी क्षेत्रबाट हटाउनै पर्छ।
पहिलो, यसको तल्लो भाग र जमिनको दुरी, अर्थात् ग्राउन्ड क्लियरेन्स बढी छ। टिपरमुनि करिब ४ फिट खुला हुन्छ। अन्य गाडीमा यस्तो खुला भाग बढीमा साढे दुई फिट हुन्छ। उबडखाबड कच्ची बाटो, मरूभूमि र मान्छे खासै हिँडडुल नहुने निर्माण स्थलमा चल्ने भएकाले यो गाडीको ग्राउन्ड क्लियरेन्स बढी राखिएको हो। सहरी सडकमा यस्तो डिजाइन घातक हुन्छ।
ग्राउन्ड क्लियरेन्स धेरै हुनाले साना सवारीहरू टिपरसँग ठोक्किँदा सिधै तलको ह्वाङ्ङ भागमा छिर्छन्। यसले स्कुटर वा मोटरसाइकल चालकको ज्यान जाने वा गम्भीर घाइते हुने सम्भावना बढ्छ।
'ट्राफिक भोलेन्टियर' सीताराम हाछेथू यो त्रुटि सुधार्न टिपरको डिजाइन नै फेर्न सुझाउँछन्। उनका अनुसार यो समस्या सुधार्ने दुइटा उपाय छन्: काठमाडौंमा ग्राउन्ड क्लियरेन्स कम भएका टिपर मात्र चलाउन दिने, वा खाली ठाउँमा फलामे बारहरू जोडेर कम्तिमा बाइक र स्कुटर छिर्न नसक्ने बनाउने।
दोस्रो, टिपरमा चालक बस्ने सिट धेरै अग्लो हुन्छ। चालक सिटमा बसेर हेर्ने हो भने अगाडि एक–दुई मिटरसम्मको भुइँ देखिँदैन। टिपरमा अगाडिको सिसा यस्तै खालका अरू गाडीको तुलनामा सानो हुन्छ। जस्तो- टिपरमा अगाडिको सिसा जम्मा दुई फिट अग्लो हुन्छ भने लम्बाइ साढे पाँच फिट हाराहारी। टिपरजत्रै अरू गाडीको भने झन्डै तीन फिट अग्लो र साढे सात फिट फैलिएको हुन्छ।
यसले टिपरको स्टेयरिङ सिटमा बस्दा गाडीको सिधा तल केही देखिँदैन। कुनै साना सवारी वा मान्छे नै टिपरको एकदम नजिक आयो भने चालकको आँखामा पर्दैन। टिपरसँग टाँसिएर ओभरटेक गर्ने र अगाडि आएर घ्याच्च रोकिने दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्नुको कारण यही हो। गाडी ब्याक गर्दा पनि यस्तै समस्या आउँछ। हामी टिपरसँग कार, जीप वा अन्य ठूला सवारी ठोक्किएको खासै सुन्दैनौं। किनभने, चालकले आफ्नो सिटबाट ठूला सवारी सजिलै देख्छन्।
चालक सिटबाट हेर्दा नदेखिने अगाडि, पछाडि र दायाँबायाँको भागलाई 'ब्लाइन्ड स्पट' भनिन्छ। साना कारको तुलनामा ठूला गाडीको दायाँबायाँका धेरै भाग ऐनामा देखिँदैन। टिपर, ट्रक र बसको सिधा पछाडि कार गुडिरहेको छ भने पनि चालकको आँखामा नपरेको हुनसक्छ। दुईपाङ्ग्रे र पैदलयात्रु त देख्ने कुरै भएन।
हाछेथूका अनुसार १६–१८ चक्के ट्रकको अगाडि १० देखि २० फिटसम्मको भाग 'ब्लाइन्ड स्पट' मा पर्छ भने पछाडि २०० फिटसम्म।
तेस्रो त्रुटि हो, टिपरको शक्तिशाली इञ्जिनका कारण गाडीमा भार धेरै भए पनि उच्च गतिमा हुइँकिनु। आकस्मिक अवस्थामा नियन्त्रण गर्न भने मुश्किल हुन्छ। दायाँबायाँबाट कसैले अचानक सवारी छिरायो वा बाटोमा तुरुन्तै रोक्नुपर्यो भने गाह्रो पर्छ। रोक्न खोज्दा टिपर आफैं पल्टने वा अरू सवारीसँग ठोक्किने सम्भावना रहन्छ।
'यसलाई सानोतिनो ठक्करले खासै असर गर्दैन। यसको ठक्करले भने अर्को सवारीलाई ठूलो क्षति हुन्छ। दुई पाङ्ग्रे सवारी धेरै शिकार हुनुको कारण यही हो,' हाछेथूले भने, 'टिपर हेभी गाडी भए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हुन्छ। यसको पिकअप राम्रो छ। चालकको कम मिहिनेतमै जतासुकै सुलुसुलु बग्छ।'
यस्तै प्राविधिक समस्याले विदेशमा टिपरलाई 'खतरा' सवारी मानिन्छ। यसले दुर्घटना गराएका समाचार अन्य देशमा पनि सार्वजनिक भइरहन्छन्। दुर्घटना बढाएको भन्दै विदेशका धेरै सहरमा टिपर प्रवेश निषेध छ। अमेरिकाको फ्लोरिडामा चालकको लापरबाहीले टिपर दुर्घटना बढेको स्थानीय सञ्चार माध्यमले औंल्याएका छन्।
प्राविधिक समस्या आफ्नो ठाउँमा छ, त्यसो भन्दैमा गाडीले आफैं दुर्घटना गराउने होइन। चलाउन सजिलो र प्राविधिक रूपले त्रुटिपूर्ण यस्तो गाडी लापरबाह चालकको हातमा परेकाले दुर्घटना बढेको हाछेथूको तर्क छ।
उनका अनुसार चालक सिटबाट हेर्दा गाडीको सिधा तल वा छेउमा केही देखिँदैन भन्ने थाहा हुँदाहुँदै चालक सतर्क हुँदैनन्। दुईपाङ्ग्रे नजिक आयो भने त जानाजान पेल्न खोज्छन्। महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्छन्। दुईपाङ्ग्रेलाई ओभरटेक गरेर अघि बढ्न खोज्दा धेरै दुर्घटना हुनुले नै चालकको लापरबाही झल्काउँछ। यहाँ गाडीको प्राविधिक त्रुटि देखाएर चालकले उन्मुक्ति पाउँदैन।
टिपर आतंक घर र पूर्वाधार निर्माणसँग जोडिन्छ। २०७२ को भुइँचालोपछि भित्री सहर र छेउछाउका इलाकामा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ। ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ।
पहिले यस्तो काममा मिनीट्रक बढी प्रयोग हुन्थे। त्योभन्दा तीव्र, चलाउन सहज र सामान खसाल्न सजिलो भएकाले टिपरको चल्ती बढ्यो। बिनाकामदार बालुवा–गिटी झार्न सकिने भएकाले यसमा ढुवानी लागत कम हुन्छ।
टिपर चालकले प्रतिखेप पाउने भत्ता गति बढ्नुको अर्को कारण हो।
'ढिलो गुडे कम पैसा, छिटो कुदे बढी पैसा' शैलीमा कुद्न थालेका टिपरको स्टेयरिङ धेरैजसो ३० वर्षभन्दा कम उमेरका व्यक्तिको हातमा छ। कतिले भर्खरै लाइसेन्स लिएर चलाउन थालेको हाछेथूले बताए।
'धेरै खेप ओसार्ने होडमा ती चालक जतिसक्दो हुइँक्याउँछन्,' उनले भने, 'यही क्रममा आकस्मिक बेला घ्याच्च रोक्न नसकिने, नजिकको सवारी नदेखिने र साना सवारीलाई अनाहक पेल्ने प्रवृत्तिले दुर्घटना बढेको हो।'
सवारी गतिको सीमा पालना नहुनु दुर्घटनाको अर्को कारण हो। सहरी सडकमा गुडाउन प्राविधिक रूपले अनुपयुक्त यस्ता गाडी निरुत्साहित गर्दै विकल्प खोज्नुपर्नेमा हाछेथूको जोड छ। नभए टिपररुपी 'यमराज' ले अझै कति युवाहरूको ज्यान लिने हो भन्न सकिन्न।