तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा हलिउड फिल्म 'टासी' को छायांकन गरिएको छ।
पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त फिल्मको आइतबारदेखि मंगलबारसम्म तीन दिन छायांकन गरियो। त्यस क्रममा बन्दीपुर बजारलाई पुरानो दार्जिलिङको रूप दिइएको थियो।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार फिल्मको टिम ६ महिनाअघि बन्दीपुर आएर अध्ययन गरेर फर्किएको थियो। त्यसपछि जेठ १४ गते उनीहरू फेरि आएर आउटडोर सेट डिजाइनको काम थालेका थिए। बजारलाई छुट्टै सेट बनाएका थिए।
गाउँपालिका अध्यक्ष थापाले भने, 'कथाको मागअनुसार त्यस बेलाको दार्जिलिङ जस्तो थियो, त्यस्तै बनाए। यहाँका १ सय हाराहारी नेवार स्थानीयलाई त्यस बेलाकै मान्छेले लगाउने खालको ड्रेस नापेरै सिलाए।'
सुटिङका लागि पहिले दार्जिलिङमा जस्तो चहलपहल हुन्थ्यो, जे खेतीपाती हुन्थ्यो, त्यस्तै चहलपहल र त्यस्तै खेतीपाती गरिएको अध्यक्ष थापाले बताए। उनीहरूले सुटिङका लागि २० वटाभन्दा बढी ट्रकमा सामान लगेका थिए।
उनका अनुसार हलिउड टिमले सेट बनाउन चार दिन लगाएका थिए भने छायांकन तीन दिन गरिएको थियो।
'मैले जिन्दगीमा पहिलोपटक यस्तो जीवन्त सेट देख्ने मौका पाएँ,' उनले भने, 'निकै आश्चर्य लाग्यो। सधैं देखिरहेको बन्दीपुर बजार नै अर्कै देखियो। आफ्नै ठाउँ हेर्दा पनि कहाँ पुगेँ कहाँ पुगेँ जस्तो भएको थियो।'
फिल्मको टिममा ३ सय जनाभन्दा बढी व्यक्ति थिए। कलाकारका रूपमा प्रयोग गरिएका त्यहाँका स्थानीयलाई दैनिक खान र बस्नसहित १ हजार ५ सय रूपैयाँका दरले पारिश्रमिक दिइएको थियो।
फिल्म छायांकन क्रममा ४ सयभन्दा बढी व्यक्ति बस्ने, खाने गर्दा बन्दीपुरका धेरै होटल भरिभराउ रहे। त्यसले त्यहाँको व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको गाउँपालिका अध्यक्ष थापाले बताए।
उनले भने, 'सुटिङ र सेट हेर्न आन्तरिक पर्यटकको पनि ओइरो लाग्यो। एक साता बन्दीपुरमा मेला लागेझैं भयो।'
त्यहाँका घरलाई सेट बनाउँदा कतिपयले व्यापार गर्न भने पाएनन्। निर्माण टिमले त्यसरी प्रयोग गरिएका सबै धरधनीलाई ७ दिनको क्षतिपूर्तिसमेत दिएको अध्यक्ष थापाले बताए।
उसो त बन्दीपुरमा थुप्रै स्वदेशी फिल्मको छायांकन भएको छ। म्युजिक भिडिओ छायांकनका लागि पनि बन्दीपुर आकर्षणको केन्द्र हो। तर हलिउड फिल्मको छायांकनको भव्यता देखेर अहिले पनि आश्चर्य लागिरहेको उनले बताए। फिल्मको छायांकनले त्यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको र फिल्ममार्फत थप प्रचारप्रसार हुने विश्वास रहेको थापाले बताए।
फिल्म 'टासी' को यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा छायांकन गरिएको थियो।
सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर एक ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित रहेर फिल्म निर्माण भइरहेको जनाइएको छ।
विलियम डाफो र टम हिडलस्टन अभिनीत यो फिल्म अमेरिकी कम्पनी एप्पलले बनाएको हो। यी दुवै हलिउडका चर्चित कलाकार हुन्। चारपटक अस्कर अवार्डमा मनोनीत विलियमले स्पाइडरम्यानका शृंखलाहरू, अक्वाम्यान, जोन विक, डेथ नोट, जोन कार्टर लगायत फिल्ममा अभिनय गरेका छन्। त्यस्तै, हिडलस्टनले एभेन्जर्स फिल्म शृंखलामा लोकी पात्रका रूपमा चर्चा कमाएका छन्।
अस्कर विजेता फिल्म 'द किङ्स स्पिच' को निर्माता कम्पनी सी–स पनि यसमा संलग्न छ। 'शेर्पा' र 'माउन्टेन' जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी अस्ट्रेलियन निर्देशक जेनिफर पिडमले यो फिल्म निर्देशन गरेकी हुन्।