ग्लोबल नेपाली
झापा, राजगढका अर्पण बहादुर खड्का २०६० सालमा पहिलो पटक कतार पुगेका थिए।
त्यो बेला उनको मनमा एउटा सपना थियो— तीन वर्ष त्यहाँ काम गरेर पैसा कमाएर फर्किने र स्नातकोत्तर तहको पढाइ पूरा गर्ने।
'बिबिएसमा राम्रो अंक ल्याउन सकेको थिइनँ। काम गर्दै पढ्दा चित्तबुझ्दो भएन। स्नातकोत्तरमा काम नगरी पढाइमा मात्रै केन्द्रित हुने सोचेको थिएँ,' उनले भने, 'त्यही पढाइ खर्च जुटाउन विदेश गएको थिएँ।'
एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनले बिर्तामोडको एउटा ट्राभल एजेन्सीमा जागिर सुरू गरेका थिए। त्यसपछि पोखरा पुगे। आमाबुबा निर्वाहमुखी खेतीमा थिए। खेतीको आम्दानीले घर जसोतसो चलेको थियो।
अर्पण आमाबुबाका जेठो सन्तान थिए। त्यसैले पनि सानै उमेरमा पारिवारिक दायित्व बोध भएको थियो।
'परिवारका लागि केही गरौं भन्ने हुन्थ्यो। काम गर्दै पढ्छु र आमाबुबालाई केही सजिलो बनाउँछु भनेर पोखरा गएँ,' उनले भने।
लेकसाइडको एक होटलमा रिसेप्सनिस्ट भएर काम गर्दै पोखरामै बिबिएस पढे। अनि थप पढ्न काठमाडौं आए। काठमाडौंमा एउटा निजी स्कुलमा पढाउन थाले। शंकरदेव क्याम्पसमा एमबिबिएस तहमा भर्ना भए। तलब मासिक २७ सय रूपैयाँ थियो। कोठाभाडा, पढाइको र अन्य दैनिक खर्च त्यही पैसाले पुर्याउनुपर्ने बाध्यता थियो।
'एसएलसीपछि नै आफै कमाउँदै पढेँ,' अर्पणले भने, 'साथीहरू मिलेर डेरा लिएका थियौं। चामल घरैबाट ल्याउँथ्यौं। ग्यास किन्न त सकिँदैन थियो, स्टोभमा भात पकाउँथ्यौं।'
खर्च जुटाउन हम्मे परेपछि उनले विदेश जाने प्रयास गरे। पढ्न थालेको तीन महिना मात्र भएको थियो, कतारको एक कम्पनीबाट असिस्टेन्ट अकाउन्टेन्ट भएर काम गर्न भिसा आयो।
कतारमा काम सुरू भयो तर कम्पनी घाटामा रहेछ। गएको ६ महिनामै बन्द भयो। अर्को ठाउँमा काम गर्न त्यो कम्पनीले एनओसी (नो अब्जेक्सन लेटर) दिनुपर्थ्यो तर दिएन। बरू भिसा रद्द गरिदियो।
'म्यानपावर कम्पनीलाई एक लाख २० हजार रूपैयाँ बुझाएर गएको थिएँ। तलब महिनामा १२ सय कतारी रियाल थियो,' अर्पणले भने, '६ महिना काम गर्न पाएँ। जाँदा खर्च भएको पैसाको आधा पनि उठाएको थिइनँ।'

उनी रित्तो मन र रित्तो गोजी लिएर नेपाल फर्किन बाध्य भए।
त्यस बेला उनको गाउँबाट कोही विदेश जाँदा र फर्किँदा खैलाबैला नै चल्थ्यो। उनी कतारबाट फर्केर काठमाडौं उत्रिसक्दा फलानो त कम्पनी बन्द भएर फर्केछ भनेर गाउँमा हल्ला भइसकेछ।
'म गाउँ पुगेपछि सबैले बर्बाद भएछ भन्न थाले। भाइबहिनीलाई बाटो देखाउँछ भनेको त उल्टो उसकै बिजोग भएछ भने,' अर्पणले भने, 'मेरा लागि त्यो क्षण निकै लज्जास्पद र पीडादायी भयो।'
परिवारजनबाट भने उनले सान्त्वना पाए, जे हुनु भइगयो, फेरि जाँदा पनि हुन्छ भन्ने भने। उनी दसैं सकेर फेरि काठमाडौं आए। विदेश नै जाने विचार थियो। तर भिसा रद्द भएर फर्केको दुई वर्ष नभई कतार जान मिल्ने थिएन।
उनले युएईको दुबईस्थित एक होटलमा फ्रन्ट डेस्कमा काम गर्न आवेदन गरे। तर उनी पुगे कुवेत।
भयो के भने, उनका एक जना साथी कुवेत जाने तयारी गर्दै थिए। ती साथीले अन्तर्वार्तामा जाँदा अर्पणलाई पनि साथै लगे। साथी लामो लाइनमा उभिए। कुवेतको अमेरिकन फुड कम्पनीले फ्री भिसा, फ्री टिकटमा श्रमिक मागेको भनिएको थियो।
अर्पण साथीलाई कुरेर बसिरहेका थिए। भित्रबाट एक व्यक्ति आएर अंग्रेजी भाषामा बोले। अनायसै अर्पणसँग कुरा गरे। अर्पणले फरर्र अंग्रेजी बोलेर कुरा गरे। ती व्यक्ति अन्तर्वार्ता लिन कुवेतबाट आएका रहेछन्।
'अंग्रेजी बोल्न सक्ने मान्छे खोज्दै आइपुगेका रहेछन्। पैसा तिर्नुपर्दैन, अमेरिकन फुड कम्पनीमा सुपरभाइजर लेभलको जागिर हुन्छ, तलब राम्रो हुन्छ भने,' अर्पणले सुनाए।
अन्तर्वार्ताकै शैलीमा कुरा भयो। उनले अवसर पाउने पक्का भयो। यसरी उनी कुवेत पुगे। उनका साथी भने छनोटमा परेनन्।
अमेरिकन फुड कम्पनीमा काम भने पनि कुवेत पुगेपछि फरक पर्यो। कुक भनेर उनलाई त्यहाँ केएफसीमा पुर्याए। अर्पणसँग डेरा बस्दाबाहेक खाना पकाएको अनुभव थिएन।
उनलाई कम्पनीले नै एक महिना तालिम दियो। उनी केही परिकार बनाउन सक्ने भए। तर त्यहाँ पकाउने मात्र काम थिएन। भाँडा माझ्ने, सफाइ गर्ने, काटकुट गर्ने जस्ता अनेक काम गर्नुपर्थ्यो। उनलाई निकै सकस भयो। तर जति दुःख भए पनि काम छाड्न सकेनन्।
तर दैनिक १४ घण्टादेखि १७ घण्टासम्म काम गर्नुपर्थ्यो। लामो समय उभिएर काम गर्दा ढाड दुख्ने समस्या र केमिकलका कारणले हातमा एलर्जी भयो।
'थोरै दुःख पाइनँ! तर जति कस्ट भए पनि अडिएँ। पहिले कम्पनी बन्द भएर फर्केको थिएँ। फेरि फर्किँदा गाउँमा बसिसक्नु हुने थिएन,' उनले भने, 'त्यस बेला मैले आफैलाई अब तैंले जिन्दगीमा यति दुःख कहिल्यै पाउँदैनस्, जहाँ गएर जे गरेर पनि खान सक्ने भइस् भन्दै सम्झाएँ।'

उनी मासिक ९० कुवेती दिनार तलब पाउँथे, त्यो बेला नेपाली २५ हजार रूपैयाँ हाराहारी। उनका लागि त्यो कमाइ ठिकै थियो।
उनले फेरि कतार जाने सोचका साथ कुवेतमा टिकेर काम गरिरहे। बीस महिना बसेपछि कतार छाडेको दुई वर्ष पूरा भयो। उनले कतारको युरोप कार नामक कार रेन्टल कम्पनीमा आवेदन गरे। असिस्टेन्ट अकाउन्टेन्ट पदमा छनोट भए।
केएफसीबाट बिदा लिएर नेपाल फर्के। अनि २०६४ सालमा दोस्रो पटक कतार पुगे।
काम उनको रूचिको थियो, तलब पनि सन्तोषजनक। उनले मेहनत गरे। आठ महिनामा बढुवा भएर अकाउन्टेन्ट बने। तलब पनि बढ्यो।
अर्पणले बीचमा नेपाल आएर बिहे गरे। फर्किँदा श्रीमती मुनु खनाललाई पनि साथै लगे। मुनुलाई पनि त्यही कम्पनीले सेल्सतर्फ काम दियो। त्यतिन्जेलमा अर्पण सिनियर अकाउन्टेन्ट भए।
दम्पतीले त्यो कम्पनीमा तीन वर्ष सँगै काम गरे। त्यसपछि आफ्नै व्यवसाय गर्ने उद्देश्यले सन् २०१३ मा दुवैले कम्पनी छाडे। उनीहरू नेपाल आए। मुनु घरमै बसिन्। अर्पण एक्लै कतार फर्केर फूल व्यवसाय सुरू गरे।
'त्यस बेलासम्म मैले कम्पनी चलाउने तरिका सिकिसकेको थिएँ। काम गर्दागर्दै फूलको व्यवसाय गर्ने चाँजोपाँजो मिलाएको थिएँ,' अर्पणले भने, 'बाल्यकालदेखिका तीन जना साथी कतारको सबभन्दा ठूलो फूल व्यवसाय कम्पनीमा काम गर्थे। उनीहरूले तँ गर्न सक्छस् भनेर हौसला दिएका थिए।'
अर्पणले 'तुलु फ्लोरा' नाम राखेर कम्पनी दर्ता गराए। दुई लाख कतारी रियाल लगानी गरे। केही रकम कतारकै एउटा बैंकबाट ऋण लिए। साथीहरूबाट सापटी पनि लिए।
उनका लागि फूल व्यवसाय नौलो थियो। अन्य देशबाट आयात गर्नुपर्थ्यो। बजारमा फूल पुर्याउन लगानी थप्नुपर्ने भयो। सरसापट लिने उपाय सकिएको थियो। आफ्नो व्यवसाय गरेर राम्रो कमाइ गर्ने उद्देश्य थियो। तर लगानी थप्न नसक्दा उल्टै कम्पनी बन्द हुने अवस्था भयो।
'म घाटामा गइसकेको थिएँ। सामान मगाएर बजार पुर्याउन पैसा नै भएन,' उनले भने।
आज, भोलि भन्दाभन्दै संघर्षै संघर्षमा चार वर्ष बित्यो। व्यवसाय छाड्न अर्को विकल्प थिएन। घाटाको व्यवसाय नाफा नलगी भएकै थिएन। अन्तिम विकल्पका रूपमा लगानीमा साझेदार खोजी गरे। निकै प्रयासपछि फूल व्यवसायमै लागेका एक जना साझेदार बन्न एक जना तयार भए। अर्पणले साझेदारको परिचय दिएनन्।

सन् २०१५ अन्तिमसम्म व्यवसाय लयमा आयो। घाटा पूर्ति हुँदै गयो। सन् २०१९ अन्त्यमा कोभिड महामारी आयो। व्यवसाय एक महिना बन्द गर्नुपर्यो तर त्यसले ठूलो असर गरेन।
'कोभिडको समयमा कतार सरकारले सहज नीति ल्यायो। भाडा छुट भयो। यहाँ सबै कुरा सिस्टममा चल्छ। धेरै अप्ठ्यारो परेन,' उनले भने।
अहिले तुलु फ्लोराले नेदरल्यान्ड्स, केन्या लगायत मुलुकबाट फूल आयात गर्छ। अन्य पसललाई होलसेल मूल्यमा बेच्छ। समारोहमा सजावट गर्ने कम्पनीहरूका लागि आपूर्ति गर्छ। समारोहका लागि 'इभेन्ट डिभिजन' र नक्कली (आर्टिफिसियल) फूल, र्यापिङ पेपर, बास्केट, प्लास्टिक बकेट, रिबन, कार्ड होल्डर लगायत सामग्री बेच्ने 'एसोसरिज डिभिजन' पनि छ।
अर्पणका अनुसार कम्पनीको व्यापार निकै फस्टाएको छ। हाल कम्पनीमा २८ जनाले रोजगारी पाएका छन्। तीमध्ये २२ जना नेपाली, चार जना भातीय र दुई जना फिलिपिनी छन्।
'अहिले वैदेशिक यात्राको बाइसौं वर्ष चल्दै छ। यसरी विदेश नै मेरो कर्मथलो हुन्छ भन्ने त सोचेकै थिइनँ। काम गर्दै जाँदा कतारमै भइयो,' उनले भने, 'विगत सम्झिँदा सपनाजस्तो लाग्छ। अझ लगनशील भएर काम गर्न प्रेरित हुन्छु।'
अहिले अर्पणका साथ श्रीमती मुनु र एक छोरा छन्। छोरा ६ कक्षामा पढ्दैछन्। मुनुले घरव्यवहार सह्मालेकी छन्, अर्पणले व्यवसाय।
अर्पणको काम कतारमा मात्र सीमित छैन। उनले नेपालमा खेलकुद क्षेत्रमा लगानी गरेका छन्। उनी 'झापा एफसी फुटबल क्लब' का संस्थापक अध्यक्ष हुन्। यो क्लब सन् २०१० मा सुरू भएको हो। आफूले कतारमा व्यवसाय गरेर कमाएको पैसा फुटबल क्लबमा लगानी गरेको उनको भनाइ छ।
'नेपालमा पहिलो रजिस्टर्ड निजी क्लब हो। आठ जना साथी मिलेर लगानी गरेका छौं। हामी फुटबलका पारखी, संसारमै सबभन्दा मनपर्ने खेल फुटबल भएकाले लगानी गरेका हौं,' उनले भने।
क्लब वार्षिक डेढ करोड रूपैयाँ घाटामा रहेको उनको भनाइ छ। तैपनि उनीहरूको आफ्नै फुटबल मैदान बनाउने लक्ष्य छ।
अर्पणले कमजोर आर्थिक अवस्था भएका केही झापाली विद्यार्थीलाई सहयोग पनि गरेका छन्। उनकी आमा र छोराको नामबाट खोलेको लिलामाया खड्का आदर्श फाउन्डेसन मार्फत् झापाका दुइटा विद्यालयमा ३० जना विद्यार्थीहरूलाई अध्ययनका लागि सहयोग गरिरिहेका छन्।उनीहरूलाई १२ कक्षासम्म निःशुल्क पढाउने जिम्मा फाउन्डेसनले लिएको उनले बताए। विभिन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत सहयोग गर्दै आएका छन्। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा गरेको उनको भनाइ छ।
'आफूले पढ्दा एकजोर लुगामा एक वर्ष बित्थ्यो। कहिल्यै झोला बोकेर स्कुल गएनौं। विषय अनुसारको कापी पनि थिएन,' उनले भने, 'हामी जे आर्जन गर्छौं, त्यसको भागिदार समाज पनि हुन्छ भनेर आफूले सकेको सहयोग गर्दैछु।'
छोराले १२ कक्षासम्मको पढाइ पूरा गरेपछि स्वदेश फर्कने अर्पणको सोच छ। नेपालमा फुटबलको व्यवसायीकरण र कृषिमा काम गर्ने सोचेका छन्। झापामा एउटा गौशाला खोल्ने र अर्गानिक कृषि विस्तार गर्ने सपना छ।
उनी स्नातकोत्तर पढ्ने खर्च जुटाउन पहिलो पटक बिदेसिएका थिए। अहिले उनको जीवनले लय समातेर स्थिर यात्रा समातिसकेको छ। अब स्नातकोत्तर पढ्ने सपना पनि छ कि?
अर्पणले हाँस्दै भने, 'मैले दुई, तीन विषयमा मास्टर्स पढेजति मेहनत गरिसकेँ।'
एकछिन अडिएर फेरि भने, 'नेपाल फर्किएपछि त्यता पनि सोच्न सकिन्छ, हेरूँ!'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com