नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताएका छन्।
आफूले कार्यकाल सम्हालेको वर्ष दिन पुगेको अवसर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले उजुरी दिएका केहीले उजुरी फिर्ता लिएको बताए।
‘बमजनमाथि कारबाही गर्न यथेष्ट प्रमाण पुगेन। उजुरी दिएका केहीले फिर्ता लिए,’ खनालले भने, ‘झ्याप्पै समाउन कानुनले दिँदैन तर अनुसन्धान भने रोकिएको छैन।’
सेतोपाटीले गत पुषमा महिनाअघि बमजनको आश्रममा भएको बलात्कार, हत्या र हिंसाको दुष्चक्रबारे स्टोरीहरू गरेको थियो। तिनमा बमजनले आनीहरूमाथि गरेको बलात्कार र यौन शोषणा साथै चेलाहरूलाई दिएको यातनाबारे विस्तृत विवरण थिए। यसरी यातन दिँदादिँदै मकवानपुरका सञ्चलाल वाइवाको सिन्धुपाल्चोक आश्रममा ज्यान गएको एक प्रत्यक्षदर्शी पूर्व चेलाले सेतोपाटीलाई बताएका थिए।
आश्रमबाट भागेर आएकी गंगामायाले आफूमाथि बमजनले बलात्कार गरेको बताएकी थिइन्।
भदौ ३० गते काठमाडौं आइपुगेर बमजनविरूद्ध उजुरी दिन गएकी गंगालाई प्रहरीले बालबालिकाको संरक्षण गर्ने संस्थामा पठाएको थियो।
पछिल्लो ९ वर्षदेखि बमजनकै आश्रमबाट हराएकी सर्लाहीकी रिता बोट, ४ वर्षदेखि हराइरहेका दुई आनी नुवाकोटकी चुन्मो, मकवानपुरकी डोल्मो साथै मकवानपुरकै सञ्चलालका परिवारले त्यसपछि प्रहरीमा बमजनविरूद्ध जाहेरी दिएका थिए। बमजनको आश्रममा हुने अपराधको श्रृङ्खलापछि आफ्ना छोरा सुरेश पनि ४ वर्षयता बेपत्ता भएको भन्दै बाराका हस्तबहादुर आलेमगरले प्रहरीमा जाहेरी दिए।
यी सबै जाहेरीमाथि सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, बारा र सर्लाहीका जिल्ला प्रहरी कार्यालयको संयोजन गर्दै सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ।
प्रत्यक्षदर्शीहरूको बयान व्यक्ति मारेर गाडेको भनिएको ठाउँमा उत्खनन लगायतका काम गरेको प्रहरीले जनाएको छ।
मकवानपुरका वाइवालाई कुट्दाकुट्दै ज्यान गएपछि आश्रमभन्दा ३ सय मिटर माथिपट्टीको डाँडामा खाल्डो खनेर गाडेको त्यसपछि नुनका पोका खन्याएको प्रत्यक्षदर्शीले बताएका थिए। उनकै आधारमा उत्खनन् गर्दा प्रहरीले ९ वटा नुनको पोका फेला पारेको थियो। बमजनको आश्रममा अहिलेसम्म बस्दै आएका अर्का अनुयायीले पनि सञ्चलालको हत्या भएको प्रहरीसमक्ष पुष्टि गरेका छन्।
यी पनि पढ्नुहोस्-
पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?
पाचौं स्टोरी -बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता